पोखरा/ पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।
पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूटमा सो कार्यक्रम आयोजना हुने संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अपराह्न ५.३० बजेदेखि सुरु हुने कार्यक्रम साँझ ७.३० बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।
साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको शुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।





