केही दिनयता गर्मी ह्वात्तै बढेको छ । गर्मी मौसमको चर्को घाम, तातो हावा, धुलो धुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ ।
चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा खटिरा आउने, मसिना विमिरा आउने, सुख्खा र छाला फुस्रो हुने जस्ता समस्या हुन्छन् । त्यति मात्र होइन, छाला डढ्ने र कालो धब्बा बस्ने समस्या पनि उत्तिकै हुन्छ । कहिलेकाहिँ छालाको एलर्जी पनि हुन्छ । त्यसैले गर्मी मौसममा छालाको विशेष स्याहार आवश्यक हुन्छ ।
किन गर्मीमा छालाको समस्या बढ्छ ?
गर्मी मौसममा छालामा अत्याधिक पसिना निस्कन्छ । तेलग्रन्थीले धेरै तेल बिसर्जन गर्छ । धेरै तेल उत्पादन भएपछि छालामा धुलो जस्ता फोहोर टाँसिएर पसिना र तेल निस्कने छिद्रहरु बन्द हुन्छन् । त्यस कारण छालामा संक्रमण भई डण्डीफोर निस्कने, छाला रातो हुने, खटिरा तथा एलर्जी जस्ता समस्या शुरु हुन्छ ।
गर्मीमा छाला कसरी जोगाउने ?
–गर्मी मौसममा पसिना र शिवम् धेरै उत्पादन हुने भएकाले मोइस्चराइजर प्रयोग गर्न कम गर्छौ । तर, यसो गर्नाले छालामा समस्या आउन थाल्छ ।
–गर्मीमा पनि उत्तिकै मात्रामा मोइस्चराइजर आवश्यक हुन्छ । तर, यो समयमा भने हल्का खालको मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
–एन्टी अक्सिडेन्टयुक्त सौन्दर्य सामग्रीमा प्रयोग गर्नुपर्छ । यसले छालामा समस्या आउनबाट बचाउँछ ।
–पर्याप्त मात्रामा पानी पिउनुपर्छ । पानी पिउनाले स्वास्थ्य त राम्रो हुन्छ नै छाला पनि स्वस्थ भई समस्या आउँदैन । छाला डिहाइड्रेट हुन पाउँदैन ।
–छाला स्वस्थ हुँदा सुख्खा हुने, फुस्रो हुने र चाउरीपन जस्ता समस्या कम हुन्छ ।
–जुस तथा झोलिलो खानेकुरा खानुपर्छ ।
–छालाको प्रकृतिअनुसार उचित स्याहार गर्नुपर्छ । सामान्यतया चिल्लो, सुख्खा र सामान्य गरी तीन प्रकृतिको छाला हुन्छ । त्यसैले आफ्नो छालाको प्रकृतिसँग उपयुक्त सौन्दर्य सामग्री प्रयोग गर्नुपर्छ । वातावरण परिवर्तन हुँदा छालामा पनि परिवर्तन आउने भएकोले गर्मी सुरु भएसँगै सौन्दर्य सामग्री परिवर्तन गर्नुपर्छ ।
–घरबाहिर निस्कनुभन्दा २० मिनेट अगाडि कमसेकम ‘३० एस.पी.एफ’को सनस्क्रीन लगाउनुपर्छ ।
–दिनमा दुई पटक फेसवासले राम्रोसँग अनुहार सफा गर्नुपर्छ । जसले छालामा रहेका अनावश्यक तेल, पसिना, धुलो र फोहोर रहन पाउँदैन र छाला स्वथ्य हुन्छ ।
दिनमा छालाको स्याहार
–बिहान उठेर छालाको प्रकृतिअनुसार क्लिन्जरले अनुहार धुनुपर्छ । यसले दिनभर छाला फ्रेस राख्छ ।
–अनुहार धोइसकेपछि टोनर लगाउनुपर्छ ।
–गर्मीमा पनि मोइस्चराइजर लगाउनुपर्छ । सजिलै सोस्ने मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ ।
–घरभित्रै बस्दा कमसेकम १५ एस.पी.एफ. र बाहिर निस्कदा ५० एस.पी.एफ.को सनस्क्रीन लगाउनुपर्छ ।
–हल्का प्रकृतिको मेकअप गर्नुपर्छ ।
रातमा छालाको स्याहार
–दिनभरको मेकअप र छालाको फोहोर पसिना साँझपख अनिवार्य पखाल्नुपर्छ । फेसवास, क्लिन्जिङ मिल्क वा छाला सुहाउँदो कुनैपनि क्लिन्जरले अनुहार सफा गरे हुन्छ ।
–सफा भइसकेपछि टोनर लगाउनुपर्छ ।
–टोनर सोसिसकेपछि भिटामिन–सी सीरम लगाउनुपर्छ । यसले छालालाई रिपेयर गर्छ र कुनै समस्या आउन दिँदैन ।
– ‘भिटामिन–ई’युक्त नाइट क्रिम लगाउनुपर्छ ।
–आँखाको वरिपरि ‘आइक्रिम’ लगाउनुपर्छ । यसले आँखाको वरिपरि चाउरी पर्न दिँदैन । यसले ‘डार्क सर्कल’बाट बचाउँछ ।
–मृतकोषिकाले अनुहारमा चमक आउन दिँदैन । त्यसैले हप्तामा दुईपटक छालामा स्क्रब गर्नुपर्छ । स्क्रबले मृतकोषिका हटाउँछ । हप्तामा एकपटक अनुहारमा प्याक लगाउँदा छाला स्वस्थ हुन्छ । यसका लागि विभिन्न घरेलु सामग्री प्रयोग गर्न सकिन्छ ।
–महिनामा एकपटक विशेषज्ञको सल्लाहमा फेसियल गराउनुपर्छ ।
घरेलु प्याक बनाउने तरिका
–खर्बुजा पिसेर जुस बनाउने । उक्त जुसलाई दहीमा मिसाएर लेप बनाइ अनुहारमा लगाउने । यसले अनुहारमा ताजगी आउनुका साथै हाइड्रेट गरी स्वस्थ बनाउँछ ।
–पाकेको केरा पिसेर दहीमा मिसाइ लेप बनाएर अनुहारमा लगाउँदा चाउरीपन कम हुन्छ ।
–अनुहारमा मसिना खटिरा र विविरा आएको बेला वेशनको पिठोमा आधा चम्चा बेसार र केही थोपा कागतीको रस मिसाएर लगाउँदा समस्या कम हुन्छ ।
–घ्यूकुमारीको जेल निकालेर अनुहारमा लगाउने । २० मिनेट राखेर पखाल्ने । यसले छालालाई प्राकृतिक रुपमा हाइड्रेट गराई स्वस्थ बनाउँछ । साथै, छाला चिलाउने, पोल्ने, फुस्रो हुने जस्ता समस्या कम हुन्छ ।
–पानीको मात्रा धेरै हुने भएकाले काँक्राको रसलाई आइसक्यूब बनाई आँखामा लगाउँदा डार्क सर्कल, पफिनेस, रातो हुने जस्ता समस्या समाधान हुन्छ ।
–मुलतानी माटोमा चिसो पानी हालेर लेप बनाई अनुहारमा लगाउँदा छालाबाट विकार निस्कन्छ । यसले छालालाई शीतलता प्रदान गर्छ ।
ग्रिन टीको प्रयोग
चिया पिउनु मानसिक, संवेगात्मक, सामाजिक तथा शारीरिक रुपले फाइदाजनक हुन्छ । चियाको सेवले मानिसमा सौन्दर्य वृद्धि मात्र होइन तौल घटाउन तथा जिउको छालामा जलप्रवाहलाई नियमित बनाएर सुख्खा हुनबाट बचाउँछ । छालामा पानीको प्रवाह गर्छ । छाला तथा शरीरका अन्य अंगमा हाइड्रेसन अर्थात् पानीको पर्याप्त प्रवाह स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । चाहे ब्लाक टी होस् वा मिल्क टी वा ग्रिन टी यी सबैको सन्तुलित सेवन छालाको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । पसिनाबाट नष्ट हुने शरीरको पानीलाई पुनः भरण गर्न चियापानले महत्वपूर्ण भूमिका खेल्छ । चियापानले छाला पोल्ने तथा चिलाउने जस्ता समस्या समेत कम गर्न मद्दत गर्छ । चियाको सेवनले वजन नियन्त्रणमा समेत सहयोग गर्छ । चिया नपिउने मानिसमा भन्दा पिउने मानिसहरुमा मोटोपनाको समस्या कम हुने गरेको एक अध्ययनले देखाएको छ । यसका लागि चिनी नराखिएको मिल्क टी निकै उपयुक्त हुन्छ ।
चियामा हाम्रो छालाका लागि अत्यावश्यक जलप्रवाह गर्ने गुण हुने तथा वजन नियन्त्रणमा समेत सहयोगी हुने मात्र होइन अनुहारको चायापोतो हटाउन तथा अनुहारलाई चम्किलो बनाउन ग्रिन टी ब्याग निकै सहयोगी बन्दछ । मनतातो पानीमा टि ब्याग छापेर चिम्लिएको आँखामाथि केहीबेर राख्नाले आँखा वरपरको कालो धब्बा तथा दाग हटाउन मद्धत गर्दछ । चिया हालेर पकाएको पानीले कपाल धुँदा कपाल झर्ने समस्या कम हुन्छ । नियमित चिनी कम भएको ब्ल्यक टी वा ग्रिन पिउनाले महिलको योनी कसिलो, रसिलो अनि किटानुरहित बन्छ । त्यसैले अनुहार तथा छालाको लागी ग्रिन टी वा ब्ल्याक टी लाभकारी छ ।
छालाको सौन्दर्यसँग सुन्दरताको सम्बन्ध रहन्छ ।
त्यतिमात्र होइन, छालाको स्वच्छतासँग स्वस्थ जीवनको विशेष सम्बन्ध हुन्छ । त्यसैले सुन्दर देखिनका लागि मात्र छालाको स्याहार गर्नुपर्छ भन्ने हुँदैन । स्वस्थ जीवनका लागि पनि छालाको विशेष हेरचाह आवश्यक हुन्छ । यहाँ छालामा समस्या आउने कारण र उपचार विधि प्रस्तुत गरिएको छ । प्रस्तुत विधिले छालाको समस्या समाधान नभए विशेषज्ञसँगको सल्लाहमा उपचार गर्नुपर्छ ।




