वैज्ञानिक तथ्य भन्छ- मान्छेभन्दा पहिले समुन्द्री जीव, जनावर, चराचुरूङ्गीको यस चराचर जगतमा उत्पति भएको हो । पृथ्वीको उत्पत्ति भइसकेपछि मानव जातिले आफूभन्दा अघि अस्तित्वमा आइसकेका प्राणीमाथि आफ्नो बुद्धि विवेक लगाएर कब्जा जमायो ।
आफ्नो असीमित बुद्धिको तागतमा मान्छेले आफ्नो प्रभाव यसरी जमाइदियो कि यस जगतका अरू प्राणी उसको अघि निकै कमजोर साबित भए । मान्छेले जल, थल, आकाशमै पनि आफ्नो बुद्धि लगानी गरेर अद्भुत अदलाबदली गरिरहेको छ । भलै नेपालको सन्दर्भमा हामीले आफ्नो पराक्रम त्यतातिर लगाएका छैनौँ । तर सारा विश्व निकै अघि दौडिइरहेको छ । कतिपय जीवजन्तु मानविय गतिविधिकै कारण लोप भए केही लोप हुने अवस्थामा रहेका छन् । यो पृथ्वी सबैको साझ घर हो भन्ने विवेक धेरै पछि मात्र आएको हो । जिवजन्तु संरक्षणको खातिर सन् १८७२ मा पहिलोपटक संयुक्त राज्य अमेरिकामा एल्वस्तन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि वन्यजन्तु संरक्षणको लागि यो तरिका विश्वभर पछ्याउन थालियो । आजको दिनसम्म आइपुग्दा विश्वका विभिन्न देशले वन र वन्यजन्तु संरक्षणको लागि करिब दुई करोड वर्ग किमी बढी जमिन छुट्याएको तथ्यांक पाइन्छ । जुन भु–भाग हाम्रो छिमेकी देश चीन र सार्क मुलुकको क्षेत्रफल जोड्दा पनि बढी हुन पुग्छ ।
एल्वस्तन राष्ट्रिय निकुञ्ज स्थापनाको ठिक १०१ वर्षपछि सन् १९७३ मा नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । त्यो भन्दा पहिले राजा महाराजाले वनमा सोख पूरा गर्नको लागि शिकार खेल्थे तराईका घना जंगलमा । मनलाग्दी सिकार गर्थे राजा र राणा प्रधानमन्त्रीहरू । नेपालमा जहानियाँ राणा शासनको जग हाल्ने जंगबहादुर कुँवर शिकार खेल्न निस्केर सुरविर भएकै कारण जंग बहादुर राणा कहलिएको इतिहास पढ्न पाइन्छ । दशक लामो जहानियाँ शासन चलाएका राणा प्रधानमन्त्रीहरूले बेलायतीलाई खुशी तुल्याउन शिकार गर्नकै लागि आमन्त्रण गरेको इतिहास साक्षी छ । ती शौखिन शासकहरूले चितवनको जंगलमा एकैपटक १२० बाघ र ३२ वटा गैँडाको ठूलो मात्रामा शिकार गरेको इतिहासवेत्ताहरू बताउँछन् । मानव जातिले नै अति मुश्किल समयको सामना गर्न परिरहेको अवस्थामा अहिले बाघ, गैँडा जस्ता जनावर विस्तारै लोप हुँदै छन् । अहिले संरक्षणका लागि सबै एकजुट भइरहे पनि अवोध जन्तुहरू अस्तित्व नै संकटमा नपर्ला भन्न सकिन्न । वन र वन्यजन्तु संरक्षणको महत्वलाई ध्यानमा राखेर नेपाल सरकारले पनि देशभर १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र र १ वन्यजन्तु शिकार आरक्ष स्थापना गरेको छ ।

जीवन भण्डारी
ढोरपाटन शिकार आरक्षको वृहत परिकल्पना सन् १९७६ मा नर्वेका प्रोफेसर पेर वगीले अध्ययनको क्रममा झारल र नाउर (जंगली भँेडा)को संख्या पर्याप्त भएकाले ढोरपाटनमा शिकारको लागि उपयुक्त स्थान हुन सक्ने सम्भाव्यता औँल्याएपछि कोरिएको थियो । उनले गरेको परिकल्पनाले ११ वर्षपछि मूर्त रूप पायो । सन् १९८७ मा ढोरपाटन शिकार आरक्ष खुल्यो । १३२५ वर्ग किमी क्षेत्रफलमा फैलिई म्यादी, बागलुङ र पुर्वी रुकुसम्मको हिमाली भेगलाई समेटिएको छ आरक्ष । जुन नेपालको एकमात्र शिकार आरक्ष हो । ५००० मिटर उचाई माथि बस्न रुचाउने विशेष गरी नाउर (जंगली भेडा), झारल (हिमालयन थार) अनि रतुवा मृग र बँदेलको शिकार गर्न विश्वका नामी शिकारीहरू ढोरपाटन आउने गर्छन् ।
ढोरपाटनमा शिकारका लागि रसियन, अमेरिकन र युरोपियन शिकारी ढोरपाटन आउँछन् । वर्षको दुई सिजन चैत–बैशाख र असोज कात्तिकमा शिकारका लागि खुल्ला गरिन्छ । नाउर र झारलको ५÷५ वर्षमा गनणा हुने गर्दछ । हरेक वर्ष नाउर २० देखि २२ र झारल बढिमा १४ कोटा छुट्टाएर टेन्डर गरी बिभिन्न कम्पनीलाई शिकारको अनुमति दिइन्छ । शिकारका लागि सुर्तिवाङ, दोगाढी, सेङ, फागुने, घुस्तुङ, सुनदह र बार्से गरी सात वटा ब्लकहरु छुट्याइएको छ । फागुने र सुर्तिबाङ ब्लक बागलुङमा पर्छ भने बार्से म्यादी र अन्य चार ब्लक दोगाडी, सेङ, घुस्तुङ र सुनदह पूर्वी रुकुममा पर्दछ । सुर्तिवाङ ब्लक झारलको लागि हो । तर पछिल्लो वर्षमा खुलाइएको छैन् । शिकारका गर्न १५ दिनका समय हुन्छ । यो समयसीमाभित्र तोकिएको ठाँउमा गई आरक्ष कर्मचारीको रोहोवरमा शिकार गर्न पाइन्छ ।
पछिल्लोपटक सन् २०२१ मा गणना हुँदा नाउरको संख्या १२९० र झारल ७४४ छ । जुन संख्या शिकारको लागि पर्याप्त हो । पहिलोपटक गणना गर्दा नाउर ५७५ देखि ६३० र झारल त्यो भन्दा कम थियो । हिमचितुवा जसको आहारा नाउर अनि झारल हो । हिम चितुवाको संख्या न्यून भएकाले नाउर र झारलको संख्यामा बृद्धि भएको पाइएको थियो । दोगाढी ब्लकमा नाउर र घुस्तुङमा झारलको संख्या बढी छ । गत वर्ष नाउर २० र झारल १४ कोटा निर्धारण गरिएको थियो । बँदेल र रतुवा मृगको लागि प्रतिशिकार ७५ हजार रूपैयाँ तोकिएको थियो । यो वर्ष बोलकबोलमार्फत प्रति नाउरको २१ लख ५५ हजार रूपैयाँ र झारलको १८ लाख रूपैयाँ रह्यो । शिकारी टोली नआएकाले पैसा तिरेर पनि एक नाउरको शिकार भएन ।
शिकार गर्दा पनि बुढो भइसकेको यकिन गरेर मात्रै गर्नुपर्छ । जो–केही समयभित्र मर्छ त्यस्ता खालका भालेको शिकार गर्नुपर्छ । साना पाठा र पोथीको शिकार गर्न पाईदैन् । आरक्षको नियम अनुसार घाम झुल्किनुभन्दा पहिले र अस्ताएपछि र रातीमा शिकार गर्न पाइदैन् । बिहान ८–१२ र दिउँसो ३–४ बजेको समयमा शिकार गर्न सजिलो हुन्छ । यो बाहेकको समयमा नाउर र झारलको सुत्ने समय पनि हुने भएकाले हत्तपत्त भेट्न मुश्किल हुन्छ । आरक्षले भाले लागेको बेलामा पनि शिकार गर्न नपाइने नियम बनाएको छ । चरन क्षेत्र र पानी खाने ठाँउमा यिनीहरूलाई लोभ्याउन नुन, घाँस राखी अथवा जनावरको जस्तै आवाज निकालेर झुक्याई नजिकै आइसकेपछि शिकार गर्न पाईदैन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अनुमति लिएर मात्रै शिकारीले अखेटोपहार (हाँड, छाला, सिङ) आफ्नो देश लैजान पाउँछन् ।
स्थानीयलाई आकाशको फल जस्तै आरक्ष
ढोरपाटन शिकार आरक्ष राज्यको लागि ढोरपाटनका स्थानीयका लागि ‘सुनको हात्ती’ सरह भएको छ भन्दा फरक पर्दैन । यति ठूलो परियोजना ढोरपाटनमा चलिरहेको छ । तर स्थानीयले कुनै लाभ लिन पाएका छैनन् । शिकार सम्बन्धी एउटा घटना यहाँ जोड्दा राम्रै – गत वर्ष चैत अन्तिम साता काम विशेषले म आरक्षतिर गएको थिएँ । हन्टिङको लागि ८२ वर्षिय बुढा अमेरिकन शिकारी आएका रहेछन् । उनको नाम अहिले बिर्सिसकेँ । समयमै शिकार गर्न पाएकोमा औधी खुशी देखिन्थे ती अमेरिकन । केही दिन शिकार गरी प्रत्येक भरियाका लागि दुई हजार डलर टिप्स दिए अनि हेलिकप्टरमा चढेर गए ।
एक हप्तामै ज्याला समेत गरी तीन लाख बढी कमाएकोमा भरियाहरू हर्षविभोर देखिन्थे । म त्यहीँको स्थानीय भएको हुनाले पनि कसैलाई चिनी हाल्छु कि भनेर नियालेको कसैलाई पनि चिन्न सकिनँ । सबै नौला मान्छे थिए । हँुदोरहेछ के भने शिकारी हेलिकप्टर चढेर सिँधै ढोरपाटन ओर्लने । शिकार सकिएपछि हेलिकप्टरै चढेर सरक्क फर्कि हाल्ने । पोर्टर, गाँसबाँस सबै कम्पनीले व्यवस्था गर्दोरहेछ । स्थानीयसँग कुनै आइनो साइनो नै छैन । यसरी आँखै अघि स्थानीयलाई आयसँग जोड्ने गतिविधि चलिरहे पनि त्यहाँका स्थानीयलाई भने कुनै माध्ययमबाट जोडिएको छैन ।
आरक्ष हटोस् भन्ने चाहन्छन् स्थानीय
शिकार आरक्षको कडाइका कारण स्थानीय रुष्ट छन् । आरक्ष हट्नुपर्छ भन्ने सम्मका आवाज सुनिन्छ पछिल्लो समय । ढोरपाटनलाई मध्यवर्ती क्षेत्र बनाउने कुरा पनि उठेको छ । शिकार आरक्ष क्षेत्र भित्रको ५४० वर्ग किमी क्षेत्रफललाई मध्यवर्तीको प्रस्ताव शिकार आरक्षले गरेको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार राष्ट्रिय निकुञ्ज सम्बधी ऐनले स्थानीयको अधिकार सुनिश्चित गरेको छ । ऐनमा उल्लेख छ– संरक्षण तथा सामुदायिक विकास र वन पैदावारको सन्तुलित उपयोग कार्यमा स्थानीय निकायसँग समन्वय गरी आवश्यकता अनुसार उपभोक्ता समिती गठन गर्न सकिन्छ । स्थानीय उपभोक्ता समिति गठन गरी मध्यवर्ती क्षेत्र भित्रको प्रकृतिक स्रोत साधन प्रयोग गर्न पाइन्छ । जंगली जनावरसँग द्वन्द भई जनधनको क्षती भएमा राहत दिइने छ । आरक्ष सिमाभित्र घर बास पर्न गएमा क्षतिपुर्ति दिइने छ । मध्यवर्तीको आम्दानीको ३० देखी ४० प्रतिशत स्थानीय नजताको सामुदायिक विकास खर्च गरिने छ । मध्यवर्ती क्षेत्र भएमा स्थानीयलाई धेरै फाइदा हुन्छ । तर उनीहरुलाई यो मामलामा जानकारी छैन । स्थानीयलाई जानकारी नहुँदा काम अघि बढ्न नसकेको आरक्षका कर्मचारी बताउँछन् ।
पहिलो त स्थानीय आरक्षप्रति नै खुशी छैनन् । विकास निर्माणका काममा होस् या सामान्य दैनिकी चलाउने कामका लागि अत्यावश्यक घाँस, दाउरा, स्याउला जोहो गर्न समेत शिकार आरक्ष बाधक बनेको जनगुनासो सुनिन्छ । आरक्षभित्रै छेन्टुङ भन्ने ठाउँमा झोलुङ्गे पुल सर्भे भएको दशक बित्दासम्म निर्माण हुन सकेको छैन । त्यो पुल बनाउँदा केही रूख मासिने भएपछि काम अघि बढ्न सकेको छैन । गडिखोलाहुँदै छेन्टुङ म्याग्दी जोड्ने मोटरबाटो, छोटा देउरालीमा रोकिएको वर्षौ भइसक्यो । म्यादीहँुदै ढोरपाटन पूर्वी रुकुम मोटरबाटो जोड्न भइरहेको प्रयासमा शिकार आरक्षले अवरोध खडा गर्दै आइरहेको छ । ढुंगा, बालुवा, झुपडी बनाउनको लागि प्रयोग गरिने काठमा मनपरी कर लगाउँदा स्थानीयले आफ्नै पाखा पखेराको स्रोतसम्म प्रयोग गर्न मुश्किल छ ।
यी त भए शिकार आरक्षले बाधा गरेका केही प्रतिनिधी घटना । मध्यवर्ती क्षेत्र भएमा झनै कडाई हुन सक्ने घरबारविहिन हुनुपर्ने, पशुचौपाया चरिचरन गर्न नपाइने, घाँस दाउरा गर्नै नपाईने हो कि भन्ने भयले स्थानीय चिन्तित छन् । आपसी समझदारी बिना नै शुरू हुन लागेको योजनाले स्थानीय र सरोकारवालाबीच द्वन्द बढाउँदै छ । सदियौँदेखि पुर्खाले गर्दै आएको पशुपालन पेशा मध्यवर्ती घोषण भएसँगै संकटमा भाँसिने हो कि भन्ने पीरले परम्परागत खेतीकिसानी गरिरहेका स्थानीय पिरोलिएका छन् । शिकार आरक्षको सुरक्षासँगै जंगली जनावर (बदेल) आतंक पनि त्यो भेगमा बढ्न थालेको छ । वन्यजन्तुको संरक्षणसँगै स्थानीयको बालीनाली जोगाउन नसकेको अवस्था छ । आरक्षबाटै किसानहरू असुरक्षित बन्न थालेका छन् । ढोरपाटनमा उत्पादन हुने आलु छिमेकी गाउँमा उत्पादन हुने मकै बँदेलले सखाप पारिदिन थालेपछि खेती गर्न छोड्नुपर्ने अवस्था छ ।
सरोकारवाला निकाय एकतर्फी मध्यवर्ती बन्नुपर्छ भन्दै गर्दा स्थानीयका सास्तीको यो पाटोलाई पनि महत्वका साथ हेरिनुपर्छ । स्थानीय सरकार सञ्चालन ऐनले मध्यवर्ती क्षेत्र भित्रको सामुदायिक वन, धार्मिक वन, कबुलियती वन व्यवस्थापनको सम्पूर्र्ण अधिकार स्थानीय सरकारलाई नै सुम्पेको छ । प्राकृतिक स्रोतसाधन बालुवा, ढुंगा, माटो, काठ आदी उपभोग गरेपछि सेवाशुल्क लिने जिम्मेवारी पनि स्थानीय सरकारकै हो । फेरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन— २०२९ अनुसार मध्यवर्तीलाई राष्ट्रिय निकुञ्ज तथा आरक्षको अधिकार क्षेत्रमा राखिएको छ । यसरी ऐन नै बाँझिदा मध्यवर्ती घोषणा भएपनि शिकार आरक्षले हस्तक्षेप नगर्ला भन्न सक्ने अवस्था छैन ।
ज्वलन्त उदाहरण चितवन राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने माढी नगरपालिकाको मध्यवर्ती भू–भागमा त्यहाँको प्राकृतिक स्रोत साधनमाथि निकुञ्जले हस्तक्षप गर्दा स्थानीयसँग मुठभेड निम्तिएको थियो । सो घटनापछि नगरपालिकाको सर्वपक्षीय बैठकले नगरपालिकाको सबै भू–भागलाई मध्यवर्ती क्षेत्रवाट हटाउन पहल गर्ने निर्णय गरेको थियो ।
स्थानीयको लागि ‘बाँदरको पुच्छर लौरो न हतियार’ भनेझै भएको अवस्थामा ढोरपाटन शिकार आरक्ष मध्यवर्ती क्षेत्र घोषण भयो भने स्थानीयको लागि गलाको पासो नबनोस् । मध्यवर्ती र आरक्षबारे अनभिज्ञ स्थानीयलाई साथमा नलिई घोषणा हुन लागेको मध्यवर्ती क्षेत्रले सार्थक रूप पाउँला ! तर शिकार आरक्षले यहाँको जनतालाई मध्यवर्ती क्षेत्र र यसको औचित्वबारे बुझाउनुपर्ने दायित्व कत्ति पनि महसुस नगर्नु भने दुखद विषय हो । प्रकृतिक संरक्षणको सवालमा जंगल जिवजन्तुलाई महत्व दिई जनतालाई बाहिर राख्नु किमार्थ राम्रो होइन । जुनसुकै ठाउँमा थालिएका योजनालाई स्थानीयले अपनत्व त लिनैपर्छ । होइन भने त्यसको आयु पनि लामो हुँदैन । जनताको सहभागिताबिना मध्यवर्ती क्षेत्र दिगो हुन सक्तैन । यो विषयमा गोष्ठी, भेला, गहन छलफल हुनुपर्दछ । शिकार आरक्षसँग बाझिएका केही नियमहरु परिवर्तन नगरी मध्यवर्ती क्षेत्र घोषणा गर्न हतार गर्नु बाञ्छनीय हुन्छ ।
ढोरपाटनको वनस्पती, वन्यजन्तु र यहाँका बासिन्दाको अटुट सम्बन्ध छ । बसन्त याममा बिउ कुइयो चराले (कोइलीको एक प्रजाती) ‘बिउकुइयो…’ भन्दै ढोरबासीलाई बारीमा मर्कै छर्ने (लगाउने) सिजन शुरू भएको जनाउ दिन्छ । मकै छरीसकेपछि ढोरहुँदै गाईबाख्रा, भँेडा, भँैसी खेद्दै बुकी पुग्थे ढोरबासी । बुकी (चरिचरन क्षेत्र) बाट लेकतिर चढ्थे नाउर, झारल, घोरल, डाँफे र कस्तुरीहरु । त्यहाँका जन्तुहरुसँगै रमाउँदै जिन्दगानी काटिरहेका ढोरबासी दशैँ लाग्नासाथ जिवजन्तुको लागि बुकी खाली गरी औल (बेँशी) झर्थे ।
हप्तौ समय लगाई डोल्पाहुँदै तिब्बतबाट रातो ढिके नुन बोकी गाईबस्तु र भेँडा, च्याङ्ग्रालाई नुन चटाउदै गर्दा त्यहाँका नाउर, घोरल, झारलको लागि केही मुठी नुन छोडिदिन्थे । हिजोआज भारतबाट आउने आयोडिन नुन पनि छोडिदिने गर्छन् अहिलेका गोठालाहरू । तब पो वनका जिवजन्तु र स्थानीयको नाता प्रगाढ बनेको थियो । बुकीको पहरामा यहाँका गोठालाका भँेडा, बाख्रा अनि नाउर, घोरल, झारल, कस्तुरीको चरन क्षेत्र एकै ठाँऊ हो । सँगसँगै रमाएर डुल्ने गर्दछन् बुकीको फाँटमा । कहिलेकाहीं रतुवा, झारल बाटो बिराएर भँेडा बाख्राको बथान पछ्याउँदै भेँडीगोठसम्म आइपुग्छन् । भँेडीको बथानसँगै गोठालोले चालै नपाउने गरी जंगल जान्छन् ।
यसरी ढोरपाटनको चक्र घनिष्ठ चलिरहेको छ । हिजो आरक्ष नहुँदा स्थानीयले वन, वनस्पती, जिवजन्तुलाई मायाले स्याहारे । अहिले त्यो क्रम चलिरहेको छ । त्यहाँको प्राकृतिक स्रोत साधनको समुचित तरिकाले सदुपयोग गर्न पाउनुपर्छ । प्राकृतिक स्रोत साधन प्रयोगबापत उठाइएको सेवाशुल्क त्यहाँको सामाजिक विकासमा खर्चिनुपर्छ । मध्यवर्ती घोषणा भइसकेपछि कुल राजश्वको ३० देखि ४० प्रतिशत ढोरपाटनको सामुदायिक विकासमा खर्च गर्न पाउने प्रबधान छ । ठिकै छ, तर नाउर, झारल डलरको भाउमा शिकार गरिने क्षेत्र ब्लकको नाममा छुट्याएर शिकार आरक्ष तथा वन विभागको क्षेत्राधिकारभित्र परिसकेपछि स्थानीयले विकासको आशा कसरी गर्न सकिन्छ ? यसरी शिकार खेलाएबापत ढोरपाटन विकासको परिकल्पना ‘आकाशको फल’ जस्तै हुने हो कि ?
मध्यवर्ती क्षेत्र भित्रका सामुदायिक वन, धार्मिक वन, कबुलियती वनले वनस्पति र वन्यजन्तुु संरक्षणको क्षेत्रमा नेपालमा उल्लेख्य रूपमा सफलता हासिल गरेको छ । कुनै समय नेपालको वनजंगल सखापै हुने स्थितीमा पुग्दा सरकारले ‘हरियो वन नेपालको धन’ भन्ने नारा दिएर नेपालभरका जंगल हराभरा बनाउन सकेको हो । सरकारी निकायबाट थालेको तर सफल हुन नसकेका कामहरू समुदायलाई जिम्मा दिए सफल हुन सक्छ भन्ने उदाहरण पनि हो । मध्यवर्ती क्षेत्र अथवा शिकार आरक्ष, समुदायमा आएका ठूला परियोजनाको लाभ स्थानीयले पाउनै पर्छ । उनीहरूको अनुभवले आर्जेको सीप संरक्षण र व्यवस्थापनमा लगाउन सकिन्छ । राम्रै ख्याती कमाएको आरक्ष, शिकारको लागि राम्रै मुद्रा खर्चेर विदेशी पेशेवर सिकारी आउँछन् । मोटै राजस्व संकलन गर्छ नेपाल सरकार ।
औद्योगिक उन्नति नै नभएको हाम्रो जस्तो अल्पविकसित मुलुकमा थौरै भए पनि आरक्षमार्फत विदेशी मुद्रा आर्जन हुनु नराम्रो होइन । आरक्षबाट जति आम्दानी हुन्छ त्यसको सानो अंश पनि ढोरपाटनले नपुग्दा ढोरपाटन ‘बत्ति मुनिको अँध्यारो’ नै भइरहेको छ । म स्वयः त्यहीँको बासिन्दा भएको नाताले पनि आँखै अघिको स्रोत स्थानीयको जीवनस्तर उकास्न प्रयोग गर्र्न नपाउँदा भित्रभित्रै बिझाइरहन्छ । आरक्ष स्थापनाको ३ दशक बढी समय पार गरिसक्दा कमसेकम स्थानीयको दैनन्दिन उकासिने वा इलमसँग जोड्ने केही उपाय खोजिनुपर्छ । यहाँका स्थानीयले सिकेका े ज्ञान, सिप, अनुभव संरक्षणमा जोड दिनुपर्दछ । उनीहरुले परिचालन गर्दै आएको उत्पादनमा बढाउने, सिप विकासका अवसरहरुमा लगानी गरी स्थानीयको अर्थोपार्जका अवसरहरु सृजना गर्नुपर्दछ । शिकार आरक्षको एकलौटी बलमिच्याइ स्थानीयलाई धेरै नै भएको हो कि ? अर्को कुरा धनाढ्य सिकारी खेलाडीले ढोरपाटन आई ‘हन्टिङ पोइन्ट’ प्राप्त गरी ‘हन्टिङ ट्रफी’ पाउन ढोरपाटनका निर्दोष जनावर मारिनु के उचित हो ? बहसको विषय कहिले बन्ला ?
(भण्डारी ढोरपाटन नगरपालिका-६ का बासिन्दा हुन् ।)





