पोखरा / प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगिताको उपाधी लामागाउँले उचालेको छ । एट टु नाइन गाइजको आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रामघाटलाई सडनडेथमा ३-२ गोलले हराउँदै उपाधी चुमेको हो ।
लामागाउँले उपाधीसंगै एक लाख रुपैयाँ हात पार्यो । निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २/२ गोलको बराबरी भए पछि खेलको टुंगो सडनडेथबाट लागेको हो । उपविजेता रामघाटले ६० हजार रुपैयाँ प्राप्त गर्यो ।
लामागाउँका अनुज भण्डारी उच्च गोलकर्ता घोषित भए । उनले कुल चार गोल गरे । लामागाउँकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित भए । उनी फाइनलको म्यानअफदी म्याच समेत घोषित भए । रामघाटका विशन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । फेयर प्ले माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो ।
यस अघि सेमिफाइनल खेलमा लामागाउँले बि-१३ र रामघाटले गन्नी एफसीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो । रग्बी खेलाडी यशोदा बोहोरालाई सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।





