पोखरा/हजुरबासहित परिवारका अधिकांश लोग्ने मान्छे लाहुरे । कुनाघाट पुगेर छाती नपाउने र बर्दी लगाउनेको मान–मनिता नै छुट्टै । सरकारी जागिर ! कुन चराको नाम हो भन्नै गाह्रो ।
आफ्नो समुदायमा पढेलेखेका ब्यक्ति पनि निजामती सेवातर्फ खासै रुची नदेखाउने । सके ब्रिटिस, नभए भारतीय, नभए विदेश । दशजोड दुई भ्याउदा नभ्याउदैँ सुरु हुन्छ लाहुरे बन्ने धुन । लाहुरे भनेसी समाजमा पहिचान समेत बेग्लै । जनजातिका अधिकांश युवाहरु लाहुरे नै बन्न खोज्छन् । सायद घरबाट लाहुरे बन्न दबाब हुँदो हो ।
तर तनहुँको साविक घिरिङ सुन्धारा–७ हालको घिरिङ गाउँपालिका–३ गैराथोकका जितबहादुर रानाको परिवारमा भने त्यसो भएन । लाहुरेनै बन्नुपर्छ भन्ने थिएन । सायद आमा बुबाको इच्छा लाहुरे नै बनिदियोस छोरा भन्ने थियो होला तर कहिल्यै व्यक्त भने गरेनन् । जित बहादुर पनि लाहुेर बन्न नगएका होइनन्, गएकै हुन तर फालिए ।
लाहुरे बन्ने उनको सपना थिएन । गाउँकै साथीभाईहरु लाहुरेको तयारी गरिरहेको भएर लाहुरे देखाउने उमेर पुग्ने वित्तिकै उनी पनि पोखरा पुगे भारतीय सेनामा जान भर्तीमा देखिए । सपनाले उनलाई छाडेन् । नेपालको निजामती सेवामा जाने सपना बुनेका जितबहादुर अन्ततः लाहुरेमा हारे तर निजामतीमा जिते ।
‘मेरो हजुरबुबा पनि इन्डियन आर्मीमा हुनुहुन्थ्यो । तर म पहिलो चोटी १८ वर्ष पुगेपछि एक पटक पोखरा गएको थिए । इन्डियन आर्मी हुन् । साउने झरीमा रातभरी भिज्दै लामो लाइन बसेर दिउँसो मात्र भर्ती देखाउने पालो पाएको थिए’ उनी सम्झिन्छन्, ‘गाउँबाट झरेको अब त्यस्तो झरीमा पनि लाइन बसियो, भिजिएको छ दिउँसो १२÷१ बजे बल्ल पालो आयो त्यसपछि देखाउँदा पुरा गर्न खासै सकिएन । पाँच मिनेट ४० सेकेन्डमा पाँच राउन्ड (२ कि.मि.) पुरा गर्नु पर्ने थियो सकिएन । त्यतिबेला लाग्यो, अहो ! यस्तो दुःख गर्न भन्दा त पढेपछि केहि हुन्छ होला ।’
अस्थायी शिक्षकबाट सुरु भएको उनको सरकारी जागिरे जीवन अहिले अधिकृत स्तरमा पुगेको छ । २०७० जेठमा उनी पहिलो पटक निम्न माध्यामिक तहको अस्थायी गणित शिक्षक भए । १९ वर्षको उमेरमा शिक्षक बनेका जितबहादुर २०७१ भदौमा प्रा.वि.तहको स्थायी शिक्षक बने तर त्यो समय लामो रहेन । चार महिनामात्रै स्थायी शिक्षकको रुपमा रहे । सोही वर्षको मंसिरमा नायब सुब्बा (लेखापाल) मा नाम निकाले । २०७१ देखि २०७८ माघसम्म उनी सोही पदमा विभिन्न जिल्लाहरुमा रही कार्य गरे ।
सोही बिचमा २०७६ मा स्थानीय तहको अधिकृत छैठौँ तहमा सिफारिस भएता पनी कर्मचारी समायोजन ऐन, २०७५ मा भएको अस्पष्ट व्यवस्थाका कारण सिफारिस भएको स्थानमा गएनन् । २०७८ माघमा संघीय लोक सेवा आयोगको २०७६/०७७ को विज्ञापनमा शाखा अधिकृत बन्न सफल भए । अब भने उनको रातो कलमले हस्ताक्षर धस्काउने जुन सपना थियो त्यो पुरा भयो ।
पहिलो पटक कार्यालय प्रमुखको रुपमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १३ महिना विताए । हाल आफ्नै गृहजिल्ला तनहुँको म्याग्दे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् उनी । भन्छन्, ‘मलाई स्कुले जीवनकालमा गाउँमा निजामती कर्मचारीहरु निजामती पोशाकमा देख्दा निकै रमाइलो लाग्थ्यो र सो क्षेत्रमा जान उत्सुकता पलाउथ्यो । त्यही पोशाकले म निजामती सेवामा ‘मोटिभेट’ भएको हुँ । सानोमै म पनि यस्तो हुन्छु भन्ने भएको हो ।’
उनको सपनाको पछाडी स्याङजा जिल्ला पनि जोडिन पुगेको छ । ०६८ सालमा गाउँकै विद्यालयमा दश जोड २ सकेर स्नातक पढ्न पोखरा झरेका उनको डेरामै जोडिएको अर्को कोठामा स्याङजाका केही युवाहरु थिए जो लोकसेवाको तयारीमा थिए । तिनै विद्यार्थीको लोकसेवा पुस्तक पढ्दै अघि बढ्दै जान थाले । ‘स्याङजाका दाईहरु छेउको कोठामा बस्नु हुन्थ्यो । उहाँहरुको कोठामा लोकसेवाका पुस्तक धेरै थिए । त्यही पुस्तक हेर्न थाले ।’
उनले यो बीचमा निजामती सेवामा प्रवेश गर्न धेरैपटक प्रयास पनि गरे । आर्मीमा जस्तो एकै पटकमा हार खाएनन् । निजामतीमा पटक पटक हार खाएर पनि उठे, दौडिए । आफुलाई लोकसेवाको पुस्तकमा डुबाए । ०६८ मै १२ पास गरेपश्चात खरिदार र नासु दुवैमा आवेदन दिएका थिए तर नाम निस्किएन । त्यसपछि उनले ०६९ मा पुनः परीक्षा दिए अब भने नासुमा नाम निस्कियो । तीन वटा कोटाबाट भर्दा उनको ६ जनाभित्र लिखित परीक्षामा नाम निस्कियो तर सो पटक अन्तिम नतिजामा वैकल्पिकमा सिमित हुँदा ०७० मा पुनः परीक्षा दिए । त्यतिबेला उनी प्राविको स्थायी शिक्षक समेत भइसकेका थिए । ०७० को नतिजा ०७१ मा आयो । उनको नाम पनि आयो ।
तेस्रो पटकमा नासुमा नाम निकाल्न सफल भएका जितबहादुर लोकसेवा एक दुई महिना मात्रै पढेर नहुने बताउँछन् । निजामती कर्मचारी बन्नका लागि संघर्ष, धैर्यता र लगनशीलता चाहिने उनी सुनाउँछन् । ‘लोकसेवामा प्रवेश गर्न चाहने जोसुकैले निरन्तरता दिन सक्नुपर्छ । जसरी एउटा विरुवालाई हुर्काउन पटक पटक मलजल गर्नु पर्छ यो पनि त्यस्तै हो । एकै पटकमा कटाउने कमै मात्रामा हुन्छन् तीन चार पटक त लाग्छ नै ।’
संयुक्त परिवारमा रहेका रानाको परिवारको नियमित आम्दानीको स्रोत थिएन् । किसान परिवारका उनीहरु गाउँठाउँमा जसोतसो चलिरहेकै थिए । पैसाको अभाव भएपनि उनले आफ्नो अध्ययनलाई छाडेनन् । उल्टै घरबाट अध्ययन गर्नको लागि पैसा पर्याप्त रुपमा नपाएता पनि आफ्नै बलबुतामा पढ्न झरेर निजामती समेत भए । उनी सम्झन्छन्, ‘बिहान बेलुका ट्युसन पढाएर खर्चको जोहो गरियो ।’ यस सम्बन्धमा उनी आफ्ना बाबाआमा र ३ जना दाइहरुलाई सम्झन्छन् । अहिले उनको जिम्मेवारी बढेको छ । नीति नियम बनाउने तहमा रहेका उनी नेपालमा अझै कानुनहरुको अभाव भएको महसुस गर्छन् । स्थानीय तहमा कर्मचारी व्यवस्थापन लगायत स्रोत र साधनको प्रयोगमा निकै समस्या छ ।
जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय तहको प्रशासनिक पाटोको नेतृत्व गरिरहँदा विभिन्न किसिमका चुनौती एवम् अवसरहरुलाई एउटा अवसरको रुपमा लिदैँ आफू कार्यरत स्थानीय तहको समग्र विकासमा महत्वपूर्ण योगदान दिने उनको लक्ष्य र चाहना दुवै छ ।
सेवा लिन आएका सेवाग्राही खुशी हुदाँ नै उनी मुस्कुराउछन । नागरिकको सेवामा नै आनन्द आउने र पेशामार्फत सेवा दिन पाउँनुलाई नै सौभाग्य ठान्दछन ।





