आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘क्रिकेट खेलेर बाँच्न सक्ने आधार तयार हुँदैछन्’

‘क्रिकेट खेलेर बाँच्न सक्ने आधार तयार हुँदैछन्’


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

बागलुङ/नेपालमा क्रिकेट खेलेर जिविकोपार्जन गर्ने वातावरण बन्दै गएको वक्ताहरुले बताएका छन् । बुधबार बागलुङमा आयोजित जिल्ला क्रिकेट संघको दोस्रो साधारण सभामा बोल्दै वक्ताहरुले छोटो समयमै विश्वजगतमा नेपाली क्रिकेटले आफुलाई अब्बल सावित गर्दे आएको चर्चा वक्ताहरुले भने, ‘खेलाडिले रुचीलाई पछ्याउन सके क्रिकेटमा भविष्य छ ।’
नेपालमा विश्वस्तरका खेलाडि भएपनि राज्य संचालकले खेलक्षेत्रप्रति चरम बेवास्ता गर्दा खेलाडि पलायन हुने क्रम बढेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे । बजेटमै उपेक्षित नेपालको खेलकुद क्षेत्र पूर्वाधारको क्षेत्रमा पनि निकै पछि रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले क्रिकेट खेलाडिलाई खेलप्रतिको लगावलाई जारी राख्न हौसला प्रदान गर्दै खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा केन्द्रित रहेको बताउँदै सहयोगका लागि सधै तयार रहेको बताए ।
बागलुङमा सुस्ताउँदै गएको खेलक्षेत्रलाई पुर्नजीवन दिन मेयर कप फुटबल प्रतियोगितालाई यस वर्षदेखि निरन्तरता दिन लागेको बताउँदै खड्काले भने, ‘पालिका स्तरीय क्लब गठन र महिला क्रिकेटर उत्पादनका लागि जिल्ला क्रिकेट संघसंग हातेमालो गर्न नगरपालिका प्रतिवद्व छ ।’ जिल्ला क्रिकेट संघले पालिका स्तरमा क्रिकेट समिति गठन र महिला टिम गठनलाई आगामी वर्षको कार्ययोजनामा समावेश गरेको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले नेपालमा पनि क्रिकेट खेलेर जिविकोपार्जन गर्न सक्ने वातावरण बन्दै गएको बताए । सिग्देलले प्रतिभावान खेलाडि पलायन रोक्न नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका खेलाडीहरुलाई मासिक तलब दिने व्यवस्था गरेर त्यसको शुरुवात गरेको बताए ।
‘क्रिकेटमा हिजोको जस्तो दुःखका दिन विस्तारै हट्दै छन्’ सिग्देलले भने, ‘नेपाली क्रिकेटमा भविष्य छ, खेलेर जीविकोपार्जन गर्ने आधारहरु तयार हुँदैछन् ।’ भदौ १३ गते बिहिबार बसेको क्यान कार्यसमितिको बैठकले हरेक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच जना खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको छ । खेलाडि टिकाउन आर्कषक तलबसंगै सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष प्राविधिकको चाहिने सिग्देलले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, मालिका सेवा समाजका अध्यक्ष जीवन शर्मा, अधिवक्ता हरिप्रसाद गौतम, खेलाडि जस्बिन थापा लगायतले बोलेका थिए । कार्यक्रममा क्रिकेटर विश्व कार्कीलाई वर्ष खेलाडि २०८०, सचिन आचार्य, अनिश जिसी, गणेश थापा, सन्दिप पन्तलाई सम्मानित गरिएको थियो ।
जिल्ला क्रिकेट संघ बागलुङका अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सदस्य खिमबहादुर थापा र संचालन सदस्य गणेश महतोले गरे । संस्थाका सदस्य अभिषेक कटुवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्तोष शर्मा ‘प्रदिप’ले प्रस्तुत गरेको प्रतिवेदन साधारणबाट पारित भएको छ ।
गण्डकी प्रदेश स्तरिय दोस्रो बागलुङ टि–२०, पिएम कप पुरुष जिल्ला क्रिकेट छनौट, जिल्ला लिग टि २०, वाइवाइ यु १९ पुरुष जिल्ला स्तरिय छनौट प्रतियोगिता सम्पन्न गरेको क्रिकेट संघले खेलाडि दर्ता तथा पहिचान अभियान समेत संचालन गरेको थियो । संघले प्रशिक्षण तथा विकास कार्यक्रम, जिल्ला तथा प्रदेश स्तरिय प्रतियोगिता र अन्तर जिल्ला मैत्रीपूर्ण खेल, क्रिकेट एकेडेमी संचालन तथा पूर्वाधार सुधारसंगै खेलाडि सदस्यता अभिलेखीकरण र परिचय वितरण गर्ने योजना बनाएको अध्यक्ष विष्णु आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->