शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आर्थिक सम्मुनति खोजिरहेको नेपाल

आर्थिक सम्मुनति खोजिरहेको नेपाल

स्थिर सरकारले मात्र सुशासन दिन्छ, भ्रष्टाचारविरुद्ध कारवाही गर्न सक्छ, ब्यथिति हटाउन सक्छ भन्ने मान्यता अब नेपालले स्थापित गर्ने बेला आइसकेको छ । यो नै आर्थिक समुन्नतिको बाटो निर्माणको प्रस्थान बिन्दु हो ।


  • आनन्दराज मुल्मी
  • जेष्ठ १२ २०८१, शनिबार

२०८१/०८२ जेठ १५ गते मुलकको नयाँ बजेट प्रस्तुत गर्ने समय हो । यो तिथि दैलोमै आइसक्यो । आर्थिक क्षेत्रमा धेरै सुधार हुन सकिरहेको छैन । देखिएको आर्थिक समस्याहरु समाधान हुने कुरामा स्वयं अर्थमन्त्री पनि ढुक्क छैनन् । भर्खरै लगानी सम्मेलन आयोजना भयो, मानिसहरुको जमघट भयो । देखिने गरी २/४ वटा सहमतिपत्रमा हस्ताक्षर भयो । तर, स्वयं सरकारबाटै सहमति हुने भनेर प्रचार गरिएका ४ वटा आयोजनाहरुमा अन्तिम समयमा ‘तयारी नपुगेको’ कारण देखाइ सहमतिपत्रमा हस्ताक्षर हुन सकेन । कयैंन पुृरानासहित शोकेसमा राखिएका बाँकी १४० वटा योजनामा लगानीकर्ताले चासो नै देखाएनन् । सरकारको तर्फबाट प्रस्तुत ७ हजार २ सय मेघावाटका २१ आयोजना र निजी क्षेत्रबाट राखिएका १७ जलविद्युत आयोजनाको हालत पनि उस्तै रह्यो । कैयंन आयोजनाहरु विना तयारी शोकेसमा राखिएको थियो बरु शोकेसमा नभएका ३वटा आयोजनामा दुई पक्षबीच लगानीको लागी सहमति बन्यो । उसै पनि, विगतमा भएका २ वटा लगानी सम्मेलनसहित ३ दशकको अवधिमा १७ खर्बको लगानी प्रतिबद्धता आएकोमा नेपाल राष्ट्र बैंक स्रोत अनुसार ६३ अर्ब मात्र लगानी भएको अनुमान छ । यसले अझै पनि नेपाल लगानी गर्नको लागि आकर्षण कम भएको मुलुक हो भन्ने पुष्टि हुन्छ । राज्य संचालनकर्ता यस्ता कुरामा गम्भीर हुनुपर्ने कुरामा दुईमत नभएता पनि व्यवहारमा देखाउन सकेका छैनन् । बिना लगानी उत्पादन बढ्दैन । रोजगारका अवसर सृजना गर्न सकिँदैन । राजश्वका स्रोत नबढ्दा सामाजिक सुरक्षा, पूर्वाधार निर्माण र सेवास्तर बृद्धि गर्न पर्याप्त पूँजी हुँदैन । आर्थिक समुन्नतिको मार्ग अवरुद्ध हुन्छ ।
विगतका वर्षहरूमा प्रस्तुत गरिएका बजेटहरू यथार्थपरक हुन नसक्दा मध्यावधि मूल्याङ्कनमा सबै शीर्षकमा रकमहरु घटेको तथ्य कसैबाट लुकेको छैन । राजश्व संकलन प्रक्षेपण अनुसार हुन नसक्नुका कारणहरू राज्य र कर्मचारीतन्त्रलाई थाहा छ । तर, थाहा हुँदा पनि राजश्व चुहावट रोक्न कठोर कदमहरू चाल्ने मामिलामा उदासिनता देखिन्छ । बजेट प्रस्तुत हुने बेलामा करका दरहरु घटीबढी गरी÷गराइ उच्च लाभ लिने कामहरु बारम्बार भइरहँदा पनि सरकारबाट गम्भिरता प्रदर्शन नहुनुले हाम्रो परिपाटी असफल भएको प्रमाणित गर्छ । त्यसैपनि अमूक व्यक्ति अर्थमन्त्रीको रुपमा आइसकेपछि मन्त्रालयका सचिवदेखि विभिन्न उच्चपदस्थ कर्मचारीहरूको सरुवा गर्ने कामले थुप्रै आशंका जन्माएको हुन्छ । नीति नियमको कार्यान्वयनमा अनेकन द्विविधाहरु जन्मन्छन अनि नीति कानून नियमनमा चलखेलको माध्यमले अस्थिरता जन्मिने गरेका प्रशस्त उदाहरणहरु हामीसँग छन् ।
उसैपनि प्रत्येक नयाँ सरकार गठन हुने बेलामा अर्थमन्त्री, गृहमन्त्री, भौतिक योजनामन्त्री कसको भागमा पर्ने भन्ने कुरामा देखिने लुछाचुँडीले पनि हामी देशको अर्थतन्त्र र समृद्धिप्रति जिम्मेवार छैनौँ, स्वार्थको दास छौँ भन्ने देखाउँछ । यद्यपि, सत्तामा जाने दल र हुने मन्त्रीहरुले देश र जनताको लागि काम गर्न आएको किन नभनुन् ! अहिले कै सन्दर्भले पनि यी कुराहरु प्रष्ट्याइ रहेको छ ।
मुलुक असहज परिस्थितिमा गुज्रिरहेको छ । राज्यमा बेथिति बढ्दो छ । सुधार गर्छु भनेर आउने सरकार जनतालाई विश्वस्त गराउन असफल सावित हुँदैछन् । सरकारमा बस्नेहरु जनताले तिरेको कर रकमबाट सुविधा भोगीमात्र बनिरहेका देखिन्छन् ।
मन्त्री पदमा नियुक्त हुनासाथ आफ्ना मानिसहरूलाई आकर्षक पदमा दिने काममा दिलचस्पी राख्छन् । जबकि, राज्यले उठाउने कर रकमबाट साधारण खर्च ब्यहोर्न पनि पनि मुस्किल भइरहेको परिस्थिति सबैलाई अवगत नै छ । हाम्रोजस्तो देशमा भएको श्रोत (प्राकृतिक खनिज मानवीय) लाई अधिकतम् परिचालन गर्ने रणनीतिको खाँचो छ तर लगानी गर्ने रकम जोहो गर्नु नै चुनौतीपूर्ण बन्दैछ । मुलुकमा पूँजी निर्माण गर्न कठिन हुँदैछ । निर्यात गर्ने वस्तुहरू कमी हुँदैछ, आयात गर्नुपर्ने वस्तुलाई प्रतिस्थापन गर्न मुलुकभित्र उत्पादन बढाउने रणनीतिमा हामी चुकेका छौँ । आर्थिक गतिविधिमा तीव्रता ल्याउन सकिएको छैन, बाहिरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्न सकिएको छैन । विश्वास गराउन सकिरहेको छैनौं । सरकारले अंगिकार गरिरहेको कुटनीति सन्तुलित हुन नसक्दा मित्रराष्ट्रहरुले भरोसा गरिरहेका छैनन् । अझ, भारत र चीनजस्ता आर्थिक शक्ति भएका मुलुकले नेपालमा आफ्नो अनुकूलको काम मात्र गराउन खोज्ने प्रवृत्ति बढेको छ । सरकार संचालन गर्ने दलका नेताहरु, आफू सत्तामा निरन्तर रहनमात्र दुवै मुलुकलाई खुसी पार्ने काममा तल्लिन देखिन्छन् । देशको भलो हुने काममा उनीहरुलाई संलग्न गराउन/लगानी गराउन र पूर्वाधार निर्माण गर्न÷गराउन विश्वस्त गराउन नसक्दा मुलुक नै अप्ठेरो स्थितिमा परिरहेको छ । सरकार परिवर्तनपिच्छे हाम्रा कुटनीति र व्यवहार परिवर्तन पनि मुलुकको लागि घातक बनेको छ । मित्रराष्ट्रहरु मुखले नभने पनि धेरै दल मिलेर बनेको सरकारले अवलम्वन गर्ने नीतिप्रति नै विश्वास गर्न हिच्किचाइरहेका छन् । हामी लगानी आकर्षण गर्न वैदेशिक सहयोग बृद्धि गर्न, राज्यको आवाज प्रभावकारी बनाउन असमर्थ भएका छौँ । स्थिर सरकारले मात्र सुशासन दिन्छ, भ्रष्टाचारविरुद्ध कारवाही गर्न सक्छ, ब्यथिति हटाउन सक्छ भन्ने मान्यता अब नेपालले स्थापित गर्ने बेला आइसकेको छ । यो नै आर्थिक समुन्नतिको बाटो निर्माणको प्रस्थान बिन्दु हो ।

र, यो पनि !

प्रधानमन्त्री भइसकेपछि पुष्पकमल दाहाल प्रचण्डको भाषण र भनाइहरुमा नछुटने शब्द हो ‘सुशासन कायम राख्ने ।’ सुरुसुरुमा आम जनताले विश्वास गरेकै हुन् अब त केही हुन्छ जनताले राहत केही पाउलान, सरकारी सेवामा सुधार होला ।
झन्डै १५ महिनाको बित्यो । संसद्बाट ४ पटक विश्वासको मत लिनेदेखि लिएर सबै राजनीतिक दललाई प्रतिनिधित्व गराउँदै मन्त्रिमण्डल विस्तार भयो । आफू हुन्जेल जहिलेपनि उथलपुथल भइरहने, परम्परादेखि चल्दै आएको बजेटको स्वरूप परिवर्तन हुने भनाइ आम नागरिकले सुन्ने मौका पाए ।
२०८१ जेठ १५ गते प्रस्तुत हुने बजेटको प्रतिक्षामा छन्– नेपाली जनता ।
बजेट अनुसार न राजस्व उठ्छ । न पूँजीगत खर्च हुन्छ न कार्यक्रमहरु सुरुवात हुन्छन् । साढे १/२ घण्टाको अर्थमन्त्रीको फेहरिस्त सुन्दा जिल्ला–जिल्लामा बसेका आम नागरिक कोही असाध्य दुःखी हुन्छन्÷कोही असाध्य खुसी हुन्छन् । सामान्य खर्च र साँवा व्याजसहित ऋण रकम तिर्ने शीर्षकहरु मात्र पूर्ण हुँदा विकास निर्माणका लागि छुट्याइएका थोरै रकम कुल बजेटको १७.२५ प्रतिशत पनि खर्च गर्न नसक्ने हाम्रो कर्मचारी संयन्त्र विद्यमान छ । कुल बजेटको १७.५५ रकम आन्तरिक र वाह्य ऋण साँवा–ब्याज र ६५.२० प्रतिशत खर्च हुने साधारण खर्च चाँही सबै हुन्छ । आखिरमा विकास निर्माणमा खर्चिनुपर्ने रकम खर्च हुन नसक्नुको कारणबारे प्रधानमन्त्रीले बारम्बार निर्देशन दिँदा पनि सुधार नहुनुको पछाडी के कारण रहेछ ?
चालु आर्थिक वर्षको बजेट रकम १७.५० अर्ब रहेकोमा ६ महिनापछिको मूल्यांकनमा सो आकार घटाएर १५३५ अर्ब मात्र हुने निर्णय सरकारले गरेको थियो । वार्षिक आर्थिक बृद्धिदर ६ प्रतिशत हुने लक्ष्य रााखिएकोमा तथ्यांक विभाग ले ३.५४ प्रतिशत हुन सक्ने प्रक्षेपण गरिएको छ । हाम्रो जस्तो विकासशील मुलुकले आर्थिक बृद्धिदरलाई माथि उकास्नु अपरिहार्य भइसकेको छ । विश्वमा हामीजस्तै मुलुकहरुले आर्थिक विकासको लागि नयाँ, दीगो र भरोसायोग्य रणनीतिहरु अगाडी ल्याइरहेको देखिन्छ । लगानी बढाउन, रोजगार सृजना गर्न अथक प्रयत्न र अन्य देशसँग सम्बन्ध विकासको लागि प्रयत्नशिल रहेको देखाउँछ । हाम्रो मुलुकभन्दा पनि युद्धग्रस्त, दंगाग्रस्त, भोकमरीबाट आक्रान्त मुलुक (इथोपिया, रुवान्डा, मोजाम्बिक, सेनेगल, नाइजर,उगान्डा ) हरुले आउँदो वर्षभित्र आर्थिक बृद्धिदर ८ प्रतिशत प्रति वर्ष हुने गरी अगाडी बढ्दै विश्व बजारमा स्थान बनाउने लक्ष्य लिएको छ ।

हङकङबाट पोखरा आाउन चाहेको खण्डमा हङकङबाट चेङदु अनि पोखरा उडान गर्न व्यवहारिक हुन्छ कि हङकङबाट काठमाडांै ओर्लेर पोखरा आउन व्यवहारिक हुन्छ ? पाकिस्तानको इस्लामावादबाट पोखरा आउन त्यो यात्रु चेङदु सहर पुग्ला र ?

छिमेकी मुलुक बंगलादेश र भियतनाम लगानी र निर्यातमा अब्बल हुने गरी आर्थिक कार्यक्रम संचालन गरिरहेका छन । भारत विश्वको तेस्रो आर्थिक शक्तिको रुपमा स्थापित हुने क्रममा अगाडि बढ्दै छ । चीन अमेरिकासँग प्रतिस्पर्धा गर्न कम्मर कसेर लागेको यो समय नेपाल आर्थिक रणनीति बनाउन चिन्तनशील देखिँदैन । योजना आयोगले परम्परागत ढंगले कार्यक्रम तर्जुमा गर्नबाहेक अरु काम गर्न सकेको छैन । भद्धारुपको संरचना (जहाँ सबै दलको एक वा दुई जना सदस्य राख्नुबाहेक) उपलब्धिमूलक बन्न नसकेको यथार्थ हो । त्यही नक्कल गर्दै सबै प्रदेशमा योजना आयोग गठन गरी राजनीतिक नियुक्ति दिनुबाहेक अन्य केही गर्न नसकेको गएको ६ वर्षको अवधिले स्पष्ट पारेको छ ।
सरकार यस्तै नियुक्तिमा रमाइरहेको देखिन्छ । सुधारको खाँचो छ, परिवर्तनमुखी हुन जरुरी भइसक्यो । अन्य मुलुकले अवलम्बन गरेको असल अभ्यासलाई मनन गर्दै आफू अनुकूलको रणनीति बनाउन अब चुक्नु हुँदैन ! आखिरमा हामी कहाँ चुकिरहेका छांै ? उदाहरणका लागी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भयो- बन्यो तर त्यसको उपयोग कसरी गर्ने भन्नेबारे सरकार र सम्बन्धित पक्ष कहिल्यै गम्भीर दखिएन । चीनलाई आग्रह गरियो– लौन कोराला नाका संचालन गर्नप¥यो । चीनले ६ महिनादेखि नियमित बनायो । हाम्रोतर्फबाट कोराला नाकाको उपयोग कसरी गर्ने भन्ने बारे चिन्तन मनन आजसम्म भएन ।
यहाँ परिस्थिति रहिरह्यो भने आउदो केही वर्षमा तात्विक परिवर्तन देखिने छैन । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन्छ, कोराला नाकाबाट ठूलो आर्थिक कारोबार हुन्छ भन्ने सपना नै तुहिन पनि बेर छैन । चीनका सहरबाट पोखरा उडान गर्ने व्यवस्था गर्नुप¥यो भन्ने नेपाली पक्षको अनुरोधमा चीनका अधिकारीबाट ‘हामी सक्दो सहयोग गर्नेछौँ’ भन्ने अभिव्यक्ति आएको सुनिन्छ । तर, हामीले के बुझ्न जरुरी छ भने–विमानस्थलबाट धेरै मुलकका धेरै सहरहरूमा सम्बन्ध राख्ने उडानहरू भएमात्र यसको स्वरूप अन्तर्राष्ट्रिय हुन्छ । मानौं, चीनले चेङदुबाट पोखरा उडान गर्ने तय ग¥यो । अब एकछिन सोचौं–हङकङबाट पोखरा आाउन चाहेको खण्डमा हङकङबाट चेङदु अनि पोखरा उडान गर्न व्यवहारिक हुन्छ कि हङकङबाट काठमाडांै ओर्लेर पोखरा आउन व्यवहारिक हुन्छ ? पाकिस्तानको इस्लामावादबाट पोखरा आउन त्यो यात्रु चेङदु सहर पुग्ला र ? यस्तै कारणले हामी आफैं पनि व्यवसायिक योजना र रणनीति बनाउनेतर्फ गम्भीर बनौं । चीन वा भारतलाई भनेर ‘लौ न उडान गरिदिनुप¥यो’ भनिरहँदा हाम्रो क्षमतामाथि प्रश्न उठछ । हामी आफै सक्रिय बन्नुपर्छ तर बिडम्बना आख्तियार दुरुपयोग अनुसन्धानले अनियमितताको आशंकामा छानविन भइरहेको पोखरा विमानस्थल आयोजना प्रारम्भिक रुपमा सबैभन्दा ठूलो अनियमितता भएको आयोजनाको रूपमा देखिँदै छ भन्ने व्यापक चर्चाबीच मुद्दा दायर होला वा नहोला हेर्न बाँकी नै छ छ तर पोखरा विमानस्थललाई अत्यन्तै पंगु बनाउने प्रपञ्च नागरिक उड्डयन प्राधिकरणका उच्चतहका व्यस्थापनले निर्माणपूर्व÷ निर्माण सुरु भए देखिन जसरी भयो, त्यो खेदजनक नै रहेको छ । त्यसको नतिजा राष्ट्रले भोगिरहेको छ । बदनाम राष्ट्रको भइरहेछ । कसरी देशको लगानी र सम्पत्तिमाथि कर्मचारीले खेलवाड गर्छन् भन्ने ज्वलन्त उदाहरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । यसलाई यो स्वरूपमा पु¥याउन चिनियाँ अधिकारीहरु पनि जिम्मेवार छन । मुलुकको अस्मितामाथि खेल्न नपाउने गरी सरकारी संयन्त्रले काम गरेन भने मुलुकमा संकट आउँछ नै !
(लेखक मुल्मी सामाजिक तथा सुशासन अभियन्ता हुन् । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->