पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।
भारतीय पेन्सन क्याम्प मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र सहविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट टोली आउने क्रम जारी रहेको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता छैन । आवश्यक न्युनतम भौतिक पुर्वाधार विना नै परिषद्ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान शुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए । हिलो सँस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए ।





