नजिकको सरकार स्थानीय तहले जनताका जनजीविकासँग जोडिएर काम गरिरहेका छन् । जनताका हरेक दुःख, सुख स्थानीय तहसँग जोडिन्छन् । विपत् होस वा विकासमा सर्वसाधारणले स्थानीय सरकारको साथ खोजिरहेका छन् । नजिकको सरकार भएकाले स्थानीय तहसँग जनताको अपेक्षा धेरै हुनु स्वभाविक हो । कसरी चलेका छन् स्थानीय तह ? गरेका काम प्रभावकारी छन् त ? के स्थानीय तहले गरेका कामले जनताको सुविधा थप भएको छ ? यी र यस्तै बिषयमा हामिले समय समयमा स्थानीय तहलाई प्रश्न गर्ने गरेका छौं । प्रस्तुत छ बागलुङको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठसँग ढोरपाटन न्युजका लागि हाम्रा सहकर्मीले गरेको कुराकानीको सम्पादित अंश ।
बागलुङ नगरपालिका कसरी चलिरहेको छ ?
–सबैभन्दा पहिला त धौलागिरी एफएमको बार्षिकोत्सवको अबसरमा एफएम परिवार लगायत सबैलाई बधाई तथा शुभकामना दिन चाहन्छु । दशैं तिहार, नेपाल संवत् छठ लगायतका पर्वहरुको अवसरमा सबै बागलुङबासीलाई शुभकामना दिन चाहन्छु । बागलुङ नगरपालिकामा हामीले नेतृत्व गरेको डेढ बर्ष पुरा भएको छ । यो समयमा हामीले ठुला पूर्वाधारका काम देखाउन नसके पनि कतिपय काम हामीले जगैदेखि उठाउन पर्ने र जगैदेखि कामको सुरुवात गर्नुपर्ने भएकाले धेरै ती कार्यहरु सुरुवात गरेका छौं । सबै कामको थालनी अब फेरी जग खन्न नपर्नेगरी थालेका छौं । सुशासन होस् वा पूर्वाधार, कर्मचारी होस् वा सेवा प्रवाह सबै कामको जगैदेखि सुरुवात भएको छ । बागलुङ नगरपालिका कसरी बलियो बनाउन सकिन्छ भन्नेमा हामी लागेका छौं । नगरपालिका भनेको कार्यपालिका मात्रै होईन यो भुगोलभित्र बस्ने सबै नागरिक हुन भन्नेगरी काम भैरहेका छन् ।
चुनाव अघि देखेका सपना पुरा गर्ने आधार बनेका छन् ?
एकदमै ठिक कुरा भन्नुभयो । हामीले निर्वाचनमा बोलेका कुरा भुलेका छैनौं र हामीले हाम्रो घोषणा पत्रलाई अहिले पनि च्यातेर फालेका छैनौं । हामीले योजना बनाउने बेला एकातर्फ घोषणा पत्र र अर्कोतर्फ योजना तर्जुमाको फाईल राखेर घोषणा पत्रका हरेक बिषयसँग योजना तथा कार्यक्रमले सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम र बजेट बनाएका छौं । सोही अनुसार कार्यान्वयनको काम पनि भैरहेको छ । कतिपय बिषय नीति तथा कार्यक्रम बनाउँदा छुटेका बिषय हुनसक्छन् । हामी नेतृत्वमा छौं । हामीले सबैलाई सम्बोधन गर्नेगरी दिन दैनिकिका काम भैरहेका छन् । नगरपालिकालाई समृद्ध, सुखी नगरपालिका बनाउने अभियानमा हामी छौं । हामीले गरेका राम्रा कामका चर्चा भैरहेका छन् । त्यसको उदाहरण भनेको बागलुङ बजारका सडकपेटी बिस्तार, फुटपात निर्माणको तयारी । व्यस्त बजारमा एक चोकबाट अर्को चोक देखिने भएको सबैले राम्रो मानेका छन् । सडक भत्काउने मात्र होईन बनाउनु पर्छ भनेर ट्राफिक चोकदेखी मरेपिपलको बाटो पहिलो चरणमा नमुना सडक बनाउँदै छौं । बागलुङे सडकमा हिँड्छन् भन्नेलाई सवाफ दिन हामीले फुटपातको निर्माण गर्दै छौं । अपांगमैत्री सडक बनाउने अभियानमा छौं । सामाजिक सुरक्षालाई व्यवस्थित गर्दैछौं ।
अनौठा र महत्वकांक्षी कार्यक्रम तर कार्यान्वयन भएनन् भन्ने छ नी ?
–हामीले राम्रा कार्यक्रम ल्याएका छौं । कार्यान्वयन पनि चरणमा छ । हामीले कुकुर होस्टल देशभरमै नमुना कार्यक्रम ल्याएका हौं । त्यो कार्यान्वयनको चरणमा छ । नगरकी छोरी कार्याक्रम कार्यान्वयनको चरणमा छ । यहाँ अहिलेसम्म पब्लिकलाई के छ भने एउटा कुकुरले जबसम्म उसलाई टोक्दैन् तब कु्कुर होस्टल बेकार लाग्छ । जब उसलाई दुख्छ तर उसले बल्ल कुकुरको व्यवस्थापन खोजेको हुन्छ । अहिलेसम्म बागलुङमा कुकुरकै कारण ६ जनाको ज्यान गयो । त्यो परेकाले मात्रै बुझेको छ । काम भन्ने कुरा एकैपटक हुने होईन काम सकिँदा शत प्रतिशत हो तर काम सम्पन्न नहुँदासम्म कुकुर होस्टलको काम शुन्य हो । कुकुर होस्टेल पर्यटनका हिसाबले समेत महत्वपूर्ण योजना हो । देश विदेशबाट यो बिषयमा चासो बढेको छ । हामीले हरेक कार्यक्रम अघि बढाएका छौं ।
तपाईँले बनाएका बिधि, कर्मचारीले गरेको काम र सर्वसाधारणको सन्तुष्टी मापन गर्नुभएको छ ?
–सन्तुष्टि मापनको बिषयमा हामीले नगरको पहिलो कुरा स्वेत पत्र जारी गरेका छौं । नगरका कर्मचारीको बिषयमा हामी आउँदाभन्दा आन्तरीक र बाह्य रुपमा मापन भएको छ । दक्ष कर्मचारीको लागि जिम्मेबारी दिने, शाखा परिवर्तन गर्ने काम, तालिम प्रशिक्षण र भ्रमणका काम गरिरहेका छौं । हाम्रा बिषयगत शाखाहरुबाट प्राप्त तथ्यांक हेर्ने हो भने हामीले सुधार गरेको देखिन्छ । सर्वसाधारणमा कर्मचारीले गर्ने कामको प्रभाव पुग्ने हो । मलाई लाग्छ हामीले जरैबाट सुधारका प्रयास थालेकाले सर्वसाधारण धेरथोर सन्तुष्ट हुनुहुन्छ । सामाजिक सञ्जालमा हुने आलोचनाको अनुपात हेर्यो भने नै थाहा हुन्छ सर्वसाधारणमा कति सन्तुष्टि छ भनेर ।
तपाईंको कार्यकाल सकिँदासम्म कस्तो हुन्छ होला बागलुङ नगरपालिका ?
–बागलुङ नगरपालिका मेरो कार्यकाल पुरा हुने बेलासम्म १४ वटै वडामा पक्कि सडक पुगेको हुने छ । बागलुङ व्यवसायीक हब बनेको हुने छ । बागलुङका नागरिकमा केही परिवर्तन भएको हुने छ । त्यसका लागि हामीले हरेक काम नागरिकसँग जोडेर गर्ने छौं । परिवर्तन सुरु भैसकेको छ । दृष्टिकोण परिवर्तन आवश्यक रहेछ । हाम्रो समाज बनाउनका लागि हामी मात्रै लागेर हुँदैन् । नागरिकले पनि गर्नुपर्छ । अहिले बागलुङमा जे परिवर्तन छ त्यो नगरले गरेको मैले भन्दिन् नागरिकले गरेको भन्छु । नागरिकले सहयोग नगरे हामीले गर्छौं भनेर मात्रै हुँदैन् ।





