बागलुङ/कांग्रेस कार्यक्रममा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डे र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले संघीयतालाई बलियो बनाउनुपर्ने माग गरे । उनीहरुले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन नसके संघीयता असफल हुने चेतावनी दिए । प्रदेश सरकारमा अधिकार प्रत्योजन नगरे संघियता असफल हुने उनीहरुको भनाइ थियो । आफ्नै नेतृत्वमा ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेसले नै नेतृत्व लिनुपर्ने उनीहरुको जिकिर थियो ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले हातखुट्टा बाँधिएको प्रदेश सरकारलाई अधिकार दिने काममा पार्टीले भूमिका खेल्नुपर्ने बताए । पाण्डेले प्रदेश सरकारहरुले आफ्नो क्षमताको परीक्षा दिन नपाएको गुनासो गरे । ‘मैले परीक्षा त दिन पाउनुप¥यो नि ?’ पाण्डेले भने, ‘परीक्षा नदिइ म पास भएँ कि फेल भए ?’,उनले प्रश्न गरे । प्रदेश सरकारले कम्तिमा प्रहरी ऐन, निजामती ऐन तथा लोकसेवा आयोगजस्ता महत्वपूर्ण क्षेत्रमा कानून बनाएर काम गर्ने वातावरण नदिए संघीयताको मर्म असफल हुने पाण्डेले दाबी गरे ।
पाण्डेले परीक्षा नदिइ, काम गर्न नदिइ प्रदेश सरकार असफल भयो भन्ने भाष्य सिर्जना गरिएको आरोप लगाए । ‘एउटाले लौ संघीयता खत्तम भयो भन्छ, संविधान बनाएका दलका नेता र कार्यकर्ता पनि हो हो भन्छन्,’ पाण्डेले भने, ‘यो के हो ? पार्टीले स्पष्ट धारणा ल्याउनु पर्छ ।’ प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संघीय संसद र पार्टी नेतृत्वबाट उचित भूमिका खेल्न सभापति शेरबहादुर देउवालाइ आग्रह गरे ।
पाण्डेले युवा रोजगार बढाउने, बसाइँसराइ रोक्ने तथा आर्थिक विकासका लागि उचित कार्यक्रम प्रदेश सरकारले ल्याएको बताए । ‘कृषि उत्पादनमा आधारिक अनुदान दिने नीति हामीले ल्याएका छौं, सोहीअनुसार बजेट पनि बनायौं,’ पाण्डेले भने, ‘दोश्रो पञ्चवर्षीय योजना बनाएर रित्ता बस्ती भर्न खोजेका छौं ।’ उनले राजनीतिक फड्को मार्दा नेपालमा आर्थिक क्रान्ति र फड्को मार्न नसकिएको टिप्प्णी गरे ।
कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि संविधानका अधिकार प्रदेश सरकारमा नदिइएको टिप्पणी गरेका थिए । उनले अझैपनि नेपाल संघियताजस्तो नभएको बताए । ‘अभैm प्रदेश सरकार प्रदेश जस्तै भएका छैनन्,’ उनले भने, ‘न्युनतम अधिकार पनि नदिने हो भने संघियता असफल हुन्छ ।’ सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका सिटौला अहिले ओझेलमा छन् । उनले शान्ति प्रक्रियादेखि संविधान निर्माण सम्मको चरणमा जे जस्ता सहमति भए त्यो संघीयताले स्थापित गरेको बताए ।
समानुपातिक, समावेशीजस्ता क्षेत्रमा भने अझै दूरदराजका महिला, दलित, जनजाति, थारु, मुस्लिम र मधेसीले अधिकार नपाएको बताए । ‘जाती, क्षेत्र र लिंगका आधारमा ठालुहरुले अवसर पाएका छन्, त्यो अन्त्य गरौं,’ उनले भने, ‘आम नागरिकको आर्थिक जीवन सुधार्ने प्रयास खोजौं ।’ अन्तराष्ट्रिय राजनीतिले बिग्रेको अर्थतन्त्र सुधार गर्न आत्मनिर्भर कृषि अर्थतन्त्रलाई जोड दिन पनि उनले आग्रह गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, अर्जुन जोशी, किरणराज पौडेल, चम्पा खड्का, कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य सरस्वती तिवारी, पूर्वसभापति गोविन्दप्रसाद शर्मा कंडेल, दिपेन्द्रबहादुर थापा, कांग्रेस नेता जगदिशचन्द्र उपाध्यायले बोलेका थिए । सभापति जितबहादुर शेरचनको सभापतित्व, सचिवहरु हरिहर शर्मा र गण्डकी थापाको संचालन र उपसभापति तारानाथ पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





