पोखरा/पोखरा गण्डकी प्रदेश पुरुष टि २० क्रिकेटको उपाधि स्याङजा जिल्लाले उचालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा डिफेन्डीङ च्याम्पियन कास्कीलाई ६ विकेटले हराउँदै स्याङजा च्याम्पियन बनेको हो ।
१०८ रनको विजयी लक्ष्य पछ्याएको स्याङजाले १३.५ ओभरमा ४ विकेट गुमाई १११ रन बनाउँदै लक्ष्य पुरा ग¥यो । ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्यो । स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए । स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै १० रन बनाए । उनलाई अभिषेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङजाका करण पगेनी फाइनलमा प्लेयर अफ दि म्याच घोषित भए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्की १९.३ ओभरमा १०७ रनमा अलआउट हुन पुग्यो । कास्कीको पारीको सुरुवात खासै जम्न सकेन । कास्कीका भरपर्दाे मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे । मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए ।
स्याङजाका लागि ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए । उपाधिसँगै स्याङजाले नगद एक लाख रुपैयाँ हात पा¥यो भने, उपविजेता कास्कीले ५० हजार रुपैयाँ हात पा¥यो ।
प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे ।
आजबाट महिला क्रिकेट र ह्यान्डबल शुरु हुँदै
यस्तै महिलातर्फको गण्डकी प्रदेशस्तरीय टी२० क्रिकेट र महिला तथा पुरुष ह्यान्डबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । पोखरा रंगशालामै हुने प्रतियोगिताको महिला क्रिकेटतर्फ चार जिल्लाको मात्र सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, पर्वत, नवलपुर र स्याङजा सहभागिभएको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविन लिगको आधारमा सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने ह्यान्डबल प्रतियोगिताको पुरुषतर्फ ८ जिल्ला र महिलातर्फ ६ जिल्लाको सहभागिता रहेको छ । पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने भएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले समान रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद पाँच–पाँच हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् ।





