बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यौन रोग र सचेतना

यौन रोग र सचेतना


  • कृष्णकुमार सैजु
  • बैशाख २२ २०८०, शुक्रबार

खासै व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो । अब विदेशबाट फर्किएपछि एकचोटी भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बचाउने बेला भएन र ?

मानिसको बद्लिँदो ब्यवहार र जीवनशैलीका कारण यौनरोग पनि बढ्दै गएको छ । अहिले सामाजिक मूल्य र मान्यतामा परिवर्तन आएसंगै युवावर्ग विवाहपूर्व यौन सम्पर्क बनाउने कुरा सामान्य भइसकेको छ । यौन क्रियाकलापमा बढेको स्वतन्त्रताले यौन रोग पनि बढ्दै गएको छ । असुरक्षित यौन सम्बन्धले महिलामा विभिन्न प्रकारका यौन रोग जस्तोः सिफलिस, गनोरिया र एचआइभी एड्स जस्ता गम्भीर रोग सर्ने खतरा बढेर जान्छ । यौन अंगमा संक्रमणको कारण अनेकौं रोगको खतराको साथै निसन्तानपन जस्ता समस्या पनि उत्पन्न हुन सक्छन् ।

मानिसहरुले आफ्नो करियरलाई धेरै महत्व दिँदा विवाह ढिलो गर्न थाल्छन् । धेरै गर्भनिरोधक चक्कीको प्रयोगले यौन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै जान्छ । जसले गर्भधान गर्न पनि समस्या बढेर जान्छ । करियरलाई नै बढी प्राथमिकता दिँदा गरेको यौन क्रियाकलापले मानसिक र शारीरिक समस्या निम्ताउँछ ।

अस्तव्यस्त जीवनशैली, रातभर पार्टीमा धुमपान र मद्यपानले यौन जीवनलाई प्रभाव पार्छ । धुम्रपान गर्ने मानिसको शुक्रकिटको संख्या र त्यसको गतिशिलतामा पनि कमी आउँछ । महिलामा भने मासिक चक्रमा गडबडी आउने जस्ता समस्याले सताउँछ ।

मानिसहरु अहिले यति व्यस्त भएका छन् कि शारीरिक श्रमको नाममा केही पनि गर्दैनन् । हिंड्न मन नपराउने, भर्याङ नचढ्ने, कुनै व्यायम पनि नगर्ने गर्छन् । बिहान बेलुकी पनि यसो खुल्ला हावा खान पनि बाहिर निस्कँदैनन् । शारीरिक श्रम नगर्नाले शरीरमा पाचन प्रक्रिया निस्कृय भएर जान्छ । पाचन प्रकृया निष्कृष हुँदा शरीर दुर्बल हुने वा बोसो जम्ने हुन्छ । समयभन्दा अगाडी नै कपाल सेतो हुने, झर्ने, छाला चमकविहीन हुन जान्छ र अनुहार पनि समयभन्दा अगाडी नै बुढो देखिन जान्छ । जसले मानिसमा यौनप्रति खासै रुचि नहुने वा यौन समस्या बढ्दै जान्छ ।

के हो यौनरोग ?

परिचयः यौन रोग (एसटीआइ) भन्नाले यौन प्रसारित रोगहरु (सेक्युअली ट्रान्समिटेड इन्फेक्सन) भन्ने बुझ्नुपर्दछ ।
साधारणतया यौन रोग लागेको व्यक्तिसँग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तैः भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा आदि । खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ । यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई असर गरी बाझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर र मृत्युसम्म हुन पुगेको तथ्य समाजमा छर्लङ्ग छ । यौनरोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, बजन कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरंगीको शिकार भएको पाइएको छ ।

यौनरोगका लक्षणहरु :

महिलामा हुने प्रमुख लक्षणमा योनीबाट असाधारण सेतो दही जस्तो गन्हाउने पानी बग्नु ।
(नोटः महिलामा थोरै सेतो पानी बग्नु नर्मल हो), तल्लो पेट दुख्नु, यौन सम्पर्क गर्दा तल्लो पेट दुख्नु , महिनाबारीबाहेक योनीबाट रगत बग्नु । पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिंगबाट बाक्लो पीप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पीप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु (पोल्नु, लिंग वरिपरि गिर्खा, पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु) महिला÷पुरुष दुवैका साझा लक्षणहरुमा यौन अंग र मुख वरिपरी घाउ, खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने हुनु, निरन्तर थकाई लाग्नु, टाउको दुख्नु, घाँटी दुख्नु, ज्वरो आउनु, जीउ दुख्नु गुप्ताङ्ग वरिपरि सुन्निनु ।
(नोटः पुरुषको लिंगको, लिंगमुण्डको चारैतिर रहेका राता साना बिमिराहरु नर्मल हुन् ।)

यौनरोग सर्ने माध्यमहरु

सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ । यदि एक व्यक्ति संक्रमित छ भने उसले आफ्नो साथीलाई वीर्य, योनीरस तथा रगतबाट सार्न सक्दछ । यसबाहेक छालासंगको सिधा सम्पर्कबाट पनि सर्न सक्छ । पुरुष–पुरुष, महिला–महिला, महिला–पुरुषमा सर्दछ ।

यौनरोगबाट बच्ने उपाय र उपचार

हामीलाई ज्ञात भएकै हो, रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो । यौन रोगको सम्वन्धमा त यो झनै सान्दर्भिक देखिन्छ ।

बच्ने उपायहरु

–धेरै जनासंग असुरक्षित यौन सम्पर्क नराख्ने ।
–यौनरोग भएको अथवा माथिका लक्षणहरु देखिएकासंग यौन सम्पर्क नराख्ने ।
–आकस्मिक रुपमा अथवा राम्रोसंग नचिनेको व्यक्तिसंग यौन सम्पर्क नराख्ने ।
–यौन सम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने ।
–गुप्ताङ्गमा घाउ छ, सुनिएको छ वा गाठो छ भने तुरुन्त डाक्टरलाई देखाउने ।
–यौन रोगको औषधिको पूरा मात्रा सेवन गर्ने ।
–औषधिले निको नभएमा डाक्टरलाई पुनः भेट्न जाने ।
–आफूसंगै आफ्ना सम्पूर्ण यौन साथीको संगसंगै उपचार गर्नुपर्छ ।
–यौन सम्पर्क गरेपछि गुप्ताङ्ग सफा गर्ने ।

यौनरोग र एड्स

यौनरोग भइसकेका मानिसलाई एड्स लाग्ने सम्भावना अत्याधिक पाइएको छ । यौन रोग लागेका महिला वा पुरुष भएमा कण्डमको प्रयोग गर्दा पनि एड्स सर्न सक्ने अवस्था देखिन्छ । हुन त मानिसले कण्डम प्रयोग गरिसकेपछि आफू सुरक्षित यौन सम्पर्क गर्दैछु भन्ने सोच राख्दछ तर एउटा बुझ्नैपर्ने कुरा के छ भने महिलाको योनीरस पुरुषको कण्डम लगाएको लिङ्ग बाहिरको घाउ खटिरामा लागेर एड्स सर्न सक्दछ । अर्को कुरा यौन सम्पर्क गर्दा यौन रोगीका गुप्ताङ्गमा हुने घाउ÷खटिराबाट रोग सर्ने सम्भावना अझ प्रबल देखिन्छ ।
पुरुष–पुरुष, महिला–पुरुष हुने अप्राकृतिक यौन सम्पर्क जस्तो गुदा मैथुन, मुख मैथुन हुँदा शरीरका तन्तुमा बढी क्षति पुगी यौनसंग अझ सजिलै रोग सरेको अध्ययनहरुको माध्यमबाट पत्ता लागिसकेको छ ।

यौनरोग/एड्स र भीसीटी

भीसीटी अर्थात् स्वेच्छिक परामर्श तथा परीक्षण, यौन÷एड्स रोग पत्ता लगाउन गरिने पद्धति हो । यस पद्धतिमा तपाईको गोपनियता भङ्ग नगरी तपाईंलाई जाँच गरिन्छ । जाँच गर्नुअघि तपाईंलाई परामर्श दिइन्छ । तपाईंको आत्मविश्वास वृद्धि गरिन्छ र परीक्षणपश्चात आएको नतिजाअनुसार तपाईलाई सहयोग सल्लाह र उपचार प्रदान गर्ने काम गरिन्छ । तपाईंको नजिकै भीसीटी केन्द्रमा गएर यी कामहरु गर्न सक्नुहुन्छ ।

वैदेशिक रोजगारी र यौनरोग/एड्स

वर्तमान अवस्थामा कैयौं नेपालीहरु काम, अध्ययन तथा पर्यटकीय हिसाबले विदेश जाने प्रचलन ह्वात्तै बढेको छ । विदेशिएका साथीबाट राम्रै रुपमा पैसा घर–परिवारलाई पठाउने गरेको पाइन्छ । जसले परिवारको आर्थिक अवस्था सुध्रिएको छ । देशले रेमिटेन्स प्रशस्त संकलन गरेको छ । तर, अर्को पक्षलाई नियाल्दा परिवारबाट टाढा रहँदा आफ्नो यौन प्यासलाई मेट्ने असुरक्षित यौन सम्पर्क राख्ने गरेको कुरा त तपाँइहरूले सुन्नु÷भोग्नु भएकै छ । जब घर फर्किनुहुन्छ तब तपाईंले आफ्नो परिवारलाई यौनरोग÷एड्स उपहार दिएको त हामीले प्रशस्तै देखेका छौं । यो खासै व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो । अब विदेशबाट फर्किएपछि एकचोटी भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बचाउने बेला भएन र ? देशको स्वास्थ मन्त्रालय सम्हालेर बसेका आदरणीय विद्वत वर्गले यो विषयवस्तुलाई व्यापक गरिदिए साँच्चै भविष्यको त्यो विकराल स्वास्थ्य समस्यालाई रोक्न सकिन्थ्यो कि ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->