तनहुँ/ तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालीन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिएको छ । सोमवार शुनपा–२, गाछेपानीमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महत, रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’, वडा नंं ६ र १० का अध्यक्षहरु बुद्धि बहादुर थापा, राजेन्द्र भट्टराई क्षेत्री, स्वर्गिय पूर्ण श्रेष्ठकी धर्मपत्नी सुकु श्रेष्ठले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
रेडियोको आठौं वार्षिक साधारणसभाको अवसरमा समाजसेवातर्फ नन्दराज थापा, साहित्यतर्फ सागर उदास र पत्रकारितातर्फ पत्रकार विकास खनाल सम्मानित भएका हुन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।





