बागलुङ/प्रसुती सेवा लिनुपर्ने गर्भवती तथा सुत्केरी भैसकेपछि आइपर्ने समस्याकालागि सदरमुकाम बस्नुपर्नेले सेवा लिन बनाइएको प्रतिक्षाघर खाली छ ।
धौलागिरि अस्पतालले ३ बर्ष अघि ४ जना सम्म गर्भवती वा सुत्केरी बस्न मिल्ने ‘सुत्केरी प्रतिक्षा घर’ बनाएको थियो । तर यो घर अहिले सम्म खाली जस्तै छ । बस्नुपर्ने सेवाग्राही होटलमा र डेरा लिएर बस्दा घर खाली जस्तै भएको हो । यहाँ तातो चिसो पानी, कोठामा एसीको व्यवस्था, भित्रै भान्छा कोठा र शौचालयको व्यवस्था छ । तर उक्त भवन प्रयोग बिहिन जस्तै छ । यो घर बारे थाहा नपाएर उनी जस्तै ग्रामीण महिलाले सुत्केरी हुन सदरमुकाम र बजार क्षेत्रमा डेरा लिएर बस्ने बाध्यता भने अझै छ ।
अस्पतालले सेवा बारे प्रचार नगर्दा सेवाग्राही नआएका हुन् । सेवा बारे जानकारी दिन नसक्दा प्रतिक्षा घर खाली भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगानाले बताए । ‘न हामीले अस्पतालको सेवा बारे जानकारी दिन सक्यौं, न सेवा ग्राहीले आएर सोध्नु भयो’ ढुंगानाले भने, ‘अहिले सेवाग्राहीले डेरा लिएर सुत्केरी हुनु परेको समाचारले हामीलाई सचेत बनायो ।’ उनले आबस्यक पर्नेले आएर बस्ने र सुत्केरी हुनकालागि कुर्ने वा सुत्केरी पछि आउने समस्याको बेला बस्न पाउने बताए ।
अस्पतालका कर्मचारीले आबास बनाएको उक्त भवनलाई तीन बर्ष अघि १० लाख खर्चेर मर्मत गरेपछि सुत्केरी प्रतिक्षा घर बनाइएको थियो । अहिले पनि बार्षिक ३ लाख रुपैयाँ बजेट यो भवनमा बस्नेकालागि बिनियोजित छ । तर तीन बर्षमा ४ जनाले मात्रै सेवा लिएको तथ्यांक शाखामा देखिन्छ ।
‘सुविधासम्पन्न भवन छ, तर हामीले प्रचार गर्न नसकेकै हो’ अस्पतालकी बरिष्ठ नर्स निरीक्षक देवी भट्टराईले भनिन्, ‘सेवा ग्राहीले पनि सेवा भएको नभएको खोजी नगर्दा प्रयोग बिहिन भएको हो ।’ यहाँ बस्दा खाने कुराको जोहो गर्न अप्ठ्यारो लागेर पनि कतिपयले डेरा र होटल खोज्ने गरेको उनले बताइन् । सुत्केरी बस्दा आगोमा सेक्ने, सहयोगी राख्ने चलनले पनि अस्पतालमा आएर बस्न नमान्ने उनको टिप्प्णी थियो ।
दुइ बर्षदेखि बागलुङकै कतिपय स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र तहमा पनि सुत्केरी प्रतिक्षाघर बनेका छन् । कतै सरकारी बजेट र कतै ग्रामीण स्वास्थ्य सुधार परियोजना र फेयरमेड फाउण्डेसनले पनि ती भवन बनाइदिएका छन् । निसीखोला गाउँपालिका ३ को बोहोरागाउ“मा ५ लाख ५५ हजार खर्चेर भवन बनाइएको छ भने बडिगाड गाउँपालिका २ को खरवाङमा ४ लाख खर्चेर दुइ बेडको भवन संचालनमा ल्याएएको छ ।
ती भवनमा बस्दा शुल्क लाग्दैन । बरु समयमा उपचार पाउने र जटिल समस्या हुने भए गर्भ परीक्षण गरेर समयमा अस्पतालमा रिफर गर्ने व्यवस्थापनि हुने गरेको छ । धौलागिरि अस्पतालमा गत पुस देखि चैत सम्म स्त्रीरोग बिशेषज्ञ थिएनन् । अहिले भने २ जना स्थायी चिकित्सक आएपछि अस्पतालमा अपरेशन सहितको सुत्केरी सेवा बढेको छ । ‘डाक्टरको उपस्थितिले अपरेशन सेवा पनि बढी भएका छन्, अब यो भवन प्रयोग गर्ने क्रम बढ्न सक्छ’ भट्टराइले भनिन्, ‘राज्यका निशुल्क सेवा बारे प्रचार नहुँदा सेवाग्राहीले धेरै रकम खर्चन बाध्य भएका हुन् ।’ नियमित गर्भ परीक्षण गर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई राज्यले प्रोत्साहन भत्ता समेत दिएको कुरा समेत प्रचार गर्नु पर्ने उनले बताइन् ।





