बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सबै रोगको जरा तनाव र व्यवस्थापन

सबै रोगको जरा तनाव र व्यवस्थापन


  • कृष्णकुमार सैजु
  • जेष्ठ १९ २०८०, शुक्रबार

श्रीमद पेटको समस्याले हत्तुहैरान भैसके । उनी भन्छन्, ‘कहिले डायरिया चल्छ त कहिले कब्जियत भएर एक घन्टा लाग्छ । यति मात्र होइन, एसिडिटी भएर केही खानै हुन्न खाना नै पच्दैन आजभोलि । भनेअनुसार सबै जाँच गराइसकेँ । रिपोर्टमा सबै सामान्य आउँछ तर समस्या जहाँतहीँ ।’

हालै २५ वर्षमा टेकेकी अर्पिता पेसाले श्रृंगार ब्यावसायी हुन् । एकदिन ब्यापार गर्दै गरेको अवस्थामा पसलमै ढलिन् । हृदयघातको शंका गरी नाम चलेको अस्पतालमा पु¥याइयो । एक हप्तासम्म त्यहीँ राखेर सबै परिक्षण गरियो । रिपोर्ट सामान्य आयो । मुटुमा केही समस्या नदेखिँदा पनि मुटु दुख्ने क्रम चली नै रह्यो । औषधीले केही काम नगरेको देखेर धामी देखाएर झारफुक गर्न थालिएको छ भन्छ उसको श्रीमान ।
‘बेलाबेलामा टाउको दुखेर फुट्ला जस्तै हुन्छ । घरमा भएको बेलामा दुख्दा त औषधि खाएर केही बेर आराम गर्न मिल्छ । सबैभन्दा टेन्सनत अफिसको समयमा हुन्छ । कहिलेकाहिँ त एउटाले नभएर दुइटा पेन किलर खानुपर्छ दुखाइ कम गर्न,’ पीडा पोख्छन् बैंकका कर्मचारी रामु ।

यी सबै हाम्रो समाजका प्रतिनिधि घटना मात्र हुन् । यिनीहरूले व्यक्त गरेका समस्या शारीरिक जस्ता देखिन्छन् । किनकि शरीरको कुनै नकुनै भागमा पीडा भएको छ । जुन देखिएको पनि छ । यसको समाधानको लागि व्यक्ति स्वयम्का साथै उसका निकटका व्यक्तिले पनि यथाशक्ति प्रयोग गर्छन् । तर यस्तै पीडा शरीरमा मात्र होइन मनमस्तिष्कमा पनि हुन्छ । समयमा पहिचान गरी उचित उपचार भएमा सजिलै निको हुन्छ भन्ने कुराको ज्ञान नहुँदा त्यसले मानिसको जीवनमा ठूलो क्षति पु¥याएको छ । यी सबै समस्याको कारक तत्व मानसिक तनाव हो । यसका बारेमा हरेकले बुझ्नु आवश्यक छ ।

के हो तनाव

तनाव मनको एक किसिमको अवस्था हो । मानव अस्तित्वसँग यसको पनि अस्तित्व रहन्छ । तनावको सामान्य अवस्थाले मानिसलाई प्रगति गराउँछ । यसैको आधारमा मानिस माथि उठ्न पनि सक्छ भने त्यही तनाव बढ्न जाँदा समस्या ल्याउन पनि सक्छ । यो मनमा चल्ने द्वन्द्व हो अर्थात् मानसिक द्वन्द्व, जसले मन र भावनाबीच दरार पैदा गर्छ । मानसिक स्थिति र बाह्य परिस्थिति बीचको असन्तुलनको कारण उत्पन्न हुने गर्छ । यसको कारण मन अशान्त र अस्थिर रहन्छ, भावनामा अस्थिरता पैदा हुन्छ । व्यवहारमा विचलन आउनुका साथै शारीरिक अस्वस्थताका विभिन्न लक्षणहरू देखिन थाल्छन् । कार्यक्षमतामा ह्रास आउँछ । तनाव आफैँमा समस्या होइन तर यसले अन्यधेरै प्रकारका मानसिक समस्या चाहिँ निम्त्याउन सक्छ ।

तनावको कारण

कुनै पनि चिज वा परिस्थिति तनावको कारण बन्न सक्छ । सामान्य अवस्थामा चलिरहेको शारीरिक प्रक्रियामा असहज परिस्थिति हुने बित्तिकै शरीरले प्रतिक्रिया दिन थाल्छ । एड्रिनालिन र कोर्टिसोल जस्ता स्ट्रेस हर्मोनहरू निष्काशन हुन थाल्छन् । त्यसको कारणले परिस्थितिसँग जुध या भाग मुडमा हुन्छ मानिस । जब त्यो असहज परिस्थिति सामान्य हुन्छ, त्यसपछि शरीरको प्रतिक्रिया सामान्य अवस्थामा पुग्छ । यसले मानिसको जीवनमा नकारात्मक असर पार्दैन । उदाहरणका लागि परीक्षा, अन्तरवार्ता, नयाँ ठाउँ, नयाँ साथीहरू जस्ता कुराले दिएको तनाव । तर कहिलेकाहीँ तनावको स्थिति लामो समयसम्म यथावत रही रहन्छ । त्यसको कारणले मानिसको जीवनमा नकारात्मक असर पार्छ । त्यसपछि तनाव व्यवस्थापन गर्न निकै कठिन हुन सक्छ । त्यसैले तनावको कारण थाहा भएमा निवारण गर्न पनि सहज हुन्छ ।

१. वातावरणीय कारण

कुनै पनि महामारी, प्राकृतिक प्रकोप जनाउ दिएर आउँदैन । अचानक आउँछ र यसले आफ्नो प्रभाव छोडेर जान्छ । २०७२ को पराकम्प र कोभिड—१९ र अहिलेको आर्थिक संकट त्यस्तै एउटा महामारी हो, जसको प्रभाव विश्वभरी नै प¥यो र पर्छ । मानिसहरू आआफ्ना घरमा बन्दीको रूपमा रहन बाध्य भए । सम्पूर्ण कामकाज, स्कुल, कलेज ठप्प भए । एकातिर संक्रमणको त्रास भयो भने अर्कोतिर भविष्यको चिन्ताले सतायो । हरेक वर्गले यो तनावको अवस्था झेल्नुप¥यो । यसको कारणले सबभन्दा ठूलो असर मानिसको मानसिक स्वास्थ्यमा पारेको छ । तनाब बढ्न थालेको विभिन्न रिसर्चले देखाएको छ । जनवरी २ देखि फेबु्रअरी ३, २०२० सम्म गरिएको मनोवैज्ञानिक अनुसन्धान (जियांवो लाइ र एट अल, २०२०) को आधारमा ७२% स्वास्थ्यकर्मीमा तनावको समस्या देखिएको थियो । २०७२ सालको भूकम्पको ट्रमा अहिले पनि समस्याको रूपमा भेटिँदै छ ।

२. सामाजिक कारण

पारिवारिक समस्या, सम्बन्धमा खटपट, आर्थिक अवस्था बिग्रनु, सम्पत्ति सम्बन्धमा झैझमेला, जातजाति बीचको भेदभावपूर्ण व्यवहार, सम्पन्न र विपन्न वर्ग बीचको द्वन्द्व, पितृसत्तात्मक सोचले ल्याएको समस्या, धर्म, संस्कार, संस्कृति जस्ता कुराले पनि मानसिक रूपमा तनाव दिइरहेको हुन्छ ।

३. शारीरिक कारण

शारीरिक रोगका कारणले पनि मानसिक तनाव ल्याउन सक्छ । क्यान्सर जस्तो जटिल रोग लागेमा व्यक्ति स्वयम् तथा उसका प्रियजनलाई बिमारीका कारण तनाव हुन्छ । सुस्त मनस्थिति, अटिजम भएका बालबालिकाका आमाबाबुलाई पनि तनावका कारण मानसिक समस्या भएको रिसर्चले देखाएको छ ।

४. मानसिक कारण

मानव जीवन बिभिन्न घटनाहरूको सँगालो हो । प्रत्येक पाइलामा विविध प्रकारका घटना घटी नै रहन्छन् । कति घटना हाम्रो नियन्त्रणमा हुन्छन् भने कतिपय हाम्रो नियन्त्रण बाहिर हुन्छन् । नियन्त्रण बाहिरको कुरालाई लिएर चिन्ता गर्ने बानीले पनि तनाव सिर्जना गर्छ । हाम्रो शरीर विविध प्रकारका रसायनद्वारा निर्मित छ । ती रसायनको निष्कासनमा गडबढी भएमा मनमा असर पर्छ । डोपामाइन, सेरोटोनिन, अक्सिटोसिन, इण्डोर्फिन जस्ता रसायनको कमी भएमा नकारात्मक सोच आउन थाल्छ । यसका कारणले मानसिक तनाव सुरु हुन्छ ।
तनावका लक्षण
मानसिक लक्षण
–निरन्तर चिन्ता लाग्ने
–विचार धेरै आइरहने
–बिर्सने
–अव्यवस्थित हुने
–मन अस्थिर भैरहने
–निर्णय क्षमतामा कमी
–नकारात्मक सोच, निराशावादी चिन्तन
–मन अशान्त रहने, सानो कुरामा रिस उठ्ने
–अरूदेखि टाढै रहन खोज्ने
शारीरिक लक्षण
–शारीरिक कमजोरी
–टाउको दुख्ने, जिउ दुख्ने, छाती दुख्ने
–पेट गडबड हुने (पाखाला चल्ने, कब्जियत हुने, वाकवाकी लाग्ने)
–मुटुको धड्कन बढ्ने
–निद्रा नलाग्ने
–बारबार रुघाखोकी लागिरहने
–यौन दुर्बलता
–मुख सुक्ने, निल्न गारो हुने, कानमा केही बजेजस्तो आवाज आउने, शरीर चिसो हुने वा हात खुट्टामा धेरै पसिना आउने, दाँत चपाउने ।
–व्यवहारमा आउने परिवर्तन
–खानपानमा परिवर्तन, नखाने या धेरै खाने
–जिम्मेवारीदेखि भाग्ने वा कामपछि सार्ने
–धुम्रपान, मद्यपानको सेवन गर्ने
–डरले शरीरमा कम्पन आउने, नङ टोक्ने आदि
तनावले ल्याउन सक्ने परिणाम
कुनै तनाव समस्यासँगै हराएर जान्छ । त्यसले कुनै असर पार्दैन तर कुनै तनाव धेरै लामो समयसम्म गहिरो रूपमा मन मस्तिष्कमा जरो गाडेर बस्छ । त्यसले स्वास्थ्यमा नराम्रो असर पार्छ ।
ती असरहरू यस प्रकारका छन्
–डिप्रेसन, व्यक्तित्व विकार जस्ता मानसिक समस्या
–हृदयघात, ब्लडप्रेसर बढ्ने, मोटोपनको समस्या
–मासिक धर्मको समस्या (महिलामा)
–यौन समस्या (महिला÷पुरुष)
–छालाको समस्या— फोकाहरू आउने, सोरायोसिस, एक्जिमा, कपाल झर्ने
–पेटको समस्या— डायरिया, कब्जियत, ग्यास्ट्रिक, अल्सर आदि
तनाव व्यवस्थापन
तनाव जीवनको एक पाटो हो । जीवनको हरेक मोडमा समस्या आउन सक्छ । समस्यासँग तनाव पनि आउँछ । त्यसलाई व्यवस्थापन गर्ने सिप छ भने त्यसले जीवनमा फाइदा नै दिन्छ । त्यसलाई व्यवस्थापन गर्न जानिएन भने लामो समयसम्म जरा गाडेर बस्यो भने धेरै समस्या पैदा गर्छ । यसको समाधानका लागि निम्न उपाय गर्न सकिन्छ ।

१. तनावको कारण पहिचान

सामान्यतया बिनाकारण तनाव आउदैन । त्यसको पछाडि कुनै न कुनै कारण हुन्छ । कारण सानो, ठूलो, सरल, जटिल जस्तो पनि हुनसक्छ । त्यसको असर व्यक्तिको स्वभाव अनुसार फरक पर्छ । स्वभाव निर्माण हुन धेरै तत्वहरूको भूमिका हुन्छ । त्यसकारण आफूलाई कुन चिज वा कस्तो परिस्थितिले तनाव पैदा गरेको छ, त्यसको पहिचान गर्नु आवश्यक हुन्छ । त्यसपछि मात्र त्यसको निवारणका लागि उपाय खोज्न सकिन्छ ।

२. भोजन

शरीर अनुकुल भोजन गर्नु भनेको शरीर मात्र स्वस्थ राख्नका लागि होइन, यसले मन मस्तिष्कलाई पनि शान्त, स्थिर राख्छ । भनिन्छ नि, ‘जस्तो आहार त्यस्तै तन, जस्तो तन त्यस्तै मन ।’ जंकफुड, तारेको खानेकुरा, चकलेट, चिसो पेय पदार्थ जस्ता कुराले तनाव बढाउनेकाम गर्छन् । त्यसैले सधैँ स्वस्थकर भोजन ग्रहण गर्नु भनेको तनावको औषधी पनि हो । शाकाहारी भोजन, फलफूल, सागपात जस्ता खानेकुराले तनाव घटाउन सहयोग गर्छ ।

३. निद्रा

शरीरलाई आराम चाहिन्छ । त्यो आराम निद्राबाट प्राप्त हुन्छ । निद्राको समयमा शरीरका केही अंगबाहेक अरू सबै अंगहरू आरामको अवस्थामा हुन्छन् र भोलिपल्ट पुनः ताजा हुन्छ हाम्रो शरीर । त्यसैले जवान मान्छेलाई ६–८ घण्टा निदाउनु आवश्यक हुन्छ ।

४. शारीरिक क्रियाकलाप

निष्कृय रहनु शरीरको लागि अति हानिकारक हुन्छ । मानव शरीरको संरचना नै सक्रिय जीवनशैलीको आधारमा भएको छ । हामी जति सक्रिय भयौँ, त्यति नै मस्तिष्कबाट विभिन्न रसायनहरू निस्किन थाल्छन् । योगा, व्यायाम, खेलकुद शरीरको क्षमताअनुसार गर्ने गरेमा डोपामाइन, इन्डोरफिन जस्ता खुसी बनाउने रसायनहरू निष्कासन भई तनाव मुक्त स्थितिमा रहन सक्छौँ ।

५. मेडिटेसन

तनावरहित रहनका लागि मेडिटेसन अति नै आवश्यक हुन्छ । मेडिटेसनले मनलाई शान्त, स्थिर रहन महत्पूर्ण भूमिका निर्वाह गर्छ । मेडिटेसनका माध्यमद्वारा नकारात्मक विचारप्रति सजग रहन सकिन्छ, जसले गर्दा आफ्नो अवस्थाप्रति जानकार भइन्छ । त्यसपछि आफूले चाहेजस्तो अवस्थातिर आफूलाई मोड्न पनि सकिन्छ । मेडिटेसन गर्ने बानीको विकास भएमा जस्तोसुकै समस्यालाई पनि झेल्न सक्ने क्षमताको बृद्धि हुन्छ ।

६. दैनिक रुटिन

अहिलेको मानव समाज निकै जटिल बन्दै गएको छ । प्रतिस्पर्धा र होडबाजीका कारण बढी महत्वाकांक्षी भएको छ मान्छे । यसका लागि धेरैभन्दा धेरै कामको बोझ छ । यस्तो परिस्थितिमा पनि तनावरहित भई आफ्नो काम तथा जिम्मेवारी सहज ढंगबाट बहन गर्नका लागि दैनिक रुटिन बनाउने र त्यसअनुसार चल्ने गर्नुपर्छ । यसले जीवनशैली व्यवस्थित बनाउँछ । व्यवस्थित जीवन नै तनावरहित हुन्छ ।
तसर्थः तनावमुक्त रहनको लागि इन्टरनेटको प्रयोग कम गर्ने, प्रकृतिको निकटमा केही समय बिताउने, वन, छहारी खोला आदीमा समय बिताउने । सकारात्मक सोच भएको व्यक्तिहरूसँग संगत गर्ने, आफूलाई मन पर्ने र मनलाई खुसी राख्ने संगीत सुन्ने, खाली समयमा कुनै न कुनै सिर्जनात्मक कार्य गर्ने गरेमा तनावबाट मुक्त रहन सकिन्छ । यदि कुनै कारणले तनावको लेबल बढी सकेको छ, त्यसलाई नियन्त्रण गर्न सकिएन भने तत्काल मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्छ । अन्यथा यसको परिणाम जटिल हुन सक्छ, त्यो मानसिक वा शारीरिक जुन रूपमा पनि प्रकट हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->