स्याङ्जा/ नेकपा माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो भएको बताएका छन् । नेकपा माओवादी केन्द्र स्याङ्जाले आयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको विकल्प नरहेको पनि बताए । प्रचण्डको नेतृत्वमा एमाले बाहेकका कम्युनिष्ट एक ठाउँ हुन थालेको बताउदै महासचिव गुरुङले कम्युनिष्ट एक ठाउँ भएपछि गैरकम्युनिष्टलाई गोलबन्द गराउन सहज हुने धारणा राखे । केपी ओलीको सोच र चिन्तनका कारण नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको उनले आरोप लगाए ।
केपी ओली सत्ताबाट बाहिरिँदा नेपाल युक्रेन हुनबाट बचेको बताउँदै महासचिव गुरुङले अहिले अमेरिकाले एमालेलाई प्रयोग गरेर चिनमाथि आक्रमण गर्ने प्रयास असफल भएको जिकिर गरे । अहिलेको वर्ग संघर्ष एकाधिकारवादी दलाल पूँजिपतिबीच भएको बताउदै महासचिव गुरुङले श्रमजीविले जितेमा जनताले जित्ने र दलाल पूँजिपतिले हार्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे, जिल्ला संयोजक प्रकाश न्यौपानेलगायले मन्तव्य राखेका थिए । दुईदिने कार्यक्रममा दर्शनशास्त्र, राजनीतिशास्त्र अर्थशास्त्र, वैज्ञानिक समाजवाद, पार्टी कार्यदिशा, संगठनात्मक सिद्धान्त कयुनिष्ट आन्दोलनको इतिहास, सूचना र प्रविधिलगायतका विषयमा पार्टी स्थायी समिति सदस्य अमृता थापा, केन्द्रीय सदस्य हरिराज अधिकारी, खोपबहादुर कँडेल, लेखबहादुर थापा, शैलेन्द्र घिमिरे, रामदिप आचार्यलगायतले प्रशिक्षण प्रदान गर्नेछन् ।





