शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विभेद विरुद्ध संघर्ष गरेका आमाहरुको कथा

विभेद विरुद्ध संघर्ष गरेका आमाहरुको कथा

देशको शासकीय व्यवस्थामा परिवर्तन आए पनि एकल महिलाले भोग्नुपर्ने सास्ती र हेलाहोँचोको पहाड अहिले पनि अग्लिरहेको छ ।


  • रिना थापा
  • भाद्र ११ २०८०, सोमबार

घरमा केटा माग्न गएपछि बेलमायाका परिवारले राजीखुसी थमाइदिए हात । उमेर पुगेकै थिएन । विहे भएर घर पुग्दा पो थाहा पाइन् – कान्छी बनाएर भित्र्याएका रहेछन् । विहे गरेर घर गएकाले समाजको डर, फर्किने बाटो बन्द ।

तीनवटा सन्तानकी आमा बनिन् उनी । सबै छोरी । तर, छोरा नजन्माएको अपजस । ‘छोरा जन्माउन नसक्नेलाई कसले माया गर्छ ?,’ श्रीमान् त्यसै भन्थे । जेठी श्रीमतीतिर छोरा थिए । त्यसैले उनीमाथि छोरा पाउन दबाब । ‘उतापट्टि बुढी पनि छिन् । छोरा पनि छन् । भित्रभित्र दबाब हुन्थ्यो छोरा पाउन । छोरीछोरी पाउनेलाई किन माया गर्ने भन्नुहुन्थ्यो,’ उनको स्वरमा गला भरियो ।

मिजुरे कास्कीकी हुन्–बेलमाया विक । गाउँमा खेतीकिसानी र मेलापातकै भर । आम्दानीको अरु स्रोत नाइँ । श्रीमान् हुँदा पनि घर व्यवहारको जिम्मा उनकै काँधमा । सहारा बनेनन् श्रीमान्, सन्तान हुर्काउँदा पनि ।

तीन सन्तानलाई आफ्नै दुःखले हुर्काइन् । पढाइन् । जेठीको विहे भइसक्यो । माइली र कान्छीलाई पढाइ खर्च जुटाउन काममै भौतारिरहन्छिन्, अहिले पनि । उनीसँग पीडाको श्रृङ्लावद्ध घटना छन् र थोरै आशाका पनि ।
कामका लागि भारत पुगेका उनका श्रीमान् एकाएक घर फर्किए । फर्किँदा बिरामीले गलेका थिए । उनको रोग सुन्दा बेलमाया झसङ्ग बनिन् । तर बिमार श्रीमानको चुपचाप ख्याल राखिन् । श्रीमानले उनीसँग आफ्नो रोगबारे लुकाएका थिएनन् । तर, बेलमायाले चाहिँ अरुलाई भनिनन् ।

एकदिन पानी लगाउन खेतमा पुगेका उनका श्रीमान् त्यहीँ लडे । मणिपाल अस्पताल पु¥याएपछि सबैलाई थाहा पाए विरामीको कारण – एचआईभी संक्रमण । त्यसको महिना दिनमै उनका श्रीमान् बिते । यो तिन वर्ष अगाडिको कुरा हो । सँगै हुँदा सहारा बनेनन् उनी । मृत्यु हुँदा धेरैको छिछी दुरदुर । श्रीमानको मृत्युले विक्षिप्तमात्र बनाएन, धेरैको नजरमा हेयको पात्र बन्न पुगिन् । त्यसपछि थपियो बेलमायामाथि पीडा र लान्छनाका श्रृङ्खला ।
‘यसलाई पनि एचआईभी छ, श्रीमान् भन्दा अघि मर्छे ।’
‘यसलाई काम दिनुहुन्न अब ।’
गाउँलेहरु यसैयसै भन्थे ।

मेलापात गरेर दैनिकी चलाइरहेकी उनलाई गाउँलेले बोलाउन छाडे । सरसापट बन्द भयो ।
‘पैसा नहुने मसँग । गाउँका दिदीबहिनीले यससँग काम गर्न हुँदैन भन्न थाल्नुभयो । पैसा पनि दिन हुँदैन भन्नु हुन्थ्यो,’ नमीठो सम्झना पोखिन् उनले ।
उनले आफूलाई सद्धे छु भन्ने प्रमाणित नगरी धरै पाइनन् ।

‘ठीकै छ भन्ने ठानेँ । पछि मैले यहीँ गण्डकीमा गएर तीन पटक रिर्पोट लिएर गएँ,’ उनले सुनाइन् ।

उपाय थिएन उनीसँग । सामान्य लेखपढ समेत नभएकी उनलाई रोगबारे सामान्य जानकारी थियो । सर्तकता अपनाएकी थिइन् । त्यसैले ढुक्क थिइन् । तर, समाजले बुझ्दैनथ्यो । आँट गरेर गण्डकी अस्पताल आइन् । एचआइभीको परीक्षण गरिन् । र, देखाइन् गाउँलेलार्इ । तर सहजै मानेनन् देख्नेहरुले । तेस्रो पटक परीक्षण गरेको रिपोर्ट वडा अध्यक्षलाई अगाडि राखेर देखाइन् । अनि मात्र विश्वास गरे गाउँलेले ।

त्यसपछि गाउँमा काम गर्न केही सहज भयो । सधैं पीडित भएर बस्नु भएन लाग्यो । त्यसैले खेती किसानी गरेर परिवार धानिरहेकी छिन् । छोरीलाई पढाउने इच्छा छ उनको । छोरी आर्थिक रुपमा आत्मनिर्भर भएको देख्न चाहन्छिन् । ‘भैँसी पाल्छु । तीनवटा छ । छोरछोरी पढाउन गाह्रो छ । तर, अहिले ठीक छु । पहिलाको दुःख सम्झँदा रुन मन लाग्छ । बच्चाबच्चीलाई पढाउन पाए हुन्छ । कहाँसम्म पढाउन सक्छु खै ? गाउँमा मास्टर बनाउन पाए पनि हुन्थ्यो,’ आशावादी सुनिइन् उनी ।

+++

१७ वर्षको उमेरमा विहे भयो पालुङटार गोरखाकी बिमला परियारको । बिहे गरेर श्रीमानसँगै भारत गइन् उनी पनि । वैवाहिक जीवन खुशीमा बित्दै थियो । भारत गएको केही वर्षपछि काखमा दुईवटा छोरी लिएर श्रीमानसँगै नेपाल फर्किइन् । उनलाई माइतमा छोडेपछि फेरि रोजगारीका लागि श्रीमान् भारत हानिए । त्यसपछि सम्पर्कमा छैनन् उनी । ‘घरायसी झगडा कहिल्यै भएन । शंका गर्ने त्यस्तो केही थिएन । जे भन्यो त्यहीँ मान्ने । भेटघाटमा ल्यायो, म खुशी भएँ बाआमा भेट्न पाइयो भनेर । अनि बसियो । बालबच्चासँग आउँदा बाटोखर्च सकियो । माइतीबाट दिने स्थिति थिएन,’ उनले भनिन् ।

फर्किने बाचा गरेर गएका उनी फर्केनन् ।
‘ठीकै छ यहीँ बस म अलि महिना काम गर्छु खर्चसर्च जुटाएर आएर लिएर जाउँला भनेर गाको जान त । गएपछि सम्पर्क केही भएन,’ उनले भनिन् ।
श्रीमानले छोड्दा काखमा दुई र चार वर्षकी नानी थिए । जन्मेको घर आएर बस्न थालेको चार महिनामा बाबा बिते । आर्थिक स्थिति कमजोर भएका कारण परिवार पाल्ने जिम्मेवारी उनमै आयो । श्रीमान् फर्किएलान् भन्ने आशामा घर सम्हाल्दै बाटो कुरिरहिन् । तर, आएनन् ।

श्रीमानको साथ छुट्दा ज्यान फाल्ने सोचसम्म आयो उनमा । उनै दुई सन्तानको मुहार हेरेर बसिन् उनी । ‘बच्चा हुर्काएँ, बढाएँ, पढाएँ । आमाले बच्चा हेर्दिने । कस्तो अभागी ? कोही नभएको जस्तो हुन्थ्यो । एउटा छोरी माइत आएर बसी भन्ने कुरा हुनी । मर्न पाए जस्तो लाग्ने । फेरि बच्चाबच्ची छोड्न नसकिने,’ गला भारी पार्दै भनिन् ।

ज्यालादारी गरेर छोराछोरी हुर्काएकी छन्, उनले । ठूली छोरीलाई सानै उमेरमा विवाह गराइन् । पढ्नमा अब्बल कान्छी भने इन्जिनियरिङ पढ्दै छिन् अहिले । ‘ज्यालादारी नै गरेँ । अहिलेसम्म पनि त्यही गर्दैछु । घर बनाउने गाउँघरतिर । पैसा पनि त्यति नहुने । ठूली छोरी बिहे गरी । कान्छी इन्जिनियरिङ पढ्दैछे काठमाडौं । ब्याचलर पढ्छे,’ उनले भनिन् ।

ज्यालादारी गरेर छोरीलाई इन्जिनियरिङ पढाउँछु भन्ने सोचेकी थिइनन् उनले । एसएलसीसम्म मात्र पढाउने सोच थियो । तर कान्छीले एसएलसीमा जिल्लामा उत्कृष्ट आइन् । वडाले सम्मान ग¥यो । त्यसरी १२ सम्म पढ्ने बाटो मिलेको थियो उनलाई । ‘छोरीलाई मैलै एसएलसी मात्र पढाउँछ भनेथेँ । फेरि जिल्ला टप गरी । वडाले जिल्ला टप गरेसी पुरस्कार दिँदो रै’छ । यताउति गरेर ११÷१२ बस्न खान पढ्न सबै निःशुल्क भयो,’ उनले भनिन् ।

१० कक्षासम्म पढाउने सोच उनको । आफ्नै मिहिनेतले १२ सम्म पढ्नी । त्यसपछिको पढाईमा पनि बिमलाको ध्यान थिएनन् । तर, छोरीले काठमाडौंको एक इन्जिनियरिङ क्याम्पसमा नाम निकालिन् ।

‘११÷१२ पढी । फेरि राम्रै नम्बर आयो । पढाउन होस्टल खर्च यताउता गाह्रो भ’छ । स्कुलमा पढ्न सामग्री के–के गरेर १५ हजार महिनामा पठाउन पर्छ’, उनले दुखेसो पोखिन्, ‘काम गरेर दिनको ७ सय दिन्छन् । नभए ६ सय दिन्छ । महिनाभरि पनि हुँदैन । दुई ठाउँमा भान्छा भएर धेरै गाह्रो छ ।’

+++

संकटकालमा श्रीमान् गुमाइन् गोरखाकी लक्ष्मी कँडेलले । काखमा एउटा छोरी र दुईवटा छोरा छोडेर बिदा भए श्रीमान् । आय थोरै भए पनि श्रीमान् काठमाडौंमा जागिरे थिए । गाउँमा तीन सन्तान लिएर आरामसँगै बसेकी थिइन् उनी । तर, अप्रत्याशित घटनाले उनको संसारमा आँधी चल्यो । त्यसले उनको सपना भत्काएर गयो । भत्किएका सपनासँगै हार नमानेकी होइनन् लक्ष्मीले ।

काखमा भएका तीन सन्तानको मायाले जित्यो । वियोगको घाउमा मलम लगाउन समय पनि पाइनन् उनले । ‘यी मेरा छोरछोरी अब क्यार्ने ?,’ यही चिन्ताले खेद्यो उनलाई । सन्तानको चिन्ता बाहेक अन्य समस्यासँग पनि जुध्न बाँकी नै थियो । श्रीमान् नभएपछि समाजमा विभेद भोग्न बाध्य भइन् । ‘श्रीमान् हुँदा कसैले केही भन्दैनथे । बुढाले कमाएछ, छोरछोरी पालेछ, बसेछ । बितेपछि यो आइमाई छोडेर जान्छे, ३० वर्ष पुगिछैन भन्ने । यस्सो कतै गयो, कोही साइत पारेर निस्केछ भने ‘ए साइत पर्दैन विधुवा आइमाई देखियो’ भन्ने । यस्तो चित्त दुख्थ्यो,’ उनले भनिन् ।

समाजको सोचसँग लडेर अघि बढिन् लक्ष्मी । उनलाई साथ दिए जन्म घरकाले पनि । ‘चारतिरबाट नराम्रो भन्थे । तर मेरो माइतीले साथ दिनुहुन्थ्यो न डगमगा है भनेर । अंश दिनुभयो माइतीले। मैले मेरो छोरीलाई पनि अंश दिएको छु। माइतीले गर्दा पनि आँट आयो,’ उनले सुनाइन् ।

मेलापात गरेर सन्तान हुर्काएकी उनलाई कति रात भोकै बस्नुप¥यो । उनको दुःखमा सन्तानले साथ दिए । तीन वटैलाई उच्च शिक्षा दिलाउने बाटोमा हिँडाइन् । छात्रवृत्तिमा पढ्न सके उनीहरु पनि । अहिले उनको समय फिरेको छ । दुःख गरेर हुर्काएका सन्तान बुझ्ने भएका छन् । तर पनि कहिलेकाहीँ श्रीमान नभएकै कारण समाजले नराम्रो व्यवहार गर्छ उनलाई । आजकल त छोराछोरीले आमाको साथ दिने भएका छन् । त्यसैले समाजले नलगा भनेको रातो चुरा लगाएर हिँड्छिन् उनी ।

‘मैले रातो कपडा लगाउँदा यसलाई वैश आयो भने कतिले । पछि मेरो छोराले दशैंको टीकाको दिनमा चुरा लगाउनुस् चुरा नलगाई म त टिका लगाउन्न भनेर उठेर हिँड्यो । अहिले म चुरा पोते लगाउँछु । सिर्फ एउटा सिन्दुर लगाउँदिन,’ उनले भनिन् ।

+++

जीवनभर साथ दिन्छु भन्नेहरु नै दोबाटोमा अलग्गिएपछि खाएको हण्डर र संघर्षका केही उदाहरण हुन् यी कथा । सामाजिक संरचनाका कारण आर्थिक रुपमा सवल बन्न नसकिरहेका महिलाको ठक्करको कथा धेरै छन् । यिनीहरुले केहीलाई प्रतिनिधित्व गर्छन् ।

प्रतिनिधित्व गर्न नसकेका कैयन कथा लेखिएका छैनन् । आफ्नो अस्तित्व रक्षाका लागि आत्मनिर्भर बनेर समाजसँग लडिरहेका यिनीहरु चाहिँ आशापूर्ण जीवनका प्रतिनिधि पात्र मात्रै हुन् । देशको शासकीय व्यवस्थामा परिवर्तन आए पनि एकल महिलाले भोग्नुपर्ने सास्ती र हेलाहोँचोको पहाड अहिले पनि अग्लिरहेको छ ।

जे होस्, बेलमाया, लक्ष्मी र बिमलाको आँटले समाजमा कही न कही त प्रभाव छोडेको छ । कसैले उनीहरुको कथा सुने भने संघर्ष गर्ने पक्कै हार्ने छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->