बागलुङ/नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सदरमुकाम बागलुङ बजारको जोजोलपा पार्टी प्यालेसमा सुरु भएको छ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गरे ।
अधिवशेनमा सहभागी हुन कार्यक्रमस्थल पुगेका नेता तथा कार्यकर्ताहरु पार्टी अध्यक्ष केपी ओलीको तस्बिरसंग सेल्फी र फोटो खिच्न व्यस्त देखिन्थे । अधिवेशनबाट जिल्लाको नेतृत्व लिन उम्मेदवारी घोषणा गरेकाहरु कार्यकर्तासंग संवाद गर्दै उनीहरुको चाहना बुझ्न व्यस्त देखिन्थे । अधिवेशनको उद्घाटन कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सचिव गोकर्ण विष्ट, एमालेका पोलिटव्युरो सदस्य एवंम् पुर्वमन्त्री जगत विश्वकर्मा लगायतका केन्द्रिय नेता सहभागी छन् ।
अधिवेशनका लागि जिल्लाभरबाट चुनिएका ६ सय ३७ प्रतिनिधी आइसकेको छन् । अधिवेशनमा नेतृत्व लिन नेताहरुको दौडधुप जारी छ । नेतृत्व लिन वर्तमान अध्यक्ष हिरा बहादुर केसी, सचिव विष्णु भुसाल, पूर्व अध्यक्ष जनक पौडेल र प्रदेश कमिटीका पूर्व सदस्य हरिनारायण गौतम आकांक्षी देखिएका छन् ।






















