शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवराज प्यानलको विजयभित्र लुकेको कथा

नवराज प्यानलको विजयभित्र लुकेको कथा


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८०, शनिबार

एमालेका ८९६ जना प्रतिनिधिले उम्मेदवारको क्षमता र कार्यदक्षताप्रति प्रश्नै गरेनन् । सम्भावनायुक्त नेता पृथ्वीसुब्बा गुरुङको नाममा मत जाहेर गरे ।

पोखरा/ नेकपा एमालेका उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशकै सम्भावनायुक्त नेता हुन् । गण्डकीको मुख्यमन्त्री हुँदा सुरु गरेका योजनाहरुकै कारण पनि उनी लोकप्रिय छन् । गण्डकीमा विपक्षीहरु पनि ‘पिएस’जस्तो मुख्यमन्त्री नपाएको स्वीकार्छन् । यही प्रदेशबाट माथिल्लो पदमा जाने सम्भावना बोकेका नेतालक्षित गुटबन्दीलाई एमालेमात्र हैन अरु दलका नेताहरुले पनि स्वभाविक मानेनन् । अहिलेको समाज बजार हल्लामा विश्वास गर्छ । त्यो बजार हल्ला यति शक्तिशाली बनिदियो कि, उम्मेदवारको क्षमतातिर प्रतिनिधिले आँखै लगाएनन्, पृथ्वीसुब्बाको नाममा मत जाहेर गरे ।

एमाले गण्डकीको प्रथम अधिवेशनको लागि प्रतिनिधि छनोट प्रक्रिया चल्दै थियो । अध्यक्ष केपी शर्मा ओली ‘सहमति’ कै रटानमा थिए । सर्वशक्तिमान अध्यक्षको बोलीमा ‘लोली’ मिलाउनु नेताहरुको बाध्यता थियो । जब लुम्बिनी र बागमतीमा सहमतिको मन्त्र काम लागेन, अध्यक्ष ओलीको जस्तै नेताहरुले ‘सकेसम्म सहमति नभए ‘स्वस्थ प्रतिस्पर्धा’ शब्दावली चलाउन थाले । भित्रभित्रै प्रतिस्पर्धाको लागि तयारी थाले ।

पालिका तहमा आकांक्षीको लर्को थियो तर सहमतिको मन्त्रले काम ग¥यो । घच्चाघच्ची र आरोप–प्रत्यारोप स्वभाविक थियो तर सवैजसो पालिकाले सहमतिमै प्रतिनिधि पठाए । अनौठो त के भयो भने- कास्कीका सर्वशक्तिमान नेता तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीकै पालिका रुपामा सहमति जुटेन । ४ जना प्रतिनिधिको लागि गरिएका सहमतिका प्रयासहरु विफल बनेपछि ‘स्वस्थ प्रतिस्पर्धा (?) को बाटो रोजियो । रुपाकोट डाँडामा होटल खोलेर वाहवाही बटुलेका पुप्प अधिकारीको प्रतिनिधि बन्ने आकांक्षा तुहियो । खगराजले रुचाएका व्यक्तिहरु प्रतिनिधि बने । यहाँसम्म ठीकै थियो । प्रदेश अध्यक्ष र पदाधिकारीको आकांक्षीहरु धेरै नै थिए । कतिसम्म भने केन्द्रीय सदस्यहरु कृष्ण थापा, मायानाथ अधिकारी, रामशरण बस्नेत र राजीव पहारी पनि प्रतिनिधि बनेर प्रदेशमा झरेका थिए ।

चुनाव नजिकिँदै गर्दा एमाले गण्डकीका स्थायी प्रतिस्पर्धी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारीले सार्वजनिक रुपले नै आफू अनुकूलको नेतृत्वको चाहना राखे । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा आयोजक कमिटीका अध्यक्ष नवराज शर्मा र सचिव धनञ्जय दवाडीको पक्षमा देखिए भने निवर्तमान मुख्यमन्त्री खगराज केन्द्रीय सदस्य मायानाथ अधिकारी र सचिवमा कास्कीकै युवा नेता रश्मि आचार्यतर्फ झुके । खगराज समूहले रश्मिलाई सचिव स्वीकार्नुमा चाहिँ महासचिव शंकर पोखरेल र सचिव पद्मा अर्यालको हात थियो । गृहप्रदेश लुम्बिनीमा आफू अनुकूलको नेतृत्व नआएपछि महासचिव पोखरेलको ध्यान पनि गण्डकी तिरै थियो । उनी पृथ्वीसुब्बाको ‘तेजोवध’ गर्नमात्र हैन कि आउँदो महाधिवेशनलाई लक्षित गर्दै गण्डकीबाट शक्ति आर्जन गर्न चाहन्थे । सचिव पद्मामा पनि पछिल्लो समय जिल्लातहमै शक्तिकेन्द्र बन्ने चाहना मुखरित हुँदै आएको थियो । पृथ्वीसुब्बा समूहबाट सचिवमा टिकट नपाउने निश्चित भएपछि रश्मि नयाँ शक्तिकेद्रको निकट पुगेका थिए ।

महासचिव पोखरेलको आडभरोसा पाएका खगराजले यही उपक्रममा हिजो पृथ्वीसुब्बाको क्याम्पमा रहेकाहरुलाई आफूतिर ताने । पृथ्वीसुब्बाकै गृहजिल्लाका मायानाथलाई अध्यक्ष बनाउने अभियान चलाए । त्यसमा सचिव पद्माको साथ रह्यो । त्यहाँसम्म सो समूह बलियो नै थियो । पालिकाबाट सहमतिमै प्रतिनिधि चुनिएका, केन्द्रीय सदस्यहरुको एउटा टोली नै आफ्नो पक्षमा आएकाले ‘तटस्थ’ हरुको निर्णायक मत पाउने सो समूहको अपेक्षा थियो । महासचिव शंकरले पनि ध्रुवीकरणमा सघाएकै थिए । प्रतिनिधि छनोट र उम्मेदवार हेर्दा आशा मार्नुपर्ने ठाउँ थिएन । तर प्रदेशका प्राय सवै जिल्ला अध्यक्ष खगराजको सिमित घेराविचको संकीर्ण गुटवन्दीको विरुद्धमा रहेकोमा बालमत्लव गरेनन् ।

अधिवेशनको उद्घाटन भयो । अधिवेशनको उद्घाट्न अध्यक्ष केपी ओलीले नै गर्ने कार्यक्रम थियो । अध्यक्षलाई पनि आफू अनुकूलको नेतृत्व निर्माणमा सहमत गराउने तयारी पनि भयो । तर, अन्तिममा मौसमले साथ दिएन । अध्यक्ष ओली आएनन् । प्रतिस्पर्धा पक्का भयो । हौसिएको सो समूहले पृथ्वीसुब्बा समूहले प्यानल घोषणा नगर्दै आफ्नो प्यानल सार्वंजनिक गरिदियो । मनोनयन अघि नै अध्यक्ष, सचिवसहित उपाध्यक्षमा बाबुराम विश्वकर्मा तथा उपसचिवमा म्याग्दीका सन्तोष रावल र मीना गुरुङको नाम बजारमा आयो । टिम समावेशी थियो । पृथ्वीसुब्बा समूहले एकाएक उम्मेदवारको नामावली परिवर्तन ग¥यो । अध्यक्ष र सचिव त पक्कापक्की नै थिए ।

उपसचिव र उपाध्यक्षमा उम्मेदवार फेरिए, समावेशीसहितको उत्तम टिम बन्यो । चुनाव जित्नको लागि पृथ्वीसुब्बा समूहले केन्द्रीय सदस्यलाई भन्दा जिल्ला अध्यक्षहरुलाई प्राथमिकतामा राख्यो । कतिसम्म भने, गृहजिल्लामै हिजोसम्म पद्मालाई साथ दिने अध्यक्ष पारसलाई आफ्नो विश्वासी टीममा ल्याउन सफल बन्यो । स्याङ्जाकै मोहन रेग्मीलाई उपाध्यक्ष बनाउने निर्णय फेरेर सोही जिल्लाका मीनप्रसाद गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनायो ।

स्याङ्जामा एमाले जोगाउने व्यक्तिको रुपमा चिनिएका नारायण मरासिनी र मालेको राजनीति गरेकी हालकी सचिव पद्माबीच खटपट छ । खगराज र नारायण एउटै समूहका हुन् । पद्माका पछि लाग्नेहरुले खगराजसँगको गठजोड मन पराएनन् । कार्यकर्ता नै नभएपछि पद्मा पछि हटिन् भने महासचिव शंकर पोखरेलेको प्रस्तावमा केन्द्रीय पदाधिकारीको सपना देखेका तर दोधारमा रहेका अर्का नेता किरण गुरुङ पनि हच्किए । पद्माका स्याङ्जा र किरणको तनहुँका प्रतिनिधिहरुको मत आफूतिर आउने खगराजको आंकलन फेल खायो । दुवै नेताको मौनताले पृथ्वीसुब्बा समूहको मनोवल बढ्यो । महासचिव शंकर भनेजस्तो नभएपछि काठमाडौं लागे ।

यता, पृथ्वीसुब्बाले माओवादी केन्द्रबाट आएका, माधव नेपालको साथ छाडेका र जनजाति प्रतिनिधिहरुलाई व्यक्तिगत रुपमै आश्वस्त तुल्याए । उनको यो अभियानलाई पार्टी विभाजन नरोजेका केन्द्रिय सदस्य, बागलुङका निवर्तमान अध्यक्ष इन्द्रलाल सापकोटाले मोर्चासहित सघाए । प्रदेश अध्यक्षमा रुचि नदेखाएका उनले प्रतिनिधिहरुसँग ‘पृथ्वीसुब्बाको मानमर्दन गरिए पार्टीभित्र बोल्न पाइँदैन, दास बन्नुपर्छ’  भन्ने विचार प्रवाहित गरिरहे । दलित समुदायलाई विश्वासमा लिन पूर्वमन्त्री जगत विश्वकर्माले भरमग्दुर प्रयास गरे । दलित पार्टी सदस्य बढी रहेको बागलुङका नेता धनवहादुर परियारको पनि राम्रो साथ रह्यो । यही अभियानको क्रममा हुमबहादुर गुरुङको निम्ति तय गरिएको उपसचिवको उम्मेदवार नै हेरफेर गरी दामबहादुर विश्वकर्मालाई मैदानमा लिएर पदाधिकारीमा ‘समावेशी सुन्दर टीम’ बन्यो ।

सुवास नेम्वाङको निधनपछि पृथ्वीसुब्बा नै एमाले उच्च तहमा रहेका जनजाति नेता हुन् । कुनै समय पहिचानसहितको संघीयताको वकालत गर्ने पृथ्वीसुब्बासँग जनजातिको भरोसा जोडिएको छ । त्यसैले पनि जनजातिको मत उनले भनेतिरै सोझियो ।

अर्को, पृथ्वीसुब्बा स्वभाविक रुपले सम्भावनायुक्त नेता हुन् । गण्डकीको मुख्यमन्त्री हुँदा सुरु गरेका योजनाहरुकै कारण पनि उनी लोकप्रिय छन् । गण्डकीमा विपक्षीहरु पनि ‘पिएस’ जस्तो मुख्यमन्त्री नपाएको स्वीकार्छन् । यही प्रदेशबाट माथिल्लो पदमा जाने सम्भावना बोकेका नेतालक्षित गुटबन्दीलाई एमालेमात्र हैन अरु दलका नेताहरुले पनि स्वभाविक मानेनन् । अहिलेको समाज बजार हल्लामा विश्वास गर्छ । त्यो बजार हल्ला यति शक्तिशाली बनिदियो कि, उम्मेदवारको क्षमतातिर प्रतिनिधिले आँखै लगाएनन्, पृथ्वीसुब्बाको नाममा मत जाहेर गरे ।

बिहीबार मतदान प्रक्रिया सुरु भयो । गुटगत प्रतिस्पर्धा निषेध भनिए पनि दुवै समूहले सदस्यसम्मको प्यालन लिस्ट प्रतिनिधिको हातमा थमाए । उपमहासचि पृथ्वीसुब्बा स्वयं पोखरा सभागृह बाहिरको मोर्चामा देखिए । पालिकागत रुपले नै प्रतिनिधिहरुलाई एक ठाउँमा राखियो । मत चुहिने प्वाल टाल्न लमजुङका संघीय सांसद जविन्द्रमान घलेलगायत संक्रिय देखिए । निर्वाचनमा ९०६ मध्ये ८९६ मत खस्यो । विद्युतीय मेसिनले राति अबेर निर्वाचन कमिटीलाई परिणाम सुम्पँदा १६२ सदस्यीय समितिमा खगराजपक्षीय उम्मेदवारहरु २ हातको औंला बराबर जति पनि विजयी बनेनन् । पृथ्वीसुब्बाले ‘क्लिनस्वीप’ गरिदिए ।

लामो यात्राको तयारीमा पृथ्वीसुब्बा

उपमहासचिव पृथ्वीसुब्बाले शुक्रबार बिहान आयोजित समापन कार्यक्रममा चुनाव भन्नासाथ पार्टी विभाजन हुन्छ र सहमति भन्नासाथ निरंकुशता मौलाउँछ भन्ने मान्यता गलत रहेको सुनाए । यसो भन्नुको पछाडि दुईवटा कारण छन् । एउटा निर्वाचनपछि हुने गुटबन्दी र अर्को आफ्नो सम्भावित लामो यात्रामा आवश्यक पर्ने सहयोग ।

सम्भवतः पृथ्वीसुब्बा एमालेको ११ औं महाधिवेशनमा महासचिवका प्रत्यासी बन्नेछन् । त्यसको छनक त उनले असोज १५ गते नै दिइसकेका छन् । एमाले गण्डकीको अधिवेशन उद्घाटनको क्रममा उनले  ‘आउँदो १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन’ भन्ने उद्घोष गरिदिए र आफू विस्तारै नेतृत्वको लागि तयार हुँदै गरेको सन्देश दिए । उनको अभिव्यक्तिमा केपी ओलीबाहेक अरुको नेतृत्वको चाहनामा चुनौती दिन आफू तत्पर रहेको सन्देश पनि मिसिएको थियो । कम्तिमा प्रतिस्पर्धी शंकर पोखरेलले आफ्नो सन्देश बुझून् भन्ने पृथ्वीसुब्बाको चाहना रहेको छ ।

त्यसो भनिरहँदा, बिज्ञानका पूर्वशिक्षकले अंकगणित नबुझ्ने कुरै भएन । अंकगणित मिलाउने उपक्रममा गण्डकीका नेतालाई सहमतिमा लिनुपर्छ भन्ने उनले बुझेका छन् । मुखिया खलकका पृथ्वीसुब्बा विरोधीहरुलाई सकेसम्म झुकाएर र नसके फकाएर पनि आफू अनुकूल बनाउने हैसियत राख्छन् । लमजुङका मायानाथ अधिकारी, जविन्द्रमान घले र गुमानसिंह अर्याललाई उनले  ‘फकाएरै’ आफू निकट बनाएको एमाले नेताहरु नै बताउँछन् । ‘उनी तथ्यमा टेकेर, समायानुकुल निर्णय गर्छन्, देखेको कुरा बोल्छन्, पार्टी विभाजन ठीक थिएन, अध्यक्ष केपी ओलीबाट पनि गल्ती भएको छ भन्नसक्ने उनीमात्र एक नेता हुन्,’  पार्टीका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा भन्छन्, ‘उहाँसँग एमालेकै लेगेसी जोडिएको छ, पार्टी बिगार्ने काम उहाँबाट हुँदैन भन्ने विश्वास हो ।’

कमजोर छैनन् खगराज

त्यसो त, गण्डकी प्रदेश चुनावमा स्थायी समिति सदस्य खगराज अधिकारीपक्षीय उम्मेदवारले विजय प्राप्त गरेनन् तर उनी कमजोर भने देखिएनन् । अध्यक्षदेखि पदाधिकारीका प्रत्यासीहरुले प्राप्त मतको फरकले पनि उनी साह्रै कमजोर रहेको देखाउँदैन । अध्यक्षका प्रत्यासीबीच १६६ मतको फरक रह्यो । ८९६ जना प्रतिनिधि रहँदाको यो फरक जुनसुकै बेला पनि तलमाथि पर्नसक्छ । चुनावले खगराज पक्षीय तर पार्टी संगठनको लागि आवश्यक थुप्रै युवा र होनाहार कार्यकर्तालाई पदविहीन बनाइदिएको छ ।

उनीहरु निष्कृय हुँदा एमालेले भनेको मिसन ८४ असफल हुने सम्भावना बढेर जान्छ । मिसन ८४ असफलताको दोष पृथ्वीसुब्बा र वर्तमान गण्डकी अध्यक्ष्ँ नवराज शर्माको टाउकोमा आउँछ यो समूहलाई चिढ्याउँदा टाउको जोगाउन र बाँकी यात्रा तय गर्न कठीन हुनेमा पनि द्धिविधा छैन । चुनाव भर्खरै सकिएको छ । पराजयको पीडा नभुलेको खगराज समूहकै विद्यार्थी नेता विश्वदर्शन पराजुलीले सम्भावित खतराको छनक दिँदै सामाजिक सञ्जालमा लेखेकै छन्– ‘हामीले युवा रोजेनौँ, क्षमता हेरेनौँ, योग्यता मनपराएनौं ! भिजन खोजेनौं ! अब आम निर्वाचनमा जनताले सिको गर्दा रोईकराई नगरौँला है त ! त्यति बेला पनि मीठो धुन मिलाएर गीत गाउन पाइयोस् !’

विश्वदर्शनले संकेत गरेको गीतचाहिँ पृथ्वीसुब्बा समूहले विजयलगत्तै मनाएको खुसीसँग जोडिन्छ । सो विजय सभामा समर्थकहरुले पृथ्वीसुब्बालाई पनि ‘बा’ कै दर्जा दिएर गीत गाए । अन्धभक्तहरु मान्छेलाई देवता बनाउँछन्, ‘बा’ भनेर काँध चढाउँछन् । त्यस्तो देखिएकै छ । सवैका लोकप्रिय पृथ्वीसुब्बाले चाहिँ सायद ‘बा’ बन्ने महत्वकांक्षा नपाल्लान् भन्ने विश्वास गर्न सकिन्छ कि !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->