शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहकारीको रकम हिनामिना प्रकरणमा थप २ पक्राउ, गाउँपालिका अध्यक्ष फरार

सहकारीको रकम हिनामिना प्रकरणमा थप २ पक्राउ, गाउँपालिका अध्यक्ष फरार


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८१, मंगलबार

पोखरा/ स्याङ्जामा सहकारी ठगीको आरोपमा थप २ जना पक्राउ परेका छन । सोही सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर भने फरार भएका छन । प्रहरीले तीनजनालाई पक्राउका लागि अदालतसमक्ष माग गरेको थियो ।

सदरमुकाम पुतलीबजार–३ मा केन्द्रीय कार्यालय रहेको र बिरुवा गाउँपालिका, आँधिखोला गाउँपालिकाको जुग्ले र चापाकोट नगरपालिकाको साँखरमा शाखा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारी पक्राउ परेका हुन ।

सहकारीको बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम हिनामिना भएको भनदै ध्रुवनारायण श्रेष्ठले यही साउन १० मा प्रहरीमा उजुरी दिएपछि स्याङ्जा प्रहरीले भोलिपल्टै केन्द्रप्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेका थिए । मंगलबार पक्राउ भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाकी कर्मचारी थिइन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले सोमबार अध्यक्ष कुँवरसहित तीन जनालाई पक्राउ अनुमतिका लागि निवेदन दिएकोमा जिल्ला अदालतले अनुमति दिएको थियो । प्रहरीले सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि अध्यक्ष कुँवरलाई पक्राउ पुर्जी जारी गरिएको र फरार भएपछि खोजतलासको काम भइरहेको जनाएको छ । अध्यक्ष कुँवर कुनै बेला सहकारीका सचिव थिए ।

वाग्ले पक्राउ परेपछि नै प्रहरीले २० गतेभित्र बचतकर्तालाई उजुरी दिन आग्रह गरेको थियो । सोही आधारमा प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले यो सहकारीमाथि छानबिन गरेको थियो । छानबिनको क्रममा सावाँ र ब्याजसहित गरी ३ करोड ६६ लाख ९३ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->