बागलुङ/दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बागलुङ सुधार केन्द्रले दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधि जितेको छ ।
खेलको सुरुवाती चरणमा दुई गोलको अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेहर गण उपाधि रक्षा गर्न चुक्यो । खेलको ४ औं मिनेटमा गणका यमलाल कँडेल र २१ औं मिनेटमा प्रकाश निरौलालले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए पनि पहिलो हाफसम्म टिक्न सकेन् ।
दुई गोलले पछि परेपछि समालिएर खेलेको बागलुङ सुधार केन्द्रले दुई गोल गर्दै खेल बराबरी गरेको थियो । बागलुङ सुधार केन्द्रका लागि क्यामरुनी खेलाडि साम्बा ओस्करले २४ औं मिनेट र अभिषेक रानाले ४९ औं मिनेटमा गोल गरेका थिए । रानाले अशिष केसीको फ्रि–किममा हेडमार्फत आर्कषक गोल गरेका थिए ।
निकै प्रतिष्पर्धात्मक खेल निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समय धकेलिएको थियो । अतिरिक्त समयको ९३ औं मिनेटमा बागलुङ सुधार केन्द्रका विंगर वरदान न्युरेले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । सहारा एकेडेमीका उत्पादन न्युरेले टोलीलाई फाइल यात्रा गराउन यसअघि रुद्रेपिपल युवा क्लबविरुद्वको सेमीफाइनलमा पनि निर्णायक गोल गरेका थिए ।
विजेता बागलुङ सुधार केन्द्रले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता श्रीमेहर गणले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा ५ गोल गरेका बागलुङ सुधार केन्द्रका साम्बा ओस्कार सर्वाधिक गोलकर्ता, केन्द्रकै बरदान निउरे उत्कृष्ठ खेलाडी घोषित भए । आदर्शका फिलिप भिक्टोर उत्कृष्ठ गोलर, श्रीमेहर गणका खुमलाल कटुवाल उत्कृष्ठ डिफेन्डर, बागलुङ सुधार केन्द्रका मार्कोे भेराइटी उत्कृष्ठ मिडफिल्डर, घोषित भए ।
फाइनल खेलको म्यान अफ दि म्याच सुधार केन्द्रका बरदान निउरे घोषित भए । उनीहरुले प्रतिव्यक्ति २ हजार ५ सय नगद पुरस्कार समेत पाए ।










