पोखरा/मुद्रण उद्योग संघ कास्कीको आयोजनामा खुल्ला रक्तदानमा २० जनाले सहभागिता जनाएका छन् ।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बसन्त बास्तोलाले पहिलोपटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले मुद्रण व्यवसायीहरुलाई सवल बनाउनको लागि सरोकारवाला निकायहरुसँग छलफल भइरहेको बताए । उनले मुद्रण उद्योगले कामदार नपाएको गुनासो पनि गरे ।
‘हामीले न्यूनतम १५ हजार देखि ५० हजारसम्म तलब दिएर कामदार राखेका छौं, तर पनि कास्कीमा मात्रै अहिले १ सय जनाभन्दा बढी मुद्रणमा काम गर्ने जनशक्ति चाहिएको छ, मान्छे पाइएको छैन,’ उनले भने ।
मुुद्रण उद्योग कास्कीका सल्लाहकार एवम् निवर्तमान केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले राज्यले अन्य उद्योग र मुद्रण उद्योगलाई एकै नजरले नहेरेको आरोप लगाए ।
श्रेष्ठका अनुसार कास्की जिल्लामा रहेका मुद्रण संघमा आवद्ध ६० र आवद्ध नभएका ३० वटा मुद्रण उद्योगमा करिब ५ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । यो उद्योगमा ५० करोड लगानी भएको छ ।
त्यसै गरी नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रतिनिधि यमुना केसीले रक्तदानको महत्वबारे प्रकाश पारिन् ।
कार्यक्रममा संयोजक झंकनाथ अधिकारी (नारायण) ,महासंघका निवर्तमान केन्द्रीय सचिव जीवन गोर्खाली, गण्डकीका महासचिव मनोहर दाहाल, कोषाध्यक्ष कोपिला श्रेष्ठ, गण्डकी फ्रेम उद्योगका अध्यक्ष सुमन श्रेष्ठ, क्यान कास्कीका उपाध्यक्ष पुरुषोत्तम कुँबर, नविन श्रेष्ठ, मनिष नेपाली, कास्कीका वरिष्ठ उपाध्यक्ष दीनेशचन्द्र बास्तोलालगायतले बोलेका थिए ।





