नजिकको सरकार स्थानीय तहले जनताका जनजीविकासँग जोडिएर काम गरिरहेका छन् । जनताका हरेक दुःख, सुख स्थानीय तहसँग जोडिन्छन् । विपत् होस वा विकासमा सर्वसाधारणले स्थानीय सरकारको साथ खोजिरहेका छन् । नजिकको सरकार भएकाले स्थानीय तहसँग जनताको अपेक्षा धेरै हुनु स्वभाविक हो । कसरी चलेका छन् स्थानीय तह ? गरेका काम प्रभावकारी छन् त ? के स्थानीय तहले गरेका कामले जनताको सुविधा थप भएको छ ? यी र यस्तै बिषयमा हामिले समय समयमा स्थानीय तहलाई प्रश्न गर्ने गरेका छौं । प्रस्तुत छ बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेसँग ढोरपाटन न्युजका लागि हाम्रा सहकर्मीले गरेको कुराकानीको सम्पादित अंश ।
कसरी चलिरहेको छ नगरपालिका ?
–स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार चलिरहेको छ । बिधि पद्धती र कानुनको परिधिमा रहेर नगरपालिका चलाईरहेका छौं ।
चुनाव अघि देखेका सपना पुरा गर्ने आधार बनेका छन् ?
–हामीले देखेका सपनाका आधार भनेका प्रत्यक्ष जनसरोकारका बिषयबस्तु हुन् । साधन र श्रोतको खोजी गरेर जनताका आवश्यकता पुरा गर्न लागिपरेका छौं । सामाजिक विकासको पाटोलाई बिशेष जोड दिएका छौं ।
तपाईले बनाएका विधी कर्मचारीले गरेका काम र सर्वसाधारणका सन्तुष्टि मापन गर्नुभएको छ ?
–हामी जनताको काम गर्न आएका हौ । विधि सम्वत रुपमा चलेका छौं । हाम्रो सम्बन्ध सबैसंग राम्रो छ । नगरपालिकाले गरेका काममा जनताको नकरात्मक टिप्पणी आएको छैन । हाम्रा कामको जनताले प्रत्यक्ष अनुभुती गर्नुभएको छ । सर्वसाधारणको सन्तुष्टि मापन यही हो । गल्कोट नगरपालिका सुशासनको पाटोमा अगाडी छ भन्ने कुरा केन्द्रिय सरकारले पनि अनुभुती गरेको छ ।
कस्तो नगर बनाउने गरी काम गर्नुभएको छ ?
–सुखी, सम्मृद्धि र सक्षम नागरिपािलका बनाउने गरी हामीले काम गरेका छौं ।
पाँच बर्ष पुरा गर्दा गर्व गर्नेगरी काम भए ?
–गल्कोट नगरपालिकामा सार्वजनिक जग्गाको अत्यन्त अभाव भएको अवस्थामा पनि ठूलो जोडबलका साथ सात रोपनी जग्गा एकिकृत ग¥यौं । प्रत्येक गाउँलाई सडक संजालले जोडियो । लामो कठिन प्रयासपछि बालमैत्री नगरपालिका घोषणा गर्न सफल भयौं । प्रत्येक गाँउमा स्वास्थ्य शाखा भवन बनायौं । शैक्षिक सुधारका लागि कम बिद्यार्थी भएका बिद्यालय मर्जिङ गरियो । फोहोर मैला व्यवस्थापन लगायतका थुप्रै गर्व गर्न लायक कार्य गरेका छौं । बाँकी काम समय अझै बाँकी रहेकाले अझै गर्दै जाने छौं ।





