बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाम्रो जीवनशैली : सामाजिक विकृतीको कारक

हाम्रो जीवनशैली : सामाजिक विकृतीको कारक


  • माधव चापागाईं
  • असोज ६ २०८१, आइतबार

मानिस सामाजिक प्राणी हो । संसारमा जन्म लिएका सबै प्राणी जगत्मा चेतनशिल प्राणी भएको कारण मानव जातिले परिवर्तनको अपेक्षा राख्दछ । आफ्नो घर, परिवार, समुदाय, समाज र राष्ट्रको उन्नति चाहनु उस्को कर्तव्य हो । पुरातनवादी सोचका अगाडि वर्तमान समाजले व्यवहारिक र वैज्ञानिक पक्षको आत्मसात् गरिरहेको छ । समाजले व्यवस्थित मार्ग पनि समाएको छ । परन्तु विविध सामाजिक समस्याका कारण समाजले निकास पाउन असमर्थ छ ।

समाज विकासका क्रममा देखिने समस्यालाई सामाजिक समस्या भनिन्छ । समाजलाई समयानुकूल परिवर्तन हुन नदिने बाधक तत्वहरुमा रुढीवादी परम्परा र प्रथाहरूका अलावा असामाजिक र अनैतिक गतिविधिका साथमा आधुनिक ऐश आराममुखी भड्किला जीवनशैलीका कारण पनि सामाजिक विकृतिहरू निम्तिएका छन् । समाजमा खोक्रो आडम्बरपन देखाउने मपाईंत्व प्रवृत्तिका मानिसको चरित्रका कारण पनि यावत् समस्या उत्पन्न भएका छन् । अवैध सामानको ओसारपसारले समाज बिथोलिँदो छ । समाजमा देखिने लागुपदार्थ दुव्र्यसन, चोरीचारी पैठारी, धूम्रपान, मद्यपानको सेवन, बालश्रम शोषण, चेलीबेटी र मानव अङ्ग बेचबिखन, बलात्कार, बालविवाह, महिला हिंसा, घरायसी हिंसा, एसिड आक्रमण, अवैध धन्दा, अपहरण, जातीय भेदभाव, छुवाछूत, बोक्सी, दाइजो र छाउपडी प्रथा लगायतका विकृतिहरू मुख्य छन् । यस्ता किसिमका विकृतिहरूका कारण सर्वसाधारणहरुमा महिला र बालबालिकाले अधिक पीडा व्यहोर्ने गरेका छन् । समाजमा व्यक्तिवादी सोच, अहम् भावना, पदलोलुपता, अरुको देखासिखी गर्ने प्रचलन, नैराश्यपुर्ण जीवनयापन, मपाईत्व प्रवृत्ती र घमण्डीपनले गर्दा यी समस्याहरुले प्रश्रय पाइरहेका छन् ।

समाजमा दाइजोमा केही पर्दैन छोरी मात्रै दिनुस् भनिन्छ । तर बाहिर इज्जत खोजिन्छ । विवाहलाई ५/६ दिनको बनाइन्छ । जीवनभरको कमाइ समाजको डरले सिध्याइन्छ । विवाहको जनै सुपारीदेखि दुरानेसम्ममा लुट्नुसम्म लुटिन्छ । मरेको मान्छेलाई पैसाको माला लगाइन्छ । गरिब असहायको मुटुमा हानिन्छ । मृत्युमा समेत सामाजिक संजालको प्रयोग गरेर मुर्दासंग पनि लाइक र कमेन्टको भोक सिर्जना गरिन्छ । जन्मिदै नजन्मेका बालबालिकाका नाममा फेसबुकको पर्दा खोलिन्छ र स्वागतदेखि बधाईसम्मका शब्द अर्पण गरिन्छ । मृत्युमा समवेदना नभएर रिप पड्काइन्छ । जातिय छुवाछूतको पट्टी आँखामा बाँधेर कुकुर र बिरालोसंग मितेरी लगाइन्छ । सामाजिक मर्यादा, मुल्य मान्यता र परम्पराको बलि चडाएर खोक्रो आडम्बर देखाइन्छ । घर परिवार, आफन्त, इष्टमित्र र दाजुभाइका स–साना वैमनस्यतालाई सामाजिक संजालमा पोष्ट गरेर आफू उदाङ्गो बनिन्छ । यी र यस्ता विकृतिजन्य गतिविधि नेपाली समाजमा यथेष्ट छन् । यी सबै विकृतिको जड हामी मानिस नै हौ । जतिसक्दो छिटो यस्ता सामाजिक विकृतिको निराकरण खोज्नु जरुरी छ ।

सामाजिक विकृतिको निराकरणका लागि समाजमा बस्ने मानिसहरुले सामूहिक हकहित र उन्नतिका लागि एकजुट हुनुपर्छ । हामीले समाजलाई अनुशासित र व्यवस्थित बनाउन असमर्थ भए हामी आफैँ सुरक्षित हुन्छौं । हाम्रो खुशी लुटिन्छ । हाम्रा दैनिक आवश्यकताहरू परिपूर्ति हुन कठिनाइ उत्पन्न हुन्छ । तसर्थ हाम्रो समाज सभ्य, व्यवस्थित, मर्यादित, सुसंस्कृत र उन्नतशील बनाउन सामाजिक विकृतिहरु मेटाउनु पर्छ । जसका लागि सामाजिक नियम अपरिहार्य छ । समाज रुपान्तरणका लागि अपनाइने नीति नियमलाई सामाजिक नियम भनिन्छ । सामाजिक नियमहरूलाई पुर्णतः पालन गर्न सके समाजमा शान्ति सुरक्षा कायम हुन्छ । आपसी सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन सकियो भने समाजलाई सभ्य र सुसंस्कृत बनाउदै उचाइ प्रदान गर्न सकिन्छ । तसर्थ समाज परिवर्तनका लागि सामाजिक नियम आवश्यक छ । जसले समाजमा रहेका विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण र दमन जस्ता नकारात्मक पक्षलाई निर्मुल पार्न सहयोग गर्दछ । त्यसैले सामाजिक नियमको उचित पालना गर्नु हामी सबैको कर्तव्य ठहर्छ ।

अहिलेको समाजमा उत्पन्न विकृतिका कारण अनगिन्ती मानिस शारीरिक र मानसिक रूपमा पीडित भएका छन् । यसबाट अन्य मानिसहरूमा डर, त्रास र असुरक्षा पैदा भएको छ । यस्ता जोखिमबाट बच्न हामी सधैं चनाखो रहनुपर्छ । यस्ता असामाजिक र गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार सजाय दिलाउन प्रहरीमा उजुरी दिनुपर्छ । यस्ता विकृतिहरूको अन्त्य नगरी समाज उन्नतिशील बन्न सक्दैन । शान्ति सुरक्षाको अवस्था पनि नाजुक बन्दै जान्छ । फलतः समाज विखण्डनको भुमरिमा फस्छ भने राष्ट्रले अवनतिको मार्गमा हिंड्छ । तसर्थ समाजलाई सभ्य बनाउन यस्ता सामाजिक विकृतिहरुलाई निर्मुल पार्नुपर्छ । यस्ता विकृतिको समाधानमा व्यक्ति, परिवार, समुदाय, सम्बन्धित संघसंस्था, सरकार र सरोकारवालाको भूमिका महत्वपूर्ण रहन्छ । सामाजिक विकृति र समस्या सबैका साझा समस्या हुन् । विकासका बाधक र समाजका कलङ्क हुन् । यसर्थ यस्ता विकृतिहरुको निराकरण गरि समतामूलक समाज निर्माणमा हामी सबै जुट्नु पर्छ ।

परम्परादेखि चल्दै आएका अनुशरण योग्य मूल्य मान्यता र रीतिरिवाजलाई सामाजिक नियमको संज्ञा दिन सकिन्छ । परम्परागत चालचलन, सामाजिक मुल्यमान्यतालाई समय सापेक्षित परिष्करण गर्न जरुरी हुन्छ । रुढीवादी प्रवृत्तिलाई पुर्णतः निस्तेज पार्नु पर्छ । जस्का लागि आमा समूह, युवा क्लब, गुठी, टोल विकास समिति, सामाजिक अभियानता लगायत सामाजिक र सांस्कृतिक संघसंस्थाहरूको अहम् भूमिका रहन्छ । मानिसहरूले सामाजिक, आर्थिक तथा भौतिक काममा योगदान दिन तयार हुनुपर्छ । सामाजिक विकृतिको समाधान गर्न सके सामाजिक न्याय, आपसी सद्भाव, सहकार्य र समृद्धि हासिल गर्न सकिन्छ ।

हाम्रो समाजका सामाजिक विकृति र विसङ्गतिहरूका मुख्य जड अशिक्षा, गरिबी, बेरोजगारी, अन्धविश्वास, धामीझाँक्री लगायतका प्रथाहरु हुन् । यस्ता सामाजिक समस्याहरुले विकास अवरुद्ध पार्दछन् । त्यसैले यस्ता समस्याको समाधान यथाशीघ्र गरिनु पर्छ । सामाजिक समस्या समाधानका लागि विकृति र विसङ्गतिका कारण पत्ता लगाउनु अनिवार्य रहन्छ । विकृतिको प्रभाव, असर एवं समाधानका उपायबारे जनचेतना फैलाउनु आवश्यक हुन्छ । देशमा रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति पहिचान गरि आवश्यकता र रुचि अनुसारको तालिम दिनु पर्छ । जसबाट रोजगारी सिर्जना हुन्छ । मानिसहरु धेरै फुर्सदिला हुनु, बेरोजगारीका कारण आर्थिक गतिविधि न्युन हुनाले पनि मानिसहरुको मनस्थिति विकृत बनेको हुन्छ । मानिसले सामाजिक मुल्यमान्यता र मर्यादाको उल्लंघन गर्नुको मुल कारण पनि बेरोजगारी नै हो । तसर्थ उचित रोजगारी सिर्जना गर्न सके सामाजिक समस्याहरु स्वतः समाधान हुने देखिन्छ । समाजमा देखिने र अनुभव गरिएका यावत् समस्याहरु उपयुक्त कानुन र प्रभावकारी कार्यान्वयनको अभावमा सिर्जित छन् । त्यसैले प्रभावकारी कानुनको कार्यान्वयनमा जोड दिनु आवश्यक छ । पिडकलाई कडाभन्दा कडा सजाय दिने र पीडितलाई न्यायको अनुभुति गराउनुका साथै मानव अधिकारको प्रत्याभूत गराउने काम गर्न सके सामाजिक विकृतिहरु विलिन हुन्छन् ।

स्थानीय सरकारले निम्नवर्गिय परिवारका पारिवारिक समस्या समाधानमा जोड दिनु पर्छ । सबै मानिसलाई सामाजिक उत्तरदायित्व वहन गर्न हौसला प्रदान गर्ने, बालबालिका, युवायुवती र वयस्कावस्थाका मानिसहरूलाई नैतिक शिक्षा प्रदान गर्ने, जाडरक्सी, जुवातास, लागुपदार्थ दुव्र्यसनी लगायतका कुलतबाट बच्न बचाउन सामाजिक रुपमा सचेतना कार्यक्रम गर्नु पर्दछ । कृषि, पशुपालन र अन्य व्यापार व्यवसाय गर्ने मानिसहरुलाई आत्मनिर्भर बन्न सिकाउनु पर्छ । सर्वसाधारणलाई स्वरोजगारीमा लाग्न अभिप्रेरित गर्ने, आयआर्जनका अवसर सिर्जना गर्ने, व्यक्ति, परिवार र समुदायस्तरका मानिसहरुले उचित सहकार्य गरी समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।

नागरिकलाई सामाजिक उत्तरदायित्व वहन गर्न सिकाउनु स्थानीय सरकारको कर्तव्य हो । समाजमा बस्ने मानिसहरूले समाज सुधारका मुल मन्त्रहरु सहकार्य, सहअस्तित्व, सहमती र बन्धुत्वको भावना जागृत गर्दै मर्यादित समाजको परिकल्पना गर्नु जरुरी हुन्छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता विचको एकता, आपसी मेलमिलापको भावनालाई आत्मसात् गर्नु पर्छ । व्यक्ति समाज र समुदायको हितका लागि निश्वार्थ भावनाले काम गर्नु पर्छ । दुख सुखमा एकअर्कालाई सहयोग गर्नु, अर्काको अस्तित्व बुझ्नु, कसैले कसैको कार्यप्रती नकारात्मक सोच नराख्नु, ऐचोपैंचो र सरसापटी जस्ता क्रियाकलापलाई सामाजिक धर्म सम्झिनु पर्छ । समाजका सदस्यहरू जिम्मेवार र चनाखो हुनुपर्छ । सामाजिक समस्याको समाधानमा व्यक्ति, परिवार, समुदाय, स्थानीय, प्रदेश, संघिय सरकार र सरोकारवाला सबैको संयुक्त प्रयास हुनुपर्छ । प्रारम्भमा घरेलु हिंसाको अन्त्य गरि व्यक्तिको स्वतन्त्रतालाई ध्यान दिनुपर्छ । मानिसमा सकारात्मक सोचको विकास गरि उनिहरुलाई कर्तव्यनिष्ठताको मार्गमा हिडाउनु नै समाज परिवर्तनको मुल ध्येय हो ।

हाम्रो समाजलाई शान्त र सुव्यवस्थित बनाउन समाजमा रहेका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सचेत बनाउनु पर्छ । घरायसी एवं पारिवारिक वातावरणले बालबालिकाको सत् चरित्र निर्माण, सकारात्मक विचार, धारणा र स्वभावमा परिवर्तन ल्याउन सकिन्छ । तसर्थ बालबालिकाका लागि असल वातावरण निर्माणमा जोडदिनु आवश्यक हुन्छ । विसङ्गत र विकृत मानसिकताका मानिसहरुलाई उचित निगरानी, नियन्त्रण र परामर्शको व्यवस्था गरिनु पर्छ । समाजमा शान्ति, सुरक्षा कायम गर्नको लागि यथासम्भव जनचेतना अभिवृद्धि गर्दै मानिसहरूलाई जागरूक र जिम्मेवार बनाउनु पर्छ । समाजको विकास र समृद्धिमा हाम्रा सामाजिक नियमहरू वैज्ञानिक र व्यावहारिक हुनु जरुरी हुन्छ । जसका लागि नीति नियमहरू कठोर नभई परिमार्जन गर्न सकिने खालको हुनुपर्दछ । यसर्थ सामाजिक विकृतिको समाधानमा व्यक्ति, समुदाय, सरकार र सामाजिक संघसंस्था सचेत रहनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->