अक्सर हिमालपारी मुस्ताङमा पानी पर्दैन् । हिउँमा रमाउने मुस्ताङमा एउटा प्रचलन छ । जहाँका मानिसहरु हिउँदबर्खा बाह्रै महिना आफ्नो घरको छानामा दाउरा राख्छन् । माटोको छानो भएको घरमा दाउरा राख्नु मुस्ताङको पहिचान हो । घरमाथिको दाउराको परिणामले घरमुलीको आर्थिक हैसियत बोल्ने परम्परागत मान्यता पनि मुस्ताङमा थियो ।
मुस्ताङमा जंगल कम छ । त्यसैले यहाँ दाउरा कम पाइन्छ । आधुनिक ग्यासको व्यवस्था नहुने बेलासम्म यहाँ गुइँठाको सहयताले चुल्हो बल्थ्यो । घरमाथि दाउरा धेरै राख्नेहरु दाउराकै प्रयोग गर्छन् । अझै भनौँ– दाउरा प्रयोग गर्न सक्ने घर हो है भन्ने मान्यता थियो । अहिले पनि छ ।
मुस्ताङमा रहेको यहीं परम्परा र यसले निम्त्याउन सक्ने बिपत्को विषयमा निकै कम आँकलन गरिन्छ । घरमाथिको दाउरामा आगलागी भैहाले के होला ? एकैपटक सबै दाउरामा आगो हुर्किए के होला ? बिपत् बाजा बजाएर आउँदैन् । अकस्मात सिर्जना हुने बिपत्को सामना कसरी गर्ने ? घरको धुरी सल्किएर जनधनकै क्षति होला भनेर कसले पो सोचेको हुन्छ र !
तर, घरपझोङ गाउँपालिकाले धुरी पनि बल्न सक्छ भनेर सतर्कता सुरु गरेको छ । मुस्ताङमा बिपत् व्यवस्थापनको सन्दर्भमा नमूना अभ्यासहरुको प्रयोग गरिरहेको घरपझोङ गाउँपालिकाले यस्तै निकै कम मानिसको नजर पुग्ने तर जनजीविकासँग जोडिएका विषयमा काम थालेको हो । ‘परम्परा हटाउन पनि हामीलाई कठीन छ, सम्भावित बिपत् र क्षतिको आँकलन गरेर पूर्वतयारी भने गरेका छौं,’ पालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने ‘बिपत्बारे सचेत छौं, सबै प्रकारका बिपत्बाट क्षति हुन नदिने प्रयास प्राथमिकतामा छ ।’ घरपझोङका घर घरमा अहिले अग्नी नियन्त्रक राखिएको छ । अग्नी नियन्त्रक चलाउन र आगो निभाउन गाउँपालिकाले सबैलाई सिकाएको छ । यो भयो धुरीको सुरक्षा ।
घरपझोङले बिपत्ग्रस्त क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । बिपत्का बेला काम लगाउन रेस्क्यु टिम तयार छ । गाउँपालिकाले उद्धारका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा राखेको छ । जनशक्तिलाई तालिमको व्यवस्था गरिएको छ । ‘जलवायु परिवर्तनका प्रभावहरु देखिन थालेका छन्, के थाहा कहिले के हुन्छ ?,’ अध्यक्ष लालचन भन्छन्, ‘नागरिकको जीवनरक्षा पहिलो सर्त हो, अरु विकास बिस्तारै हुँदै जान्छन् ।’ गाउँपालिकाले बिपत् व्यवस्थापनका लागि सबै तयारीका अलवा अत्याधुनिक आपतकालीन उद्धार भवन (ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ । बाढी पहिरो तथा अन्य विभिन्न बिपत् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर सञ्चालनमा ल्याएको हो । गाउँपालिका भवनसँगै यो भवन निर्माण गरिएको हो ।
दुइ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अति आवश्यक सामग्री स्टोर गर्ने र अफिस कोठा छ । ‘यो हरेक बिपत्को आश्रय स्थल हो, बहुउपयोग गर्न सकिनेगरी भवन तयार भएको छ,’ उनले भने । घरफझोङले बिपत्को यसरी तयारी गरेको छ जहाँका नागरिक आधारभुत प्रतिकार्यको अभावमा बिपत्का घटनाबाट ज्यान गुमाउनु पर्दैन् ।
पर्यटकको सुरक्षामा चासो
आन्तरिक तथा बाह्य पर्यटकको घुम्ने सूचिमा प्रायः नछुट्ने जिल्ला हो–मुस्ताङ । मुस्ताङ पुग्ने हरेक पर्यटक घरपझोङ नपुग्ने कुरै भएन् । किनकी जिल्ला सदरमुकाम जोमसोम बजार, ऐतिहासिक ठिनी गाउँ र प्रसिद्ध शक्तिपिठ मुक्तिनाथ यहीं गाउँपालिकामा पर्छ ।
स्याउ, आलु, सिमी र फापर धेरै फल्ने गाउँपालिका पनि हो घरपझोङ । त्यसैले यहाँ पर्यटक त पुग्छन् नै व्यापारी र अन्य बिभिन्न उद्देश्य बोकेका मानिसहरु पनि यहाँ पुग्छन् । हरेक वर्ष लाखौंको संख्यामा पुग्ने पर्यटकको सुरक्षा स्थानीय सरकार भएको नाताले गाउँपालिकाको पनि हो । घरपझोङले आफ्नो यो जिम्मेबारीलाई भुलेको छैन् । पर्यटकको सुरक्षा एकातर्फ छ भने उनीहरुको समानको सुरक्षा अर्को सर्त हो । भीडभाडमा आउने अनेक तरहका मानिसबाट आफ्ना नागरिकको सुरक्षा र आफ्नो बजार तथा आफ्ना उत्पादनको सुरक्षामा पनि गाउँपालिका सचेत छ ।
भौतिक उपस्थितिको सुरक्षाले मात्रै सबैतर्फ नजर नपुग्ने गरी भीड लाग्छ मुस्ताङमा । त्यसैले गाउँपालिकाले सबै वडा, बस्ती र टोलहरुमा सिसिक्यामेरा निगरानीको थालनी गरेको छ । पाँच वडा रहेको गाउँपालिकामा तीन वडाका हरेक घर सिसि क्यामेराको निगरानीमा छन् । बाँकी दुई वडामा पनि क्यामेरा बिस्तारको काम चलिरहेको बताउँछन्–लालचन । ‘थेगिनसक्नु भिड सुरक्षाकर्मीले मात्रै निगरानी गरेर पुग्दैन्, पर्यटन क्षेत्रको रक्षा र पर्यटकको सुरक्षा हाम्रो दायित्व सम्झेका छौं,’ लालचनले भने, ‘सिसि क्यामेराले हामीलाई थोरै र पर्यटकलाई धेरै सहयोग गर्छ ।’ वडा तहमा बिस्तार भएका क्यामेराको मुख्य मनिटर जिल्ला प्रहरी कार्यालयमा छ । त्यहिँबाट सबै आपराधिक घटनाको निगरानी हुन्छ । देख्दा सानो, खर्चमा फेन्सी देखिने यो काम घरपझोङले गरेको अर्को असल अभ्यास हो ।
यो गाउँपालिकाले पर्यटनलाई मुख्य आम्दानीको स्रोत नै बनाएको छ । यहाँ उत्पादन पनि पर्यटक लक्षित हुने गरेका छन् । अघिल्लो वर्ष गरेको कृषि पर्यटन महोत्सवपछि यहाँका कृषि उपजहरुको बजार खोज्नु नपरेको अनुभव सुनाउँछन्–लालचन ।
घरपझोङले सभाबाट नीति बनाउँछ । ती नीतिहरु कर्मचारीले इमान्दार भएर कार्यान्वयन गर्ने भएकाले नै गाउँपालिका सफल छ । पालिकामा हुने कार्यालयका सबै काम सरल छन् । जनप्रतिनिधिको आशय र कर्मचारीको काम गर्ने तौरतरिका मिल्छ ।
बाक्लो बस्तीको सुरक्षा, गाउँपालिकाकै पहिचान बनेको स्याउका बगैंचाको सुरक्षाका लागि गाउँपालिकाले सोेचेकै भएर वडा वडामा सिसिक्यामेरा बिस्तारको काम चलेको बताउँछन् गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी । हिमाल पारीको जिल्ला भए पनि यहाँ कर्मचारीको अभाव भने छैन् । तर, पर्याप्त कर्मचारी सधैं हुन्नन् । लोकसेवामा दरबन्दीका कर्मचारी माग्ने र करारमा कर्मचारी राखेर काम चलाउँदै जाने नीति छ गाउँपालिकाको ।
यहाँ घर घरमा अग्नी नियन्त्रक राखेर बिपत्को सुरक्षा चुनौतीपूर्ण थियो । गाउँमा नयाँ अभ्यास भएकाले यो काम सफल बनाउन सबैले बुझ्नुपर्ने थियो । स्थानीयसमेतको सहभागितामा घर घरमा फायर एक्ट्रिङग्युचर राखेर काम सुरु भएको छ । अब घरघरमा तालिम पु¥याउनुपर्ने छ भन्छन् –अधिकारी । त्यसका लागि गाउँपालिकाले तयारी गरेकै छ ।





