पोखरा/अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ ।
पोखरामा शनिबार र आइतबार ‘थ्री भर्सेस थ्र्री’ आइएसएफए वल्र्डकपको छनोट खेल हुँदैछ । पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौंमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखराको छनोटको जिम्मा पाएको पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा २८ वटाभन्दा बढी टिम सहभागी हुने अनुमान छ । उत्कृष्ट ४ टिमले राष्ट्रिय छनोट खेल्ने अवसर र त्यसमध्येका २ टिमले नगद पुरस्कार पाउने छन् । विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने इभेन्ट म्यानेजर राजेश पोखरेलले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५÷५ हजार रूपैयाँ पुरस्कार पाउने उनले बताए ।
काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्जलगायत सहरबाट राष्ट्रिय छनोट खेल्ने टिममध्ये तीन वटा टिम अन्तिम छनोटमा पुग्ने छन् । त्यसमध्ये सर्वोत्कृष्ट एउटा टिमले आगामी नोभेम्बर १ र २ मा लेटभियामा हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने छ ।





