शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीको जागरण

गण्डकीको जागरण

आफ्नै समाजको ज्ञान र चेतनालाई अघि बढाएर समृद्ध बनाउँदामात्र ज्ञानको हस्तान्तरण हुन्छ र ज्ञान परम्परा समृद्ध बन्छ । न्याय नपाए गोरखा र शिक्षा नपाए कास्की जानु भन्ने भनाइहरु लहड र रहरमा चलेका होइनन् ।


  • धनञ्जय दवाडी
  • भाद्र १ २०८०, शुक्रबार

संघीय लोकतान्त्रिक गणतन्त्रपछि विगतका गण्डकी र धवलागिरि अञ्चलमा पूर्वी नवलपुर जोडिएपछि बनेको गण्डकी प्रदेश इतिहासमा शेषान्त भनेर चिनिन्थ्यो । नेपालको कूल क्षेत्रफलमा १४ दशमलव ६६ प्रतिशत हिमाल, पहाड र तराईको भूभागमा यसमा पर्छ ।

देशमा पाइने सबै हावापानी र सप्तगण्डकीको जलाधार र उपजलाधारसहित जैविक विविधता रहेको यो प्रदेश प्राकृतिक रुपमा समृध्द छ । विगतमा मगर र खस शासकद्वारा शासित यो क्षेत्र नेपाल एकीकरणको दोस्रोमा नेपाल राज्यसँग जोडिएको थियो ।

हिन्दु सभ्यता र विकासमा व्यासबारे चर्चाहरु छन्, ती व्यास तनहुँमा जन्मिएका थिए । ज्ञान परम्परामा यो नै गण्डकी सभ्यताको प्रारम्भ विन्दु हो । विगतमा शेषान्त भनिने यो गण्डकीबाट नै नेपाल एकीकरण प्रारम्भ भयो । पृथ्वीनारायण शाहको अगुवायीमा सुरु भएको यो अभियानमा बिसे नगर्ची, कालु पाँडे, दामोदर पाण्डे, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापाहरुको नायकत्वमा अघि बढेको नेपाली इतिहास हो ।

राजनीतिक रुपमा नेपाल एकीकरणमा लामो समय लाग्यो । गण्डकी प्रदेशका भूभाग नेपालमा जोडिएर नेपाल राज्य बनेपछि त्यो एकीकरणलाई सबल बनाउन भाषिक एकीकरणले काम गरेको छ । बाइसे चौबीसे राज्यमा टुक्रिएको नेपाललाई राजनीतिक, सैनिक र कुटनीतिक रणनीतिका माध्यमबाट एउटै मालामा उन्न पृथ्नारायण शाह सफल भए । उनको यो प्रक्रियालाई भाषिक एकीकरणका माध्यमबाट एकीकरण गर्ने कार्यको प्रारम्भ भानुभक्तले गरे ।

अहिले बोलिने नेपाली भाषा प्रारम्भमा खस भाषाका रुपमा प्रचलनमा आएको÷पछि यही भाषा पर्वते हुँदै नेपाली भाषाका रुपमा प्रचलनमा आएको हो । यही भाषामा भानुभक्तले रामायणको अनुवाद गरेपछि नेपालीका घरघरमा रामायण पढिन थलियो । यस प्रक्रियाले नेपाललाई राजनीतिक एकीकरणमा भाषिक माध्यमले थप सहयोग दियो ।

भानुभक्तीय परम्परामा नेपाली साहित्यका विविध विधामा कलम चलाएर गण्डकी प्रदेशका साहित्यकारहरुले महत्वपूर्ण योगदान दिएका छन् । पृथ्वीनारायण शाहका सहयोगी कालु पाण्डे हुन या नेपाली सीमा रक्षक भक्ति थापा गण्डकी कै हुन् । श्री ३ बनेका जंगबहादुर राणा या उनी अघिका प्रधानमन्त्री भीमसेन थापा गण्डकी कै थिए । साहित्यकार लेखनाथ पौडेल, गोकुल जोशी, झलकमान गन्धर्व, धर्मराज थापामात्रै होइन माधव घिमिरे, सरुभक्त वा जगमान गुरुङका योगदान वर्तमान समयसम्म पनि निरन्तर छ र यो देश निर्माणमा महत्ववूर्ण छ ।

२००७ सालको क्रान्तिमा गण्डकी प्रदेशको योगदान÷महत्व सुनौला अक्षरांकित नै छ । जयन्तु संस्कृतम्को आन्दोलनका अगुवाहरु नै गण्डकीका थिए । प्रजातन्त्रपछि विसं. २०१५ मा निर्वाचन भएको थियो । त्यस निर्वाचनमा दुई तिहाइ मतका साथ सरकार निर्माण गरेको पार्टी नेपाली कांग्रेसका महामन्त्री श्रीभद्र शर्मा पनि गण्डकी प्रदेशका थिए । विपीकै हाराहारी क्षमताका श्रीभद्रलाई विपीले मन्त्री बनाएनन् । कालान्तरमा उनी पञ्च भए । तर, योगेन्द्रमान शेरचन सहायक मन्त्री बनाइएका थिए । पञ्चायतविरुद्ध संघर्ष गर्दै उनको जीवन सकियो ।

कम्युनिष्ट आन्दोलनमा पनि पर्वतका चित्रबहादुर गुरुङ र तनहुँका गुणबहादुर घले र एकदेव आले, कास्कीका बलराम उपाध्याय पुष्पलालका समकालीन योध्दाहरुको महत्वपूर्ण योगदान पाइन्छ । त्यसपछि पञ्चायत कालमा पनि उल्लेख्य नेतृत्व निर्माण भएन । जयन्तु संस्कृतम् आन्दोलनमा गण्डकीमा देखिएको पहिलो पुस्ता राजनीतिको पहिलो लहरमा आएनन्, आउन दिइएन वा निर्माण भएनन्ब/नाइएनन् ? यो खोजको विषय हो ।

नेपाली कांग्रेसका सभापति बनेका कृष्णप्रसाद भट्टराई २०१५ सालमा नै गोरखाबाट पराजित भए । पछिल्ला दिनमा गण्डकीमा उनका उत्तराधिकारी रहेनन् बरु डडेल्धुराका शेरबहादुर देउवा उनका प्रिय भए । त्यसो त पञ्चायत कालभरि दरबारले पूर्वका सूर्यबहादुर वा पश्चिमका लोकेन्द्र बहादुरलाई पालैपालो उपयोग गरे । गण्डकी त यी दुई कित्ताको भएर बाँडिइरह्यो । आफ्नै नेतृत्व विकास गरेन गर्न सकेन ।
अहिले सबैतिर लोकदोहोरी गुञ्जिएर सबै रमउँदछन् । नेपाली लोकगीत परम्परामा पश्चिमेली लयको उद्भव, विकास र बृद्धिमा गण्डकी प्रदेश अग्रणी छ । कतिपय लय र संगीतको प्रारम्भ नै गण्डकीका ससाना गाउँबस्तीबाट भएको छ । तत्कालीन समयको चेतनाका आधारमा धर्मराज थापाले गण्डकीका सुसेलीमा धेरै विषयका उठान गरेका छन् । लोकगीतमा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने राजु परियार गण्डकी कै हुन् ।

चर्चित लोकगायकहरुको पंक्ति पनि लामो हुन्छ । तर, जीवन शर्मा, प्रकाश सपुत, बद्री पंगेनी, विष्णु माझी, विष्णु खत्री र बिमाकुमारी दुरा सम्झनु पर्ने नाम हुन् । स्थानीय मौलिक लोक भाकाको विकास र योगदान गर्ने देउबहादुर दुरा र तिनका अनुयायीलाई बिर्सने हो भने लोक गीतको क्षेत्र अधुरो हुन्छ ।

कुनैपनि समाजको विकासमा एउटा क्षेत्रको मात्र विकासले सम्भव छैन । राजनीतिक, शैक्षिक, आर्थिक, समाजिक नेतृत्वको विकास अनिवार्य कुरो हो । गण्डकी प्रदेशका धेरै क्षेत्रमा नेतृत्व स्थापित र विकास हुँदै छ । नेपालका नामुद कुटनीतिज्ञहरु पनि गण्डकीबाट विकास भएको छ । ऋषिकेष शाह, यदुनाथ खनाल, भेषबहादुर थापा, सूर्य सुवेदीजस्ता नामलाई यो क्षेत्रमा सदा स्मरण गरिन्छ र प्रेरणा लिइन्छ । भौगोलिक ज्ञान र योजना निर्माणमा हर्क गुरुङ वा वातावरण संरक्षणमा चन्द्र गुरुङले समग्र मुलुकको नेतृत्व गरेका छन् । अहिलेपनि उनीहरुलाइ चुनौती दिन सक्नेहरु यसक्षेत्रमा भेटिन्न ।

विगतमा यस क्षेत्रबाट धेरै नेतृत्व निर्माण गरिएको समृद्ध अनुभव वर्तमान पुस्तासँग छ । ज्ञान अनुभव र शिक्षा प्राप्त गरेर वर्तमान पुस्ताले यस क्षेत्रको विकास र श्रीवृद्धिमा लाग्नु पर्दछ । आफ्नै समाजको ज्ञान र चेतनालाई अघि बढाएर समृद्ध बनाउँदामात्र ज्ञानको हस्तान्तरण हुन्छ र ज्ञान परम्परा समृद्ध बन्छ । न्याय नपाए गोरखा र शिक्षा नपाए कास्की जानु भन्ने भनाइहरु लहड र रहरमा चलेका होइनन् ।

पछिलो दिनमा पृथ्वीनारयण कलेजले उत्पादन गरेको जनशक्ति विश्वभर फैलिएको छ । यहीबाट ज्ञान लिएकाहरु नेता, प्रशासक, वकिल, डाक्टर, इञ्जिनियर, अर्थविद्, योजनाकार, पाइलट बनेकै छन् । यी सबैको ज्ञानको र क्षमताको सदुपयोग गर्ने गरी गण्डकी जागरण अभियान सञ्चालन हुन सके नयाँपुस्ताले इतिहासको शिक्षा लिन सक्ने र समाजमा नयाँ नेतृत्वको सम्भावना अघि बढ्छ । बढाउन सकिन्छ ।

पञ्चायती व्यवस्था ‘बैंशमा पुगेर घोर्ले’ बनेको बेलामा म्याग्दीको दोवामा क्रान्तिकारीहरुले गणतन्त्र घोषणा गरेर संघर्ष अघि बढाएका थिए भन्ने ज्ञान अहिलेका नयाँ गणतन्त्रवादीलाई कति होला ? समाजमा राजनीतिक परिवर्तन यतिकै सजिलै हुन्छ वा विगतमा केही पनि भएन र कसैले पनि गरेन भन्ने भाष्य गलत छ । यसले समाजलाई गलत दिशातर्फ लैजान्छ भनेर चेतना दिन ढिलो भएको छ । विगतबाट सिकेर राजनीतिक नेतृत्वको विकास समय सापेक्ष गर्नुपर्दछ । सधैं र सबै एउटै व्यक्ति वा क्षेत्रबाट मात्र नेतृत्व सम्भव हुने विषय नै होइन । अझै समाज रुपान्तरणका लागि त विविध नेतृत्व स्थापित गर्नैपर्दछ ।

गण्डकीको पुनर्जागरणका लागि राजनीतिक क्षेत्रले कुशलतापूर्वक नेतृत्व दिन र लिन सक्नु पर्दछ । राजनीति जटिल मुद्दाहरुको सरल छिनोफानो हुने क्षेत्र हो । यहाँ सबै क्षेत्रको कुशल ज्ञानको खोजी र संयोजन हुनुपर्दछ । यसका लागि खुला छलफल र फराकिलो सोच अनिवार्य तत्व हुन् । खुम्चिएर वा अभिव्यक्त नगरेर विचारहरु निर्माण हुन सक्दैन ।

पुननिर्मित सोचले अघि बढ्दा मुलुकको नेतृत्व गर्न गण्डकी सक्षम छ र हुन्छ । भानुभक्तलाई प्रारम्भकर्ता मान्ने हो भनेपनि नेपाली साहित्यलाई विविध विधा र क्षेत्रबाट नेतृत्व दिएका पुस्ताको विगत गर्विलो छ । तर वर्तमानले नलेखेने हो भने समाजले गति पैदा गर्नै सक्दैन । सपना साहित्य कला र संस्कृतिमा देख्न सक्नुपर्दछ । पछिल्ला दिनमा सहित्यिक लेखनी मुर्झाए झै छ गण्डकीमा । माछापुच्छ्र«ेको सुन्दरतामा अरु कसैले लेखिदेला र गण्डकीको सुन्दर साहित्यक विकास होला भन्ने सोच कसैले नराखे हुन्छ । आफ्नो भाषामा साहित्य जति धेरै लेखिन्छ राज्यले सहयोग गरिरहन्छ त्यो समाजको आयु उति नै लामो हुन्छ ।

अन्नपूर्ण चक्रिय पदमार्ग, गहिरा गल्छी वा अग्ला हिमालका लहर, तालहरु, हिमाल, पहाड र तराइकै भूबनोट सबै ठाउँमा पाइने चीज हुन् र ? तर, हामीसँग छ गर्व गरौं । यतिबेला नेपालका सरकारी क्षेत्रका ठूला बैंकहरुको नेतृत्व गण्डकीले गरिरहेको छ । बैंकहरु सफलतापूर्क सञ्चालनमा छन् । के गण्डकीको पर्यटन विकासमा व्यवसायी र बैंकहरु सहकार्यमा छन् । सहकार्यमा सफलता हुन्छ । गरिबीको दुष्चक्रबाट गण्डकीलाई मुक्त गर्ने बाटो नै सेवा उद्योगको विकासमा निर्भर छ । किनभने ठूला औद्योगिक विकासका लागि यस क्षेत्रको भूबनोट भन्दा साना र सेवा उधोगका लागि उपयोगी छ । जल विद्युतको विकासमा द्रूत गतिले लाग्नुपर्ने र खपत बढाउन ध्यान दिनु पर्ने काम पनि यहींबाट गर्नु पर्दछ ।

गण्डकी प्रदेशको विकास भाषणले मात्र नहुने रहेछ । राजनीतिक अधिकारका बेला जागृतिका गीत गाएझैं अहिले निर्माणका बेला निर्माण कै गीत गाउनु पर्दछ । धेरैअघि लेखनाथ पौडेलले लेखेको नैतिक शिक्षा कवितालाई सबैले आफ्नो कार्यथलोमा राखेर काम गर्नु पर्दछ । विकासमा अहिलेपनि हर्क गुरुङ कै अवधारणामा हामी काम गर्दैछौं । उनकै सोचमा आएको विकास क्षेत्र अवधारणामा रहेर अहिले प्रदेशहरुको निर्माण भएको छ ।
क्षेत्रीय विकासको अवधारणा, पूर्व पश्चिम र उत्तर दक्षिण विकासको अवधारणालाई उनैले बाटो देखाएर हिँडिरहेका छौं । तर, गण्डकीका विकासे कार्यकर्ता वा कर्मचारी नेता वा प्रशासकले हर्कलाई कति पढेका र चिनेका होलान् ? यस्ता प्रश्न सबै क्षेत्रमा हुन्छ । कला सहित्य संस्कृति अर्थ वा कुटनीति सबै क्षेत्रमा विगतका ज्ञानबाट सिकौं । जागृत चेतनाको बिकासबाट सिकौं । प्रतिक्षण बद्लिने विज्ञान र प्रविधिलाई नचिनेर अहिलेको समाजलाई चिन्न सकिन्न । यो निर्माणको युग हो । विकास र समृद्धिमा लाग्नुपर्ने समय हो । उत्पादक शक्तिको विकास गरेरमात्र समाजमा रुपान्तरण सम्भव छ ।

गण्डकी प्रदेशको विगत गौरवशाली छ । त्यसलाई समृद्ध बनाउनुपर्दछ । राजनीतिक कुटनीति वा योजनाका क्षेत्रमा काम गरेका अग्रजबाट सिक्ने अवसर छ, सबैबाट सुनौं बुझौं । कला साहित्य सांस्कृतिक क्षेत्रमा पुनर्जागरणको थलो भएको छ । जागृत गण्डकी नेपालको भविष्य हो । गण्डकी जागेर नै नेपाल निर्माण भएको इतिहासमा पुन जागृत गण्डकीले नेपालको भविष्य बनाउन सक्छ ।

विगतमा नौतुनाको रेल चढेर हाम्रा सपनाहरु गए, अब अन्तर्राष्ट्रिय एयरपोर्टबाट सपना उडेरै नजाऊन् बरु आऊन् भन्ने हो भने जागृत गण्डकी नै अबको बाटो र विकल्प हो । सबैबाट सिक्न सकिने कुरा सिकौं । ज्ञान युगमा सहज प्रवेश सुनिश्चित गर्न ध्यान केन्द्रित गरौं । ध्वंशको युग सकियो, सिर्जनाको युग सुरु भयो । चर्चा गर्नुपर्ने क्षेत्र धेरै छन्, यो हल्का चर्चामात्र हो । छलफल प्रारम्भ गरौं, जिउँदा सपनाहरुबाट पुनर्जागृत गण्डकी नै समृद्धिको बाटो हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->