बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शक्तिशाली रुवाई, भयंकर झुट अनि सत्य

शक्तिशाली रुवाई, भयंकर झुट अनि सत्य

हामीले 'यस्तो होइन'  भन्न सक्यौं भने यो संसारमा सत्य बाँचिरहन्छ। जे सत्य हो, त्यही सही हो। हामीले सत्य बचाउनुपर्छ।


  • प्रदिप आचार्य
  • साउन २२ २०८१, मंगलबार

एउटा मानिसले जन्मलिँदै गर्दा यो संसार देख्ने चिच्याहटसँग बहाना बोकेर आएको हुन्छ। उसको रुवाई जति शक्तिशाली हुन्छ, त्यति नै भयंकर उसको झुट हुन्छ। मानिस जन्मिँदा सँगसँगै उसको कारणले सिर्जना भएका बहानालाई कारण बनाइदिने तमाम आफन्त लिएर आएको हुन्छ। ती आफन्त जो कोही हुन सक्छन्। तिनका आवरण फरक फरक हुन सक्छन्।

फरक समयमा एउटा व्यक्तिले गरेका गल्ती र त्यही गल्तीलाई बहाना बनाएर ढाकछोप गरिदिने मान्छे हुन्छन्। हुन पनि एउटा व्यक्तिलाई जीवनमा के नै चाहिने रहेछ र ? आखिर एउटा जीवन र त्यसलाई जीवन्त बनाउने बहाना। खैर, जे होस् !

सानो हुँदा हामी आफूलाई चाहिएको खेलौना नपाउँदा अनायासै रूने, स्कुल जान अल्छी लागेर बिरामी भइदिने, हामीलाई थमथमाउन कोही न कोहीले यो त यस्तै गर्छ भन्दिने ।
त्यही सुनेर हामी फुरूंग भइन्थ्यो। हुन त यी बालापनमा पाइने ‘बोनस’ पनि हुन्। त्यसैले त्यो उमेर खास पनि हुन्छ।

तर जब मेरै वरपर म यस्तै हो भनेर होच्याउने, धम्काउने, रिसाउने मान्छेहरूको भिड देख्छु, मलाई पहिले आफ्नै बानी सम्झेर नरमाइलो लाग्छ। म चाहिनेभन्दा भावुक भएँ, धेरै सोच्ने भएँ, धेरै मान्छेहरूले मलाई ‘टेकन फर ग्रान्टेड’  लिए। र, यसरी नै ‘म यस्तै हो, भनेर धेरै वर्ष बिताए।

मसँगै हिँड्ने साथी, आफन्तअग्रजहरुले पनि ‘यो यस्तै हो’ भनेर सामान्यीकरण गरिदिए। मलाई अझै थाहा छैन, त्यो बानी आफैंलाई कति बाधक भयो भनेर। यी त भावनाका कुरा भए।
एकै छिन हामी सम्झिऔं त आफ्नो घर र परिवार। ती परिवार भित्रका सदस्य। र, ती सदस्यका आआफ्नै प्रकृति।

कोही रिसाहा, कोही सन्की, कोही पचमुखा, कोही घुसघुसे। अब त्यो सदस्यलाई स्मरण गरौं जसले गर्दा घरमा कलह हुन्छ। घरमा कोलाहल हुन्छ, असान्त हुन्छ । मेरो आफ्नै घरको कुरा गर्ने हो भने त्यस्तो वातावरण नभएको होइन।

मेरो जस्तै परिवारको सदस्य अरूको घरमा नदेखेको पनि होइन। घर भाँड्न धेरै ठूलो बहाना नै चाहिँदैन। एउटाले अर्कोको कुरा नसुनिदिए पुग्छ। अर्कोले घरको अनुशासन नमानिदिए पुग्छ। एकअर्कालाई विश्वास नगरिदिए पुग्छ। सामान्य जिम्मेवारीबाट पन्छिए पुग्छ।

मैले असिनापानिले बालि मास्दा बुहारिलाई घरबाट लखटेको देखेको छु,आजको जमानामा पनि बुहारिलाई तल्लो स्तरको शब्दहरुमा गालि गरेकोसुनेको छु, श्रीमानले आफ्नो श्रीमतीलाई आगोले पोलेको देखेको छु। लुछेर टाउकोको कपाल रित्तिएको देखेको छु,आफ्नै सन्तान हरुबिचको महाबिभेद नजिकबाट देखेको छु, सन्तानको पालनपोषण र शिक्षादिक्षामा भएको लगानिको हाताहाति फिर्ता मागेको देखेको छु र उही मान्छे नै समाजको पैरवी, नेत्रित्वकर्ता भएको पनि देखेको छु, धार्मिक सभा समारोहमा ठाँटबाँठका साथ उपस्थिति जनायको पनि देखेको छु र समाजले ऊ त्यस्तै हो भनेर उसैको जय-जयकार गरेको देखेको छु।

यस्तै व्यवहारलाई अर्कोले ‘यो त यस्तै हो’ भनिरह्यो भने त्यही परम्परा बन्छ। जुन परम्परा अर्को पुस्ताले पछ्याउँछ र अझैअरूले दिने यातनाको आयतन ठूलो हुन्छ। कुनै पनि मानिसका लागि घर भनेको उसको सबल र प्रिय ठाउँ हो। तर त्यही ठाउँबाट ऊ यो यस्तै हो भनेर जिम्मेवारीबाट पर बस्न सिक्छ। आफूले पाएको जिम्मेवारीबाट पर बस्न उसले बहाना बनाउन सिक्छ अन्तत घरमा बिकराल समस्या आँउँछ ।

हरेक दिन हामी कति बहाना बनाउँछौं सोचौं त ! कहिले बहाना हामीले बनाऔंला, कहिले अरूले बनाएको बहाना पत्याऔंला। जे गरौंला, बहानाको अर्को स्वरूप झुट हो। यो यस्तो झुट हो जसले आफैंलाई सुस्त र मन्द गतिमा सक्काइरहेको हुन्छ।

बहाना बनाउनु भनेको अरूलाई बुझ्न प्रयास नगर्नु हो। आफूले जवाफ दिनु पर्दैन भन्ने सोच्नु हो। यो सोच र बुझाइ कहाँ कहाँ मिल्छ हेरौं है त !

हामीमध्ये धेरैको घरमा कोही न कोहीले मद्यपान र धूमपान गर्छ,कसैले घरेलु हिंसा गर्छ,कोही यति उग्र हुन्छ, उसले बोलेको नै अन्तिम सत्य ठान्छ,कोही यस्तो हुन्छ जसले यति सबै हुँदा पनि ‘उ यस्तै हो’ भनेर सधैं सहन्छ।

तरकारीमा नुन पुगेन भनेर खाना पस्केको थाल फ्यालेको पनि देखेकी छु। झगडा गर्नेले म यस्तै हो भनेर शानका साथ घुर्की लगाउँछ। उसलाई त्यो घुर्की लाग्छ तर अर्कोलाई अन्याय गरेको लाग्छ। यो खालको व्यवहार सबैसँग उस्तै भए त यस्तै हो भन्न सकिएला ! तर एउटा मात्र सन्तानसँग बिषबमन गरिरहने मान्छे अरूका अगाडि कसरी शान्त हुन्छ ? किन चुप हुन्छ ?

किनभने उसलाई थाहा छ, अरूले ऊ यस्तै हो भन्दैनन्। यो सहने प्रक्रिया घरबाट सुरू भएर समाजमा पु्ग्छ । मेरो व्यक्तिगत कुरा गर्ने हो भने जिबन कर्मको मेरो यात्रामा धेरै आरोहअबरोह भोगेको छु, किन यस्तो अस्वस्थ प्रतिस्पर्धा हुन्छ भनेर अनुभवीहरूलाई सोध्दा जिन्दगि भनेको यस्तै हो भन्ने जवाफ पाएको छु।

मैले त्यति बेलै ‘यस्तो होइन’ भन्न नसकेको पनि होईन या मलाई कसैले भनिदिएको भए, नयाँ आउने साथीहरू आफन्तलाई यस्तै होइन भन्थेँ होला। तर हामीलाई थाहा हुँदाहुँदै पनि हामी यस्तै होइन भन्दैनौं। किनभने हामीले स्वीकार गरिसकेका छौं यस्तो होइन भन्नु वैचारिक मतभेद हुनु हो। आफ्नो काबिलियतमा अविश्वास गर्नु हो।

हामी त्यसलाई पनि यस्तै हो भनेर स्वीकार गर्छौं। बाटोमा हिँड्दा अनजान केटाले केटीतिर हेर्दै जिब्रो पट्कायो, कसैले नबुझेरै कसैको बारेमा भ्रम छर्दै हिँड्यो, अनि जहाँ पनि यो यस्तै हो, त्यो त्यस्तै हो भनेर हामी चुप बस्छौं।

हामी जस्ता थुप्रै मान्छे छन् जसलाई यस्तो घटना आफ्नै लाग्छन्। त्यति बेला चुप बस्दा हामीले बिर्सिन्छौं हामीमाथि दमन भइरहेको। हामी बिर्सिन्छौं हाम्रो चरित्रमाथि प्रश्न उठेको। हामी देख्दैनौं आफ्नो सोचको स्तर घटेको।  बहानाका आफ्नै प्रकार छन्। कुनै बहाना प्यारा लाग्छन्, कुनै रमाइला। तर बहाना जस्तो होऊन्, यो झुटलाई छोप्ने कवच हो। यसले एउटै व्यक्तिलाई भगवान बनाउँछ र उसैलाई दानव पनि बनाउँछ।

हुन त सानैदेखि हामीलाई सत्य बोल्न नसके बहाना बनाउनु भनेर यही समाजले जबरजस्ती ठेलेर, पेलेर बनाएको नियम हो। हो भनिरहनुभन्दा होइन भन्नु त हिम्मत हो। हामी हिम्मतिलो हुनुपर्छ। अर्को व्यक्तिले के सोच्ला भनेर भन्न नसकेका, सोध्न नसकेका कुराहरू थाती भइजान्छन्।

यसको अवशेष अर्को पुस्ताले पनि भोग्नुपर्छ। आफ्नो कायरता यसरी आफ्ना सन्तानलाई थोपर्न हुँदैन। पाइँदैन साँचो बोल्न नसकेर बहाना व्यक्त गर्दा त्यसको शृंखला त्यहीँ सकिने भए, व्यक्त हुन नसकेका सत्य टाढैबाट हराउने भए कुरा अर्कै हुन्थ्यो। तर यस्ता तमाम बहानाले एउटा घनचक्कर बनाउँछ र त्यहीँ सबैलाई सिद्ध्याउँछ।

मनमा आएका प्रश्न, जुन प्रश्नले अन्याय छेड्न सक्छ, ती दुरूस्तै दिमागले बोल भनिदिए पुग्छ। घर, समाज हुँदै यो झुटको खेल देशमा पुग्छ। यो देशमा झुटको शृंखलाबाट अनियमितताको नाममा के के भएन१ कहाँ कहाँ भएन। सुन प्रकरणदेखि त्रिभुवन विश्वविद्यालय प्रकरणका दृष्टान्त छर्लंग छन्। निर्मला पन्त प्रकरणदेखि भुटानी शरणार्थी प्रकरण हामी माझ छन्।

घरमा यस्तै हो भनेर पचाउनु डरले हो। तर राजनीतिमा यस्तै होइन भन्न नसक्नु चाकडी गर्नु हो। सहनु भनेको पदको शक्तिको चाप्लुसी गर्नु हो। हामीले सधैं यस्तै हो भन्नु अन्यायलाई प्रेरित गर्नु हो।

सुन्दा गाह्रो लाग्न सक्छ, यो समाज,देश यस्तै होु भन्ने लाखौंको आवाज गुन्जिन थालेको छ। जजसको कानमा त्यो आवाज बज्यो, अब अर्को पुस्तामा सर्छ र यो देश रित्तिन्छ। आवाज भावना हो। अनुभूति हो। आवाज मिराज होइन जुन बिलाएर जान्छ। आवाज शक्ति हो। यसले अरूलाई हराउँछ। हामीले यसरी अरूलाई हराउन दिनु हुँदैन।

सानो छँदा सानै लागेका कत्ति बहाना कालान्तरमा परम्परा बने। यो यस्तै हो भन्ने हाम्रो कण्ठभरि छचल्केर बसेको छ। यसको छालसँग हामी ठोक्किइरहेका छौं। यसको परिणाम स्वीकार गर्न हामीलाई गाह्रो हुनेछ। त्यति बेला जान(अनजानमा गरेका बहानाबाजि र नमिठा भोगाइको पछि गएर विलम्ब गर्नुबाहेक अरू उपाय नहुन सक्छ।

कहिले आफूतिर, कहिले विगततिर हेर्दै हामीले दिएको, हामीले लिएको, हामीमाथि थोपरेको, हामीले अरूमाथि थोपरेको बहाना बापत हामीलाई शून्यता आउनेछ। हामी यहाँ हुँदैन थियौ।

त्यो समयमा यस्तो हुँदैन भनेको समाजले खै कहिलेदेखि आफ्नो अस्तित्व बिर्सिन थाल्यो। आफूभित्रको उकुसमुकुस बाहिर ओकल्दा शीतल हुन्छ। हामी शीतल हुनुपर्छ। केही कुरा लेखान्त हुन्छन् तर सबैलाई त्यसकै टोकरीमा मिसाउनु हुँदैन। कुन बहानाले कस्तो अर्थ राख्छ, बुझ्न खोज्नुपर्छ। जति बुझ्न सक्यो, मानिस त्यति नै विशाल हुन्छ। संयम हुन्छ।

सहनु राम्रो हो भन्ने सिकाइ नै गलत हो। हरेक ठाउँको सहन फरक हुन्छ। ठाउँअनुसार व्यक्ति हुन्छन्। त्यहीअनुसार नियत फरक हुन्छ। आफूलाई चिन्दै नचिनेर चिनेजस्तो बहाना गरिदिन सक्छन्। बोल्नै नखोजी बोल्न नसकेको बहाना गराउन सक्छन्। यी सबै प्रक्रिया बुझ्न हामी घरबाट नै माहिर भएर आउनुपर्छ।

तर हामी घरबाटै कमजोर भएर निस्किएका हुन्छौं। गलतलाई सही हो भनेर साथ दिनेहरूलाई थुप्रैले अँगाल्छन्। तर त्यो क्षणिक रहन्छ। कसैको अव्यावहारिक जीवनशैलीको बोझ हामी किन बोक्छौं ? बित्थामा किन झुट बोलेर सतर्क हुन्छौं ? सही कुराको सारथि बनेर हेर्नु त, यो कति बास्नादार र कोमल छ !

सत्यले सत्य नै बोल्नु भन्छ। असत्य बोलेर भाग भन्दैन। सत्य र असत्य हावामा फैलिन्छ। हामीले कुन हावाको सास लिने ख्याल गर्नुपर्छ। म सही बोल्दा कसैको पाउ मोल्नु पर्दैन। कसैको दाउमा मिसिनु पर्दैन। आजदेखि जे सही हो, त्यसैलाई साथ दिऔं। हामीले ‘यस्तो होइन’  भन्न सक्यौं भने यो संसारमा सत्य बाँचिरहन्छ। जे सत्य हो, त्यही सही हो। हामीले सत्य बचाउनुपर्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->