बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलसँग नगरपालिकाको कार्य सम्पादन र समसामयिक विषयबारे ढोरपाटन दैनिकले गरेको कुराकानीको सम्पादित अंशः
‘गृह मन्त्रालयको परिपत्र समेत हेर्न नसकिने कर्मचारीबाट अब काम गर्न सकिँदैन । जबसम्म भुत्तिएका जनशक्ति हटाएर नयाँ सक्षम जनशक्ति भित्राउन सक्दैनौं तबसम्म हाम्रा संरचना पनि जड अवस्थामै रहन्छन् ।’
एउटा प्रमुख प्रशासकीय अधिकृतको नाताले बागलुङ नगरको समृद्धि कसरी हुने देख्नुहुन्छ ?
–समृद्ध र सुखी बागलुङ नगरका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा सुधार गर्नुपर्ने बाध्यता छ । नगरको शिक्षा गुणस्तरयुक्त हुनुपर्छ । त्यसका लागि केही काम भएका छन्, तर धेरै काम बाँकी छन् । सुत्केरी सट्टा शिक्षक राख्ने काम नगरपालिकाले थालिसकेको छ । स्वास्थ्य क्षेत्रको सुधारमा पनि काम थालिएको छ । पेपरलेस स्वास्थ्य चौकी निर्माण, ल्याबसहित दक्ष जनशक्तिको व्यवस्थापन गर्दैछौं । तर, दरबन्दी र पर्याप्त जनशक्ति छैनन् । खानेपानीमा सुधार गर्न खोज्दैछौं, तर केही प्राविधिक समस्या अझै बाँकी छ । त्यसपछि हामीले पूर्वाधारमा लगानी बढाउनुपर्ने भएको छ । बागलुङ नगरपालिका पूर्वाधारमा धेरैपछाडि छ । हामी वर्षभरि दजर्नौ सडक मर्मतमै अलमलिएका छौं । धेरै श्रोत साधन खर्च सडकको मर्मतमा लगाउनु पर्दा हामीले आर्थिक विकासका काममा लाग्न सकेका छैनौं ।
समृद्ध नगरका लागि सुशासन महत्वपूर्ण काम हो । सुशासन भनेको आजको भोलि देखिने होइन, क्रमशः गरिने हो । आन्तरिक आय बढाउने र नगरका न्यूनतम आवश्यकता पूरा गर्न सकियो भने मात्र हामीले समृद्ध नगरको पाइलामा अगाडि बढाउन सकिन्छ । कालीगण्डकी नदी आन्तरिक आयको प्रमुख स्रोत हो तर प्राविधिक कारणले आयमा बदल्न सकेका छैनौं । जबसम्म हामी केन्द्र सरकारमा निर्भर रहन्छौ तबसम्म समृद्ध नगरको परिकल्पना पूरा हुन सक्दैन । यद्यपि हामीले निरन्तर प्रयास भने गरिरहेका छौं ।
जनप्रतिनिधि र कर्मचारी बीचको ‘केमेस्ट्री’ नमिल्दा विकासमा बाधा पुगेको भन्दा हुन्छ ?
– सैद्धान्तिक रुपमा यो भनाइमा सत्यता छ । तर, बागलुङ नगरपालिकाको हकमा आजको दिनमा यो सिद्धान्त मिल्दैन । हामी सबै मिलेर काम गरिरहेका छौं । कतिपय पालिकामा यो अवस्था देखिन्छ । बरु कर्मचारीको ऐन छैन । संघीय सरकारले नै निजामति ऐन ल्याउन नसक्दा हामी अलपत्र परिरहेका छौं । जसका कारण दशथरि कर्मचारी दशतिर फर्केका छन् । उनीहरुलाई सामन्जस्यता मिलाएर काम गर्नुपनि चुनौतीको विषय हो । कर्मचारीको प्रमुखको नाताले मैले मिलाउने कामबाहेक नगर प्रमुखसहितका जनप्रतिनिधिले पनि कर्मचारीलाई साथैमा राखेर स्प्रिड मिलाउने काम भइरहेको छ । पछिल्लो समय नगरभित्र देखिएका केही सुधारका संकेत पनि त्यसको उदाहरण हो । यो समन्वय निरन्तर रहेमा असल र समृद्ध नगर बनाउन सकिन्छ ।
जनप्रतिनिधि र कर्मचारीमात्रै होइन, नगरका जनता र निजी क्षेत्रसँग पनि त सहकार्य चाहिएला नि ?
–हामी अहिले उदार अर्थतन्त्रको अवस्थामा छौं । राष्ट्रिय रुपमा पनि हामी निजी क्षेत्र, आम नागरिक र राज्यका निकाय बीचको सहकार्यमा विश्वास गर्छौ । सरकार समन्वयात्मक हो । काम गर्ने आमनागरिक हुन् । लगानी गर्ने निजी क्षेत्र हो । निजी क्षेत्र सशक्त भएर आउनु पर्छ । लक्ष्य र फाइदा मात्र हैन निजी क्षेत्रले सेवाको क्षेत्र पनि हेर्नुपर्छ । आपसी परिपुरक भएर काम गर्न सकियो भने समृद्ध नगर बनाउने अभियानमा हामी सफल बन्छौं । नीतिगत रुपमा हामीले निजी क्षेत्रका सहकार्यमा काम गर्ने भनेका छौं । व्यवहारिक रुपमा पनि निजी क्षेत्रले हामीलाई साथ दिएकै छ । उद्यमशीलताका कार्यक्रममा त झन् निजी क्षेत्रको साझेदारी चाहिन्छ । सुरक्षित व्यवसायका लागि स्थानीय सरकारले वातावरण बनाउने हो । शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक काममा निजी क्षेत्रले साथ दिन सक्छ । कृषि, पशुपालन, खानेपानी, जलवायु परिवर्तन, वन र वातावरण तथा वस्तु विनिमय र बजार बिस्तारमा निजी क्षेत्र अपरिहार्य छ । हामीले निजी क्षेत्रको सहकार्यका लागि केही कार्यविधि बनाइरहेका छौं । केही समयमै यो कार्यविधि पास गरेर जाने तयारीमा छौं । जसले समृद्ध नगरको अभियानमा इँटा थप्ने छ ।.
नगरको समृद्धिको अभियानबारे धेरै बोलियो तर खै त दीगो योजना ?
–हो अहिलेसम्म वार्षिक नीति कार्यक्रम र बजेटबाट मात्र समृद्धिको नारा लगाइएकै हो । तर अब हामीले आवधिक योजनाको ड्राफ्ट बनाइरहेका छौं । यो निश्चित भिजन र मिसनका साथ आउनेवाला छ । काम गर्छौ तर कुन गुणस्तरको हुने ? काम थाल्छौं कहिलेसम्म सक्ने ? कुन स्थानमा पुग्ने ? हामीले ५ वर्षपछि कस्तो नगर बनाउँछौं ? दश वर्ष र २० वर्षको परिकल्पना के हो भन्ने भिजनसहितको आवधिक योजना बनाइरहेका छौं । दशैंअघि योजना सार्वजनिक हुन्छ । त्यसपछि लगानीका श्रोत खोजीका लागि पनि राज्यका निकाय, निजीक्षेत्र र आम नागरिकको सहकार्य समेत कसरी गर्ने भन्ने यकिन हुन्छ ।
आफ्नै एकवर्षे कार्यक्रम लागू गर्न नसकिरहेको अवस्थामा २० वर्षे परिकल्पना त झन् टाढा भएन र ?
– जबसम्म कर्मचारी खर्च, केही मुख्य विकासजस्ता काममा आन्तरिक आयले पुग्दैन तबसम्म कागजमा लेखिएका कार्यक्रम लागू हुँदैनन् । भएका कैयौ संरचना समेत दक्ष जनशक्ति नभएर उपयोगविहीनन भएका छन् । कृषि शाखा छ, २ जना कर्मचारीले १४ वटा वडाको काम कसरी गर्ने ? जटिल रोग लाग्यो भने स्वास्थ्य शाखाले मात्र कसरी काम गर्ने ? त्यसका लागि हाम्रो आन्तरिक आय बढाउनु पर्छ । वडामा सेवा दिने भनेका छौं, तर दक्ष जनशक्ति अभावले रोकिएका छन् । गृह मन्त्रालयको परिपत्र समेत हेर्न नसकिने कर्मचारीबाट अब काम गर्न सकिँदैन । त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्नुपर्ने छ । तर, संख्याको सिलिङले हामीलाई अप्ठ्यारो पारेको छ । जबसम्म भुत्तिएका जनशक्ति हटाएर नयाँ सक्षम जनशक्ति भित्राउन सक्दैनौं तबसम्म हाम्रा संरचना पनि जड अवस्थामै रहन्छन् । तर हामीले केही समयमै सुन्दर नगर बनाउन सक्छौं ।
स्थानीय सरकारको रुपमा नगरपालिकाहरु संचालन हुनुपर्नेमा पारदर्शिता बाधक छ नि ?
–नेपालका सबै ऐन कानूनले पारदर्शीतालाई अंगालेको छ । नगरपालिकाले पनि पारदर्शीतालाई अंगिकार गरेको छ । नगरको आफ्नै बेवसाइट छ । नियमित अपडेट हुन्छ । कार्यपालिकाका निर्णय सार्वजनिक हुन्छन् । नियमित प्रतिवेदन लेखन र रिर्पोटिङ पनि गरिरहेका छौं । नेतृत्व पनि पारदर्शी नगरपालिका बन्नुपर्छ भन्नेमा सचेत छ । त्यसैले गोप्य राख्नुपर्ने केही छैन । केवल हामीले त्यसको सदुपयोग गर्न नसकेको हुन सक्छ । तर पनि आम संचारका क्षेत्रको सदुपयोग गरेर अझै पारदर्शी बन्ने प्रयासमा छौं । जनताको कामलाई गोपनीयता राख्न खोजियो भने आफंै अप्ठ्यारोमा पर्छौ ।
प्रमुख प्रशासकीय अधिकृतको नाताले तपाईंले गर्नुभएका केही नविनतम् काम के हुन् ?
–बागलुङ नगरपालिकालाई व्यवस्थित बनाउने हाम्रो अभियान छ । यो अभियानमा मापदण्डविपरीतका संरचना भत्काउने काम मात्र हैन, बजारमा सिसिटिभी जडानको काम सुरु भएको छ । यो अभियान छिटै पूरा हुनेछ । बागलुङ उद्योग वाणिज्य संघसहित निजी क्षेत्रको सहकार्यमा काम गरिरहेका छौं । यो अभियानले नगरबासी र उद्यमीको सुरक्षा गर्ने छ । स्वच्छ नगर बनाउने अभियानपनि हाम्रो हो । त्यसका लागि रहेक व्यवसायको मूल्यदेखि उपभोक्ताको हितमा सामान बिक्री हुनुपर्छ भन्ने मान्यता पनि हो । धेरै समस्या समाधान सहकार्यबाट गरौं सम्भव छ भन्ने मान्यताले काम थालेका हौं । नगरपालिका भौतिक धरातलले संवेदनशील छ । विपत्ति बाजा बजाएर आउँदैन । त्यसैले व्यवस्थित योजना बनाएर काम गर्नुपर्छ भन्ने मान्यता हो । धेरै आवश्यकता छन्, तत्काल पूरा हुँदैनन्, तर निरन्तर काम गर्नुपर्छ भनेर साझेदारीले धेरै समस्या समाधान हुन्छन् । नगरमा नयाँ कामभन्दा हरेक कामलाई नयाँ सोचले गर्दा सफलता मिल्छ भन्ने हो ।





