पोखरा/‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट वर्षेनी १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ ।
लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ सालदेखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्वसहसचिव पत्रकार विजय नेपाल आदर्श समाज दैनिकका कार्यकारी सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता हुन् ।
यस्तै २०४५ साल देखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा महानगरपालिका वडा नं. १० का स्थायी बासिन्दा हुन् । उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो ।
आगामी जेठ १९ गते संघको साधारणसभाका अवसरमा पत्रकार विजय नेपाललाई २५ हजार पुरस्कार राशीसहित पुरस्कृत गरिने र फिल्मकर्मी विनोद शेरचनलाई दोसल्ला, माला र सम्मान पत्र सहित सम्मान गरिने अध्यक्ष अधिकारीले बताए ।
चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र परिवारद्वरा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।





