बागलुङ / नेकपा एमाले बागलुङले जिल्ला अधिवेसनको तयारी गरेको छ । आइतबार जिल्ला कार्यसमितिको बैठक बसेर आगामी चैत २९ र ३० गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो ।
सोमबार पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष हिराबहादुर केसीले अधिवेसनका लागि उपसमिति गठन गर्न पालिका स्तरीय बैठक गर्ने तथा अधिवेसन तयारीका अन्य क्रियाकलापको तालिका समेत सार्वजनिक गरे ।
दशौं जिल्ला अधिवेसनका लागि अध्यक्ष केसी संयोजक रहेको प्रतिवेदन लेखन समिति गठन भएको छ । उपाध्यक्ष लक्ष्मण पुन संयोजक रहेको जनपरिचालन, सचिव बिष्णु भुषाले संयोजक रहेको आर्थिक व्यवस्थापन, उपसचिव गणेशबहादुर थापा मगर संयोजक रहेको प्रतिनिधि व्यवस्थापन, अमरबहादुर थापा संयोजक रहेको प्रचारप्रसार, रुद्र महत संयोजक रहेको खाद्य तथा आवास, बाबुलाल शाक्य रहेको हल, मञ्च व्यवस्थापन, सम्पन्न श्रेष्ठ संयोजक रहेको स्वयंसेवक, हुमा खड्का रहेको अतिथि सत्कार, सरस्वती खड्का परियार रहेको साँस्कृतिक समिति गठन गरिएको छ ।
त्यस्तै माघ १० गते बागलुङ नगर स्तरीय बैठक आयोजना गरेपछि क्रमशः ११ गते जैमिनी, १३ गते काठेखोला, १४ गते बरेङ, १५ गते निसीखोला, १६ गते ढोरपाटनका बैठक हुनेछन् । त्यस्तै १७ गते तमानखोला, १८ गते बडिगाड, १९ गते गलकोट र २० गते ताराखोलामा बैठक हुने सचिव भुषालले जानकारी दिए ।
एमाले जिल्ला कमिटिको लेखा परीक्षणका लागि सूर्यप्रसाद उपाध्याय नियुक्त गर्ने, अधिवेसन सम्पन्न गर्न प्रतिनिधिबाट १ हजार ५ सय र सदस्यबाट १ सय रुपैयाँ आर्थिक दायित्व निर्धारण गर्ने निर्णय गरिएको छ । राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उमेदवार बिजयी गराउन आब्हान गर्ने निर्णय पनि गरेको छ । पार्टीका सदस्य टकबादुर बोहराको निधन भएको, रुद्र महतकी आमा र ठगेन्द्र खड्काको निधनमा श्रद्दाञ्जली गरेको बताइएको छ ।
जिल्ला अधिवेसन पछि मात्रै पालिका र वडा स्तरीय अधिवेसन हुने बताइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष केसीले अधिवेसन सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए । त्यसका लागि पार्टी सदस्यबाट १२ लाख ५० हजार र बाँकी चन्दा संकलन गरेर जुटाइने बताइएको छ । अधिवेसनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आउनेछन् ।
यसअघि मध्यपहाडी लोकमार्गमा आयोजना गरिएको संकल्प यात्राको क्रममा बागलुङमा मात्रै २२ लाख रुपैयाँ खर्च भएको बताइएको छ । त्यो मध्ये २ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको, बाँकी सबै भुक्तानी भैसकेको केसीले जानकारी दिए ।
पत्रकारको जिज्ञासामा गत साता दुर्गा प्रसाई सवार कार्यक्रममा पार्टीका काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर केसीले गरेको सम्बोधन व्यक्तिगत कामको भएको केसीले बताए ।
‘यो उहाँको व्यक्तिगत व्यवसायको काम हो, दुर्गा प्रसाईको काममा हाम्रो समर्थन छैन’ उनले भने, ‘जिल्ला कमिटीमा उहाँलाई स्पट पार्न भनियो, व्यक्तिगत काम भनेपछि हामीले चासो राखेनौं ।’
केसीले आफुँ अध्यक्षको उमेदवार हुँदा यस अगाडि घोषणा गरेको संगठित सदस्य बिस्तार अभियानको लक्ष्ममा पुग्न नसकेको भन्दै आगामी दिनमा पनि निरन्तर लागेर संगठित सदस्य बिस्तार गर्ने बताए ।





