बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा एमाले अधिवेसन: अध्यक्षमा चार जनाको दाबेदारी

बागलुङमा एमाले अधिवेसन: अध्यक्षमा चार जनाको दाबेदारी

बिशेषगरी एमालेको संस्थापन र नेकपाको फुटको समयमा पनि अडिग भएर बसेका नेताहरुलाई नै नेतृत्वमा स्थापित गर्नुपर्ने कार्यकर्ताको चाहना छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार

बागलुङ/एमालेको आसन्न जिल्ला अधिवेसन नजिकिदै गर्दा नेता तथा कार्याकर्ताको चहलपहल बढेको छ । अधिवेसनसँगै नयाँ नेतृत्व चयनले पनि उत्तिकै चर्चा पाएको छ । चियापसल र चोक चोकमा एमाले अधिवेसनको एजेण्डा छलफलमा निस्कन्छ । कतिपयले आगामी योजना सुनाउँछन् भने कतिपयले अध्यक्ष हिराबहादुर केसीको कार्यकालको टिप्पणी र समीक्षा गर्छन् ।

हालका अध्यक्ष हिराबहादुर केसीले केही दिनअघि सचिवालय बैठकको निर्णय सुनाउँदै अध्यक्षमा दोहोरिने संकेत गरेका थिए । त्यसपछि भने आकांक्षीहरुको नाम लिस्टमा थपिंदै गएको छ । थपिनेहरुले केसीको कार्यकालमा पार्टीलाई नोक्सानी भएको टिप्पणी गर्न थालेका छन् । केसीसँगै हालका सचिव बिष्णु भुषाल, पूर्व अध्यक्ष जनक पौडेल र गण्डकी प्रदेशका पूर्व सदस्य हरिनारायण गौतम दाबेदार देखिएका हुन् ।

बिशेषगरी एमालेको संस्थापन र नेकपाको फुटको समयमा पनि अडिग भएर बसेका नेताहरुलाई नै नेतृत्वमा स्थापित गर्नुपर्नेमा एकाथरी कार्यकर्ताको चाहना छ । ‘हिजो अप्ठ्यारो अबस्थामा हामीले साथ दियौं, अहिले सजिलो अबस्थामा नेतृत्व लिन खोज्नेहरु धेरै छन्’ एमालेका एक कार्यकर्ताले भने, ‘नयाँलाई दिने हो भने अहिले सम्मका बाहिर बस्नुपर्छ ।’ ती कार्यकर्ताले भुषाल र गौतमको नाममा सर्वसम्मत हुन सक्ने पनि सुनाए ।  ‘गुट उपगुटको खेल बढी भएमा गौतम  बलियो उम्मेदवार उमेदवारको रुपमा अगाडि आउने संभावना पनि उत्तिकै छ ।’

पार्टीले डिल्लीराज गौतमको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ । तर कार्यकर्ता तहबाट उक्त समितिलाई तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक नगर्न सुझाएका छन् । ‘बन्दसत्रमा सकेसम्म निर्विरोध बनाउने प्रयास हुनेछ, त्यसपछि मात्रै निर्वाचन समितिले चुनावी कार्यक्रम ल्याउनुपर्छ भन्ने हो’ एमाले जिल्ला अधिवेसनका प्रतिनिधि कृष्ण गौतमले भने, ‘चुनावी कार्यतालिका ल्याएर कार्यकर्ता फुटाउने काम नगरौं ।’ अधिवेशन हलबाटै टुंगो लगाउने उनले बताए ।

जिल्ला प्रतिनिधि बनेर आएकाहरुले चुनावभन्दा सर्वसम्मत खोजेको तर नेताहरु चुनावमा जान खोजेको उनको टिप्पणी थियो । एमाले जैमिनी नगरका अध्यक्ष बद्री ढुंगानाले सकेसम्म निर्विरोध अध्यक्ष चयन गर्ने, नसके निर्वाचनमा जाने बताए । उनले क्षेत्र नं. १ को ख सधैं ओझेलमा परेकोले पदाधिकारीमा जसले समेट्न सक्छ त्यसको पक्षमा उभिने संकेत गरे । बलेवादेखि जैमिनी र बरेङबाट पार्टीको पदाधिकारीमा नसमेटिएको उनको गुनासो थियो ।

जिल्ला भित्रका एमालेका केन्द्रीय सदस्यहरु सक्रिय भएर सर्वसम्मतको प्रयास गर्नुपर्ने अधिकांसको मत छ । नेकपा फुटको बेला एमालेलाई साथ दिएकाहरु अधिवेसनमा स्थापित हुनुपर्ने अधिकांसको धारणा छ । केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र सूर्य पाठकले सर्वसम्मतका लागि नै अधिकतम प्रयास गर्ने बताए । पार्टी इन्चार्ज जगत बिश्वकर्मा आएपछि मात्रै ठोस रुपमा छलफलमा बस्ने भन्दै अहिले सम्मका धारणाहरु टिकाटिप्णी र चियाचौतारीका गफ मात्रै भएको उनले बताए ।

‘स्वभाविक रुपमा हामी कता उभियौं भनेर कार्यकर्ताले हेर्ने अबस्था छ, तर अहिले ठोस कुरा भैसकेको छैन’ सापकोटाले भने, ‘सबै सक्षम छन्, तर कोही परीक्षण भैसके, कोही स्थापित हुनै बाँकी छन् ।’ परीक्षण भएका भन्दा नयाँ र युवाको खोजी भएको उनले बताए । सापकोटाले केसीले ४ बर्षे कार्यकाल पुरा गर्न नपाएकोले आस गरेको समेत खुलाए । भुषाल र गौतमप्रति पनि उनले स्वभाविक दाबी भएको तर सबै अट्ने भूमिका खेल्ने बताए ।

आकांक्षी ४ जनामध्ये पौडेल दुइपटक नेतृत्व गरिसकेका हुन् । केसी दुइबर्ष नेतृत्वमा रहे । भुषाल हालका सचिव हुन् भने गौतम पूर्व प्रदेश सदस्य हुन् । अध्यक्षको दाबेदार गरिरहेका पौडेलले बलियो संगठन, अस्तित्वबिहिन भएका जनसंगठन परिचालन गर्ने र पार्टी संगठनका सबै बिकल्पमा छलफल गर्ने बताए । ‘म केन्द्रमा रहेर सर्वसम्मत गरौं भन्ने कुरा तुकको होइन’ पौडेलले भने, ‘पार्टीलाई जसले एकताबद्ध बनाउन सक्छ त्यहीलाई सर्बसम्मत बनाउनेमा भने जुट्न सकिन्छ ।’ सबै कार्यकर्ताले गर्ने मूल्यांकनमा साझा बन्नुपर्ने उनले बताए ।

दशबर्ष अघि पौडेल अध्यक्ष उठ्दा गौतमले साथ दिएको भन्दै अब आँफूलाई साथ चाहिएको बताए । ‘पौडेल अध्यक्ष हुने शर्तमा मैले उमेदवारी झिकेको थिएँ’ गौतमले भने, ‘पौडेलले अहिले मलाई सर्वसम्मत बनाउन भूमिका खेल्नुपर्छ ।’ पश्चिम बागलुङको मत पनि भुषाल र आफ्नो पक्षमा रहेको उनको दाबी छ । केसी छिटै उत्तेजनामा आउने र हतारमा निर्णय गर्दा विवादित भएको कार्यकर्ताहरु टिप्पणी गर्छन् ।

गत स्थानीय र संसदीय निर्वाचनमा एमालेले जिल्लामा हार व्यहोरेको थियो । त्यही नजिरलाई कार्यकर्ताले केसी दोहोरिने अभिव्यक्तिको आलोचना गर्छन् । केसीले भने चारबर्षे कार्यकाल पुरा गर्न नपाएकोले बाँकी काम गर्न दोहोरिनु पर्ने अवस्था आएको बताए । पार्टी आन्तरिक जीवनमा गर्ने भनिएका काम पनि पुरा नभएको असन्तुष्टी समेत कार्यकर्तामा छ ।
सचिव रहेका भुषालप्रति धेरै कार्यकर्ताको चासो र चाहना देखिन्छ । थोरै बोल्ने, सबै दल र कार्यकर्तासँग समान व्यवहार र नरम स्वभाव देखाउने भएकोले भुषाल उभिंदा इमान्दार कार्यकर्ताको मन जित्ने एकाथरीको चाहना छ ।

‘इमान्दार कार्यकर्ता हुन्, उनी अगाडि सर्दा सबैको साथ हुनुपर्छ’ एमाले कार्यकर्ता सुजन परियारले भने, ‘पुरानाभन्दा नयाँको खोजी भैरहेको छ ।’ एमालेका अर्का कार्यकर्ता सन्दिप कंडेलले त पौडेलले समेत भुषाल सर्वसम्मत भएमा साथ दिने कुरा बोलेको दाबी गर्छन् । गौतमले भने परिस्थिति अनुसार आफु उम्मेदवार बन्न कार्यकर्ताको दवाव रहेको र सर्वसम्मत नेतृत्वका लागि आफु बाधक नरहेको बताए ।

अधिवेशनका लागि खुला सदस्यका लािग पहिलो १५ जना बराबर १ जना अल्पसंख्यक भए ५ जना बराबर १ र दलीत सदस्यका लागि ७ बराबर १ प्रतिनिधिले भाग लिन पाउने छन् । यीमध्ये ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । जिल्लाभरबाट ६३७ जना प्रतिनिधी छनौट भइसकेका छन् । उनीहरुले जिल्ला नेतृत्व चयन गर्ने छन् । अधिवेशनले १ सय ५ सदस्य रहेको जिल्ला कमिटि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->