शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तन विदेशमा, मन स्वदेशमा

तन विदेशमा, मन स्वदेशमा

भौतिक रुपमा उपस्थित स्वदेशमा नरहे पनि सामाजिक, सांस्कृतिक रुपमा नेपालमै अडिएकाहरुको समूह हो–डायस्पोरा । उनीहरुको सहयोगले नेपालका सबैजसो जिल्लामा विभिन्न रचनात्मक कार्य भएका छन् । बागलुङको हकमा जापानबाट यस्तो सहयोग संस्थागत रुपमा बढी छ । युरोप र अमेरिका पुगेकाहरुले व्यक्तिगत पनि ठूलो साथ दिएका छन् ।


  • प्रकाश बराल
  • भाद्र ४ २०८१, मंगलबार

२२ वर्षअघि अमेरिका छिरेका बागलुङ बलेवाका गंगाबहादुर घर्ती र उनकी पत्नी डम्बरकुमारीले जन्मगाउँमा एक करोडको कल्याणकारी कोष बनाएका छन् । अमेरिकामा वकालत पेशा गरेका घर्ती नेपाल फर्कनैपर्ने कुनै बाध्यता छैन । तर, उनको मन नेपालमा छ । उनले जन्मगाउँमा सहयोग गर्न चाहे । बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानमा जन्मेका घर्तीले आफ्नै वडाका दलित र बिपन्न बस्ती, अभिभावकविहीन बालबालिकालाई लक्षित गरेर साथ दिने योजनाका साथ दुई वर्षदेखि सहयोग जुटाउन थालेका छन् ।

घर्ती परिवारले दिएको एक करोड रुपैयाँको अक्षयकोषबाट दुइ वर्षदेखि राहत वितरण भइसकेको छ । गंगाबहादुर, डम्बरकुमारी घर्ती कल्याणकारी कोष’ को ब्याजबाट आर्जित रकमबाट वर्षमा ७ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । कोष संचालनका लागि वडाध्यक्ष खत्री र कोषका कोषाध्यक्ष विष्णु खड्काको संयुक्त हस्ताक्षरमा रकम झिक्ने व्यवस्था छ । घर्तीले जन्मगाउँलाई सम्झेर माया गर्दा भोकालाई भोजन र बिपन्नलाई औषधि वितरणमा सहज भएको खत्रीको भनाइ छ । रोजगारीले अमेरिका पुगेका समाजसेवीले आफ्नो वडामा गरेको सहयोगले बिपन्न बस्तीका नागरिकको मुहारमा खुसी आएको छ । यो कोषले वडामा कोही भोको नराख्ने लक्ष्य राखिएको छ । कोषबाट वर्षेनी बिपन्न बस्तीमा खाद्यान्न सहयोग गर्ने, व्यवसाय गर्न चाहनेलाई बाख्रालगायतको पशुधन सहयोग गर्ने, बिपन्न परिवारमा बालबालिका पढाउन छात्रवृत्ति दिने र कृषि पेशा गर्न चाहनेलाई प्लाष्टिक टनेल किन्न रकम दिने योजना बनेको जिसीका आफन्त कमलकुमार जिसीले बताए ।

कोष स्थापनाको पहिलो वर्ष जिसी परिवारले झण्डै ४ लाख बराबरको सामग्रीहरु वितरण गरेका थिए । दोश्रो वर्ष ७ लाखको सहयोग गरेका हुन् । कोषबाट बिपन्न परिवारलाई चामल, नुन, तेल, साबुन र चिनीलगायतका सामग्री सहयोग गरेको जिसीले जानकारी गराए । दीर्घरोगी बिरामीलाई १० हजारको दरले नगद सहयोग, बिपन्न परिवारमा बाख्रापालन गर्न १० हजारको दरले, ८ हजारको दरले विद्यार्थीलाई छात्रवृत्ति, दुर्घटनामा परेर मृत्यु भएको परिवारमा किरियाखर्च र प्लाष्टिक टनेल निर्माण गर्न चाहने किसानलाई ८ हजार रुपैयाँको दरले सहयोग गरिएको हो ।

वडाध्यक्ष चक्रबहादुर खत्रीको संयोजकत्वमा वडा सदस्यहरु पदेन सदस्य रहने व्यवस्था गरिएको कोष व्यवस्थापन समिति गठन भएको छ । कोषको सचिव स्थानीय सामाजिक अगुवा सोबेन्द्र खत्री र आफन्तको तर्फबाट बिष्णु खड्का कोषाध्यक्ष छन् । वडा समितिको बैठक र सिफारिसमा सहयोग पाउनेको नाम चयन गरिने र सार्वजनिक कार्यक्रममार्फत् सहयोग हस्तान्तरण गरिंदै आइएको छ । खाद्यान्न सामग्री पाएकी नन्दकली सार्कीले काम नपाएर भोकै बस्नुपर्ने अवस्थामा राहत मिलेको बताइन् । ‘मजदुरी गरेर खाने गर्थेँ, गर्मीले काम गर्न नसकेको बेला पनि राहत पायौँ,’ उनले भनिन्, ‘छोराछोरीले किताब किन्ने पैसा पनि पाएँ, राम्रो भयो ।’

घर्ती जस्तै झण्डै ४० लाख युवा विदेशमा छन् भन्ने मोटामोटी आंकलन छ । तीमध्ये आधाजति खाडी मुलुकमा छन् । बाँकी जापान, युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगेका छन् । उनीहरुले विदेशमा कमाएर पठाएको पैसाले नेपालको अर्थतन्त्रमा उल्लेख्य सहयोग गरेको छ । त्यो भन्दा धेरै सहयोग डायस्पोराको सिधा सहयोगले समाजका धेरै कठिनाइहरु सुल्झेका छन् । भौतिक रुपमा उपस्थित हुन नसकेका युवाहरुले सामाजिक, सांस्कृतिक रुपमा बाहिरबाट सहयोग गर्नेहरुको समूह नै डायस्पोरा बनेको छ । सहयोग यतिबेला उल्लेख गर्न लायक छ । जापानबाट यस्तो सहयोग संस्थागत रुपमा बढी छ । युरोप र अमेरिका पुगेकाहरुले व्यक्तिगत पनि ठूलो साथ दिएका छन् ।

बागलुङ त झन् एनआरएनहरुको बाहुल्यता भएको जिल्ला हो । अस्पताल बनाउनेदेखि विद्यालयमा छात्रवृत्ति, बालबालिकाको पोशाकदेखि एम्बुलेन्स खरिदमा विदेशमा बस्नेहरुको सहयोग छ । गलकोट समाज जापानबाट पाएको सहयोगबाटै नगर अस्पतालमा एम्बुलेन्स किनिएको छ । गलकोट ५ को सहिद थीरबम स्मृति पुस्तकालय बनाउन समाजले १ करोडबढी सहयोग ग¥यो । गतवर्ष लडेर घाइते भएका हटियाका एकबहादुरको उपचारमा जापानबाटै ६ लाख आएकोले संभव भयो भन्छन्–वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्री । समाजले नगर अस्पताललाई ५० लाखबढी सहयोग गरेको छ ।

गलकोट समाज जापानभित्र २० वटा त टोल उपसमिति छन् । पछिल्लो एक दशकमा समाजबाट गलकोट क्षेत्रमा झण्डै २० करोड बढी सहयोग जुटेको समाजका अगुवा रत्नसिंह बस्नेत बताउँछन् । समाजले रोजगारीमा गएकामध्ये कम्तिमा २ सय जना त निरन्तर अनलाइनमा राख्ने गरेको छ । गलकोट क्षेत्र वा जिल्ला र देशभर केही घटना भएमा तत्काल उनीहरुबाट सूचना प्रवाह गरेर रकम संकलन गरिन्छ । त्यो रकम २४ घण्टादेखि साता दिनभित्र संकलन गरेर पठाइने गरिएको छ । गतवर्ष त गलकोट बहुमुखी क्याम्पसमा प्राविधिक विषय अध्यापन गर्नका लागि क्यूएएको बाटोमा जाने कामका लागि रकम नभएर महायज्ञ गरियो । महायज्ञमा १२ करोड संकलन भयो । त्योमध्ये आधाबढी जापानबाटै आएको पैसा थियो ।

जापानमा बस्नेहरुको अर्को सस्था हो–बिहुँकोट समाज जापान । जापानमा बस्नेहरुले पठाएको रकम सदुपयोग गर्न नेपालमा जापान समाज बिहुँकोट छ । उक्त संस्थाले जापानबाट आएको रकमको सदुपयोग गर्ने काम गरेको छ । झण्डै ४ सय जना जापानमा रहेको बिहुँकोट समाजले एक करोड रुपैयाँको कोष स्थापना गरेको छ । उक्त कोषले काठेखोला गाउँपालिकाको बिहुँ, लेखानी लगायतका स्थानमा हुने बिपत् जोखिम न्युनिकरणमा साथ दिने योजना छ । ‘अहिले पनि धेरै स्थानमा त्यहीं कोषबाट बिपत्तिमा परेकाहरुलाई साथ दिएका छौं,’ जापान समाज बिहुँकोटका अध्यक्ष नारायण कँडेलले भने, ‘विद्यालय, बाढी पहिरोलगायतका बिपत्तिको राहतलगायतमा हामीले साथ दिएका छौं ।’ रामकोट मन्दिर, बिहुँकोट लगायतका स्थानमा निर्माण हुने सत्तल, धार्मिक क्रियाकलापमा पनि उक्त कोषबाट सहयोग गरिएको हो । भूकम्पले क्षति पुगेको जाजरकोटमा पनि समाजले राहत पठायो । शिक्षाको गुणस्तर सुधार गर्न पनि उनीहरुले गाउँमा साथ दिएका छन् । जापानमा होटल व्यवसाय गर्नेहरु यहाँका युवा छन् । उनीहरुले झण्डै २ हजार ४ सय बढीलाई रोजगारी दिएको तथ्यांक छ ।

जापानमा काम गर्नेले सामान्य शुल्कमा सदस्यता काट्ने चलन छ । आजीवन सदस्य बनेमा ५० हजार रुपैयाँ कोषमा जम्मा गर्छन् । धेरै वर्षदेखि काम गरेकाहरुले आजीवन सदस्यता बनेर संकलित रकम गाउँ पठाएको स्थानीय कृष्ण सुवेदी बताउँछन् । समाजले हरेक वर्ष सामुदायिक भवन, मठमन्दिर र सडक मर्मतलगायतमा ५० लाखबढी लगानी गर्ने गरेको तथ्यांक छ । भूकम्प र बाढी पहिरो पीडितलाई जनही १० हजारदेखि आवस्यकता हेरेर नगद सहयोग गरेका छन् । दीर्घरोग लागेकालाई उपचार खर्च, महिला स्वास्थ्यका लागि आवस्यकता अनुसारका उपचार खर्चसमेत दिएका हुन् । बेलाबेला गाउँमा रहेका आमाबाबु र छोराछोरीलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि संचालन गर्छन् । जापानमा बसेका युवाले दैनिक १४ देखि १६ घण्टासम्म काम गर्छन् । त्यसैले गाउँमा आवश्यक पर्दा तत्काल सहयोग गर्न कठिन हुने भएपछि कोष बनाएर बिहुँकोटमा समाज बनाइएको हो । कोष बढाएर ५ करोड बनाउने उनीहरुको लक्ष्य छ ।

जापानमा बसेर गाउँमा लाखौं सहयोग गर्ने मध्येका एक हुन्–गलकोटका झप्परबहादुर बस्नेत । नागरिकको स्वास्थ्य सुरक्षा र विकास निर्माणमा उनको सहयोग भित्रिएको छ । विदेशमा बसेर पनि उनको सहयोग उदाहरणीय छ । कामले विदेश पुगे पनि आफ्नो जन्मस्थानको मायाले उनलाई सताइरहेको छ । फलस्वरुपः उनले समाजको शिक्षा र स्वास्थ्यमा साथ दिएका हुन् । गलकोट ६ का ६४ वर्षीय झप्परबहादुर बस्नेतले माध्यामिक तह उत्तिर्ण गरेपछि उच्च शिक्षा पढ्न पाएनन् । गाउँघरमा उच्च शिक्षाको अवसर नभएपछि राजधानी पुगेर पढ्न गाह्रो थियो । आफ्नो उमेरमा विद्यालय नभएकोले पढ्न नपाएको, नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार नपाएको पीडाहरु उनले भोगेका छन् । गाउँघरमा पढ्न नपाएको पीडाबारे सल्लाह गरेपछि पत्नी खड्ककुमारीले गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लाखौं सहयोग गरेका छन् । पछिल्लो एकै वर्षमा बस्नेत दम्पत्तिले गलकोटको शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा ६० लाखबढी सहयोग गरेका छन् ।

गलकोट बहुमुखी क्यामपसको शैक्षिक सुधार गर्न गत माघमा आयोजित महायज्ञमा बस्नेतले २१ लाख सहयोग गरेका छन् । त्यसअघि गलकोट नगर अस्पताललाई १० लाख र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणको जग्गा व्यवस्थापनमा १५ लाख सहयोग गरेका हुन् । त्यस बाहेक गलकोट आँखा अस्पताल, एम्बुलेन्स खरिद र स्वास्थ्य शिविर, खेलकुद कार्यक्रममा उनले सहयोग गर्दै आएका छन् ।

जापानमा काम गर्दै आएका उनले आफ्नो पालामा शिक्षा र स्वास्थ्यमा सेवा पाउन नसक्दाको दुःख सम्झेर गाउँमा नियमित सहयोग गरेको बताए । ‘हाम्रो पालामा गाउँमा उच्च शिक्षा पढ्न पाइएन, त्यसैले हामी पढाइ पूरा नगर्दै मजदुरीमा निस्कन बाध्य भयौं,’ बस्नेत भन्छन्, ‘समयमा स्वास्थ्य सेवा र उपचार नपाएको दुःख पनि हामीसँगै छ ।’ उपचार अभावमा आमाबाबुलाई गुमाएको उनले पीडा सुनाए । झण्डै २५ वर्षअघि बस्नेतका बाबुको निधन भएको थियो । पेन्सन बुझ्न सदरमुकाम जाँदा बाटोमा ह्दयघात भएर मृत्यु भएको थियो । बागलुङ अस्पतालले मृत घोषणा गरेपछि उनको बागलुङमै दाहसंस्कार गर्नुपरेको थियो । झप्परबहादुर ६ दिनपछि मात्र काजकिरिया गर्न जापानदेखि आइपुगेका थिए ।

आमाको पनि २२ वर्षअघि काठमाडौंमा मृत्यु भएको थियो । भाइहरुले काजक्रिया गरिरहेको बेला उनी ढीलागरी मिसिन आएका थिए । त्यो पीडा अरुलाई नपरोस् भनेर बस्नेत दम्पत्तिले गलकोट नगर अस्पतालमा मर्चरीसमेत स्थापना गरिदिएका हुन् । काजकिरियाका लागि विदेशबाट आउनुपर्ने बाध्यता भएका छोराछोरीलाई उक्त मर्चरी उपयोगी भएको अस्पतालका प्रमुख डा. राजेश पौडेल बताउँछन् । जापानमै बस्दै आएका गलकोट ३ का सन्तबहादुर खत्रीले पनि क्याम्पस व्यवस्थापन गर्न २० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । वडा नं. ३ कै प्रेम र अमृता बस्नेतले १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । गलकोट समाज जापानमा आबद्ध भएकाहरुले गलकोटको शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै सहयोग गरेको नगरप्रमुख भरत शर्मा गैरे बताँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->