
बागलुङ/परम्परागत कुलोबाट सिंचाइ नपुगेपछि स्थानीयको माग बमोजिम २५ वर्षअघि लुथ्रन विश्व विकास सेवाले बनाइदिएको पक्की नाली अहिले अलपत्र छ ।
लुथ्रनले ‘हाडीखोला खरवाङ, छम्बोट’ आयोजनाको नहर बनाएपछि स्थानीयले यहाँको छसय फाँट, डुडिया, हाडीखोला र छम्बोटको झण्डै ७ सय रोपनीमा सिंचाइ गरेर वर्षको तीन खेती गर्दै आएका थिए । तरकारी, धान र हिउँदेखेती लगाएर किसानले मनग्ये कमाइ गरेको खुसी धेरै वर्ष टिकेन । यो नहरछेउबाट मध्यपहाडी लोकमार्गको ट्रयाक खुल्यो । ७ सय मीटर नहर नामेट भयो । लोकमार्ग निर्माणको क्रममा २०६८ सालमा हाडीखोला सिंचाइ योजनाको नहर भत्किएको हो ।
पहरा फोडेर सडक बनाउने क्रममा नहर लैजाने ठाउँ नै छियाछिया भयो । झण्डै ७ सय मीटर खण्डमा नहर भत्केपछि उपभोक्ताले बनाउन सकेनन् । ‘हामीले बनाउन पनि सकेनौं, सडकले पानी लैजाने मार्ग पनि बिगारीदियो’ स्थानीय दुर्गादत्त खरेलले भने, ‘पानी ल्याउन नसकेपछि तीन खेती हुने खेतमा सुख्खा लाग्यो ।’ नहर मर्मतका लागि सहयोग समेत नपाएर वर्षौदेखि अलपत्र परेको उनले बताए ।
आयोजनाले नालीको रेखांकन मात्रै गरेर छाडिदिएपछि नहरमा पानी बग्न छाडेको उनले बताए । निर्माणाधिन अवस्थामा पानी तार्न नसकेपछि स्थानीयले दुइ वर्षसम्म छसय फाँट र छम्बोटमा खेती लगाउन पाएनन् । पाइप लगाएर तार्न खोज्दा पनि नसकेपछि छम्बोटतर्फ पानी अभाव भयो । २०७३÷७४ मा सडक कालोपत्रेको क्रममा सडक चौडा पार्दा हाडिखोलामा फेरी नहर पुरियो । आयोजनाले सडकका लागि सानो नाली बनाइदिएपछि पानी बाग्नै छाड्यो । अहिले उक्त नालीमा फोहोर भरिएको छ ।
हाडीखोलामा अहिले बजार बनिसकेकोले यो नहर पुरिएको छ । जसका कारण यो सिंचाइ आयोजनाबाट गिरिङदी र डुँडियामा मात्र सिंचाइ भएको छ । हाडीखोला र छम्बोटतर्पm पानी आउन छाडिसकेको ८० वर्षिय दुर्गादत्त खरेलले बताए । ‘यो धेरै वर्ष पुरानो योजना हो, सडकपछि नामेट जस्तै भयो’ उनले भने, ‘सिंचाइ हुन छाडेपछि कतिपयले घडेरी बनाएर बेच्न थालेका छन् ।’ खरबाङ बजार बिस्तार बन्दै गएकोले यहाँको फाँटमा सुख्खा खेती लगाउन थालिएको छ । खरेलका अनुसार २००६ सालमा यो नहरको कच्ची कुलो बनेको थियो ।
पानी आउन छाडेकोले स्थानीयले छसय र छम्बोटतर्फ धान रोप्न छाडेको स्थानीय विष्णु भुषालले बताए । ‘पटक पटक नहर बनाउने कुरा चल्यो, तर सहयोग कतैबाट आएन’ भुषालले भने, ‘उपभोक्ता समितिका पदाधिकारी अहिले निस्कृय छन् ।’ गत आर्थिक वर्ष गाउँपालिकलो यहाँ ५ लाख खर्चेर पुरानो कुलो मर्मत गरेको थियो ।
यो नहर गिरिङदीखोला छेउमा पनि नामेट भएको छ । २०६५ सालमा स्थानीयले बनाएको लघुविद्युतबाट निस्केको पानीलाई मध्यपहाडी लोकमार्गको छेउबाट कुलो बनाएर डुडिया र हाडीखोलामा मात्रै सिंचाइ गरिएको छ । सडक कटाउने नहर सानो बनेकोले पानी पर्याप्त नभएको स्थानीय कृष्णबहादुर बलामीले बताए ।
नहर नामेट भएकोबारे सिंचाइ विकास डिभिजन कार्यालय बागलुङलाई भने कुनै जानकारी समेत छैन । ‘हाम्रोमा बेलाबेला किसानहरु कुलो मर्मत गरिदिनुप¥यो भनेर आउनुभएको छ, तर सर्भे भएको छैन’ डिभिजन प्रमुख झलकमोहन ओझाले भने, ‘योजना सहितको प्रस्ताव नआएकोले हामीले हेरेका छैनौं ।’ हाडिखोला सिंचाइ आयोजना डिभिजनले नबनाएकोले कार्यालयमा पनि रेकर्ड नभएको उनले बताए ।
स्थानीय लालबहादुर भुजेलले पटक पटक कार्यालयमा पुगेर सर्भे गरिदिन आग्रह गरेकोमा वास्ता नगरिएको गुनासो गरे । ‘मैले धेरै पटक भनेको छु, तर कार्यालयले वास्तै गरेको छैन’ उनले भने, ‘कहिले पछि आउनु भन्नुहुन्छ, कहिले समय सकियो भनेर टार्नु हुन्छ ।’ यो नहर ५ किमी परदेखि ल्याइएको छ ।





