बागलुङ, १७ भदौ– नेपाली कांग्रेस बागलुङ क्षेत्र नंं १ को क्षेत्रीय सम्मेलन भदौ १९ गते मंगलबार हुने भएको छ । देशव्यापी जागरण तथा भेला लगायतको कार्यक्रममार्फत कार्यकर्ता सम्मेलन गर्दै आएको कांग्रेसले यसअघि वडा र पालिका तहको भेला सम्पन्न गरिसकेको छ ।
आइतबार क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा सहितका नेताले पत्रकार सम्मेलन गरेर क्षेत्रीय सम्मेलनबारे जानकारी दिएका थिए । केन्द्रीय महामन्त्री गगनकुमार थापाको उपस्थितिमा सम्मेलन गर्न सबै वडाका क्षेत्रीय प्रतिनिधिलाई खबर पठाइसकेको शर्माले जानकारी गराए । क्षेत्रीय प्रतिनिधि ९ सय र अन्य नेता तथा कार्यकर्ता गरी १ हजार बढीले सम्मेलनमा भाग लिनेछन् ।
सम्मेलनमा ५ लाख खर्च हुने अनुमान गरिएको शर्माले जानकारी गराएका छन् । सम्मेलनलाई परम्पराबादी हुन नदिने भन्दै शर्माले आम कार्यकर्तालाई स्वरोजगार बनाउने, विकासमा लगाउने तथा पार्टी अभियानलाई जीवन्त बनाउने लगायतका एजेण्डामा छलफल हुने शर्माले जानकारी गराएका छन् ।
‘अब पहिलाझैं पार्टी चल्दैन, कार्यकर्ताहरुले काम पाउनु पर्छ’ शर्माले भने, ‘कामसँगै रोजीरोटीको व्यवस्थापन भयो भने मात्र कार्यकर्ताले काम गर्छन् ।’ उनले क्षेत्रीय सम्मेलनपछि प्रदेश १ र २ को पनि सम्मेलन गरिने बताए ।
भदौं अन्तिम साता सम्ममा क्षेत्र नं. २ लेपनि क्षेत्रीय सम्मेलनको तयारी गरेको सभापति जोकलाल बुढाले बताए । प्रदेशको सम्मेलनपछि क्षेत्रको सम्मेलन हुने उनको भनाइ छ । आगामी असोज ६ गते जिल्ला सम्मेलन गर्ने तयारी गरेको कांग्रेसले त्यसअघि तल्ला तहका सम्मेलन सक्नेछ ।
जिल्ला सम्मेलनका लागि जिल्ला समितिले तयारी समेत थालिसकेको पार्टी सचिव हरिहर शर्माले जानकारी दिए । पत्रकार सम्मेलन क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको अध्यक्षता र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।





