नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरुमध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो ।
अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् । बरु उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ । सामन्य चेतना भएता पनि लाज मानेर आफ्नो बढ्दो र अज्ञात समस्यालाई लुकाएर पालिरहेका हुन्छन् । अर्कातर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । किनकी यस्ता कुरा परिवारको ठूला साना सदस्यसंग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गरिन्छ । यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा श्रीमानबाट समेत पिडीत र अपहेलित हुन बाध्य छन् ।
यसको बितरित बिकसित देशहरूमा बच्चादेखी परिवारका सदस्यहरू बिच यौन स्वास्थ र प्रजनन स्वास्थको खुलेर कुरा गरिन्छ र सानै कक्षादेखी यौन स्वास्थ र प्रजनन स्वास्थको प्रशिक्षण सिकाइ गरिन्छ । फलस्वरुप बयस्क भएपछी आफ्नो प्रजनन स्वास्थ्यको आफै ख्याल गर्दछन् ।
के हो पाठेघर झर्ने (खस्ने) समस्या ?
पाठेघर झर्नु (खस्नु) भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई हुन सक्छ । यसलाई गाँउठाँउ अनुसार पाठेघर झर्ने (खस्ने) वा आङ खस्नु पनि भनिन्छ ।
पाठेघर खस्नुका कारण के ?
महिलाको पाठेघर झर्नु (खस्नु)को मुख्य कारण उनको गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरुविस्तारै तल खस्नाले हुन्छ । पाठेघर झर्नुका मुख्य कारणहरु निम्न छन् ।
–कम उमेरमा विवाह गर्नाले
–कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनाले
–बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नाले
–सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौँ कामहरु गर्नाले
–गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले
–सुत्केरी अवस्थामा धेरै हिंड्ने, गह्रौँ भारी उचाल्ने बोक्ने गर्नाले
–चुरोट खाएर बारम्बार खोकी रहनाले पनि पाठेघर खस्नुका कारण हो ।
पाठेघर झर्दा (खस्दा) देखिने लक्षणहरु
यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ । खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ । पुरै ठाउँ छोडी केही भाग योनी बाहिर पनि निस्कन सक्दछ । खोक्दा, हास्दा अलिअलि पिसाब चुहिने पनि हुन सक्छ । बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने, हिंड्न गाहृो हुने, ढाड दुख्ने हुन सक्छ ।
पाठेघर झरेपछि (खसेपछि) पर्ने समस्या
हाम्रो समाजमा धेरै महिला तथा परिवारले महिलाको पाठेघर खस्ने समस्यालाई समस्याको रुपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण शारीरिक समस्या हो भनी लिने गरेको पाइन्छ । तर त्यसो होईन यो महिलाहरु भित्र लुकेको एउटा ठूलो शारीरिक तथा मानसिक समस्या हो । मुख्यतया उनमा निम्न समस्याहरु आउन सक्छन् ।
शारीरिक/स्वास्थ्य समस्या
–ढाड र कम्मर दुख्ने
–हिंड्दा, बस्दा, खोक्दा अप्ठ्यारो लाग्ने
–तल्लो पेट दुख्ने
–सेतो पानी बग्ने
–टुक्रुक्क बसेर काम गर्दा अप्ठ्यारो हुने
–पाठेघर बाहिरै आएको छद भने घाउ भएर अन्तमा क्यान्सर पनि हुन सक्छ ।
पारिवारिक/सामाजिक समस्या
यौन सम्पर्क गर्दा अफ्ठयारो हुन सक्छ । जसले गर्दा श्रीमानसंगको सम्बन्ध चिसो भएर झगडा हुने र बिस्तारै बिछोड र श्रीमानले अर्को श्रीमती ल्याउने अवस्थाको सृजना हुन सक्छ । सधैको शरीरिक समस्याबाट मानसिक तवरले पनि विछिप्त हुन सक्छ । सेतो गन्हाउने पानी आउने हुनाले समूहमा संगै बस्ने मान्छेलाई गन्हाउने डरले समूहमा नबस्ने बसे पनि एक्लै बस्ने र अन्तमा एक्लो महशुस हुन सक्छ ।
उपचार
पाठेघर खस्ने समस्याको विशेषगरी तीन विधिबाट उपचार गर्न सकिन्छ ।
व्यायाम
महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमप्राप्त महिलाहरुले सिकाएको ब्यायम गर्न सक्छन् । जसलाई ‘किगेल्स ब्यायम’ भनिन्छ । यो ब्यायाम घरमै गर्न सकिन्छ । पाठेघर अलिकति मात्र तल खसेको भए मात्र यो व्यायामले काम गर्छ ।
रिङ पेसरी
खसेको पाठेघरलाई पुरानै अवस्थामा फर्काउने उपायलाई रिङ पेसरी भनिन्छ । यो विधिमा योनीमा रिङ पेसरी राख्ने गरिन्छ । योनीबाट रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काउने गरिन्छ । पाठेघरमा राखेको रिङ हरेक तीन महिनामा फेर्नुपर्ने हुन्छ ।
शल्यक्रिया
महिलाको पाठेघर योनीबाट बाहिरै निस्केको भएमा शल्याक्रिया नै गर्नुपर्ने हुन्छ । शल्याक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा पु¥याउन सकिन्छ भने कसैमा अवस्था हेरी पाठेघर निकाल्नुपर्ने हुन्छ ।
पाठेघर खस्नबाट कसरी बच्ने ?
१. धरै बच्चा जन्माउनु हुँदैन ।
२. कम्तिमा दुईदेखि चार वर्षको अन्तरमा मात्र बच्चा जन्माउनुपर्छ ।
३. २० वर्षभन्दा अगाडि बच्चा जन्माउनु हुँदैन ।
४. गर्भवती महिलाले गरुङ्गो भारी अथवा सामान उठाउँनु हुँदैन ।
५. सुत्केरी महिलाले पटुका धेरै कस्नु हुँदैन ।
६. पौष्टिक र भिटामिनयुक्त खानेकुरा खानुपर्छ ।
७. बच्चाको उमेर अन्तरका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्नुपर्छ ।
८. पाठेघर सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।
९. किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ ।
१०. महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ ।
११. गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउनुपर्छ ।
१२. स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउनुपर्छ ।
१३. गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खानुपर्छ ।
१४. गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्नुपर्छ ।
१५. सुत्केरी भएको कम्तिमा ६ हप्तासम्म आराम गर्नुपर्छ ।
१६. सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।
१७. दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा २ वर्ष पर्खने ।
घरेलु उपचार के हुन्छ ?
लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छभने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको परिपूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ ।




