उ बेलाको बाल्यकाल विशुद्ध अर्गानिक थियो । भलिबलको साटो मोजामा कपडा कोचेर डल्लो बनाई खेलिन्थ्यो, चुंगीको साटो पैयँु अनि बनमाराको पातलाई एकत्रित गरी डोरीमा बांधेर खेलिन्थ्यो । प्रविधिको विकाससँगै आएको परिवर्तनले जीवनस्तर मात्र हैन खेल्ने तरिकामा समेत परिवर्तन भैदियो । केटाकेटी बेलामा बर्खायामको समयमा गाईनेकिराको पुच्छरमा डोरीले बाँधेर उडाएर खेल खेलेको हिजोजस्तै लाग्छ । त्यो बेलाको बाल्यकालका कुरा आजकालका भुराभुरीहरुलाई सेयर गर्न खोज्दा मात्रै पनि एउटा दन्त्यकथा नै हो की झैं हुन्छ । हजुरबा हजुरआमाका काखमा कथा सुनेर लाडिँदै निदाउँदाका क्षण, गाग्री बोकेर धाराबाट पानी घरसम्म लगेको क्षण केही अघि मात्रै हो की झैं हुन्छ । तर, समय एउटा अग्लो पर्खाल नाघेर अर्को पर्खाल पार गर्ने होडबाजीमा जो छ । यद्यपि, परिवर्तन जरुर छ । हामीमात्र त्यस्तो अन्तिम पुस्ता होला जो पुरातन संस्कृतीलाई सम्मान गर्दै नयाँ विज्ञान र प्रविधिको युगलाई जर्बजस्ती अपनाउँदै जीवनस्तरलाई सहज गराउन सफल भएको । केटाकेटी बेलाका हरकुरा सम्झँदा मन फुरुङ्ग भएतापनि एउटा कुराले चाहिं आङ्गै सिरिंग हुन्छ । पैसा भेटिन्छ भनेर सेतो पुतलीको झुसको टीका निधारको बीच भागमा लगाएको सम्झिँदा धन्न हावाको गतिले झुसको केही भाग आखाँसम्म पुगेनछ । नत्र त पुतलीको झुससँगै आखाँको के गति हुँदो हो ।
स्वास्थ्य शिक्षा पढाउने सरले पुतलीको प्वाँखमा भएको पाउडर आँखामा पर्दा सापु नामक रोग लाग्छ, जसले मानिसको आँखा नै अन्धो गराईदिन्छ भन्दै गर्दा मुटु थर्रर्र कामेको थियो । मनमनै यस्तो पनि सोचिराथेँ । थ्यांक गड ! धन्न पुतलीको प्वाँख आँखासम्म पुगेनछ । न यातयातको सुविधा, न त स्वास्थ्यचौकीको सुविधा एकमानेमा आखाँमै पुतलीको झुस परेको भए त म भन्दा मेरा आमाबालाई कती सास्ती हुँदो हो ? कहिलेकाहीं सोच्दा मात्रै पनि कति गाह्रो हुन्छ झन् परिस्थिति त्यस्तै भईदिएको भएत के हालत हुन्थ्यो होला ?

लेखक
२०३२ सालताका पोखरामा पहिलो पटक भेटिएको सापु रोग विशेषगरी साउन भदौदेखि मंसिर महिना ताका विशेषगरी सेतो पुतलीको प्रजनन प्रक्रियाको समय सुरु हुने भएकाले यो समयमा संक्रमणको जोखिम बढी हुन्छ भने यसको समयमै निदान हुन सकेन भने आँखाको देख्न सक्ने क्षमतामै ह्रास आउँछ । सेतो पुतलीको प्वाँखमा हुने नाईटिक अक्साइड र पोटासियम साइनाइड नामक तत्व प्रत्यक्ष रुपमा आखाँमा पर्दा उक्त तत्वको रियाक्सनले एक्कासी आँखा रातो हुने, उज्यालोमा हेर्न अप्ठयारो हुने, चिप्रा नलाग्ने, आँखाको नानीमा सेतो दाग बस्ने, दृष्टि क्षमतामा कमी आउने जस्ता लक्षणहरु देखा पर्दछन् । यस्ता लक्षणहरु देखिएको २४ घण्टादेखि ४८ घण्टाभित्र यो रोगको निदान भएन भने व्यक्तिको दृष्ट्रिशक्ति नै गुम्ने संम्भावना रहन्छ ।
विशेषगरी ९ महिनादेखि ५० वर्षसम्मको व्यक्तिमा देखिने सापु रोगले आँखाको भित्रि भागमा असर गर्छ जसको कारण आँखा पुरै सेतो देखिने र देख्न पनि नसकिने सम्भावना रहन्छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो डाटा अनुसार, नेपालको सन्दर्भमा सापु रोग ८७ प्रतिशतभन्दा बढी बालबालिका र वृद्धहरुमा देखिएको छ । बालबालिका र वृद्धहरुमा सापु रोगको जोखिम २७.७ प्रतिशत रहेको छ । सबै उमेर समूहमा १५.२ प्रतिशतले यो रोगको जोखिम छ । दक्ष जनशक्तिको अभाव, बैलैमा स्वास्थ्य सेवा केन्द्रसँग सहज पहँुच नहुनु तथा सापु रोगसम्बन्धी जनचेतनाको अभावले यो रोगको विरामी वर्षेनी बढ्दो संख्यामा रहेका छन् ।
सापुलाई बेलैमा निदान गर्न नसक्दा यसले एउटा महामारी सिर्जना गर्न सक्ने भए तापनि केही सर्तकता अपनाउँदा यसबाट बँच्न सकिन्छ । जैविक विविधताको एउटा महत्वपूर्ण तथा प्रकृतीको सुन्दर चिज पुतलीहरु जहाँ बढी मात्रामा देख्न सकिन्छ उक्त ठाउँमा सकेसम्म नजाने अर्थात् प्रत्यक्ष सम्पर्कमा नबस्ने । यदि जानैपरे वा बस्नैपरे झुल वा चस्माको प्रयोग गर्ने, आँखामा कुनै समस्या देखा पर्नासाथ तुरुन्त अस्पताल जाने लगायतका सुरक्षा अपनाउँदा केई हदसम्म आँखाको दृष्टिशक्तिको सुरक्षा गर्न सकिन्छ । सापु एउटा यस्तो जटिल अवस्था हो भन्ने कुरा थाहा पाउँदा मात्रै उबेलाको रंगीविरङ्गी पुतलीहरु जम्मा गर्दै उक्त पुतलीको झुस टीका लगाएको मात्र याद आउँछ ।
(लेखक शर्मा स्वास्थ्य बीमा बोर्ड म्याग्दीकी दर्ता अधिकारी हुन् ।)





