बागलुङ/बरेङ गाउँपालिका १ की लीला परियारले पहिलो सन्तान जन्माउन गुल्मीको शान्तिपुर पुगिन् । घर छेवैमा स्वास्थ्य चौकी थियो । तरपनि स्थानीयको विश्वास थिएन । सबैको लहलहैमा लागेर उनले शान्तिपुर जाँदा धेरै खर्च भयो ।
उनकै छिमेकी केहीले पाल्पा पुगेर सुत्केरी बन्दा हजारौं खर्च गरे । कतिपयले स्वास्थ्य चौकीमै लगेनन् । घरमै सुत्केरी हुँदा कतिपय मृत्यु बरण पनि गरे । स्वास्थ्यबारे चासो नराख्दा कतिपय आमाहरु अहिले पनि बिरामी छन् । रोग पाल्दा कतिपय आमाहरु पाठेघरको समस्याले ग्रसित छन् । यस्तै समस्या भोग्ने मध्येकी परियार पनि एक हुन् । उनले पहिलो सन्तान गुल्मीको शान्तिपुर पुगेर मात्र जन्माउन सकिन् ।
नजिकमा बर्थिङ सेन्टर थिएन । न त तालिम प्राप्त प्रसुतीकर्मी थिए । त्यो बाध्यतामा उनले चाहेर पनि नजिकको स्वास्थ्यचौकीबाट सेवा पाइनन् । यो समस्या अहिले फेरिएको छ । लीलाले दोश्रो बच्चा भने धुल्लुबाँस्कोट स्वास्थ्य चौकीमा जन्माइन् । उनी सुत्केरी हुँदा यहाँ दक्ष प्रसुतीकर्मीको रुपमा मोनिका रुचाल थिइन् । रुचालले उनलाई सुत्केरी गराइन् । त्यसपछि घर भेटमा गएर स्वास्थ्यबारे जानकारी लिइन् ।
धुल्लुबास्कोटमा तीन वर्षअघि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनेहरु न्युन थिए । आर्थिक वर्ष २०७८÷०७९ मा १ जनालाई मात्र संस्थागत सुत्केरी गराइएको थियो । त्यसपछिको अर्को वर्ष यहाँ ४ जना सुत्केरी भए । गत आवमा २० जनाले संस्थागत सुत्केरी गराए । यो क्रम बढ्दै गयो । अब घरघरमा सुत्केरी हुने नै शुन्य भैसकेको गाउँपालिकाले घोषणा गरेको छ । त्यसले औपचारिकता पाउन मात्रै बाँकी छ ।
नेपाल सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने भनेको छ । त्यसका लागि मातृ तथा नवजात शिशु स्वास्थ्यमा पनी उल्लेख्य सुधार गर्नुपर्छ मान्य शर्त छ । संस्थागत सुत्केरी हुने दर मात्र बढेर पुग्दैन, पोषण लगायतको सेवा पनि पुगेको हुनुपर्छ । ग्रामीण महिलाका यस्ता समस्या बढीनै भएकोले फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले संचालन गरेको ग्रामीण स्वास्थय सुधार परियोजनाले बरेङको धुल्लुबास्कोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरेपछि मात्र यो अवस्था आएको हो । स्थापना गर्दा पनि यहाँ दक्ष प्रसुतीकर्मी थिएनन् । जब दक्ष प्रसुतीकर्मीको रुपमा मोनिका रुचाललाई तालिममा पनि पठाइयो त्यसपछि यो सुधार भएको हो । रुचालले तीन महिनासम्म तालिम पाइन् । उनले तालिम पाएर आएपछि सुरक्षित सुत्केरी गराउन सक्ने भइन् ।
तर, लामो समयदेखि घरछेवैको स्वास्थ्य चौकीप्रतिको अविश्वास हटाउन धेरै समय लाग्यो । यो क्रमले पनि ग्रामीण स्वास्थ्य सुधार परियोजनाको प्रभावकारीता बढेको देखिएको छ । अहिले बल्ल यहाँको स्वास्थ्य संस्थाप्रति विश्वास बढेको छ । एकवर्षदेखि त धुल्लुबास्कोट नो होम डेलीभरीको गाउँ बनेको छ । गाउँपालिकाभर कोही पनि होम डेलीभरी नभएकोले स्वास्थ्य कार्यालय र जिल्ला स्वास्थ्य समन्वय समितिलाई अनुगमन गरेर ‘नो होम डेलीभरी गाउँपालिका’ घोषणा गरिदिन आग्रह गर्दै स्वास्थ्य शाखाका प्रमुख पदमबहादुर पुनले पत्र समेत लेखिसकेका छन् ।
जटिल अवस्था भएर रिफर हुने बाहेक सबैले स्थानीय स्वास्थ्य चौकीमै नियमित गर्भ परीक्षण गराउने, प्रसुती सेवा लिने गरेको पुनले बताए । अहिले त अप्ठ्यारा परिस्थिती सामाना गर्न रुचाल सक्षम भैसकेकी छिन् । यहाँ दुइ जना अनमी छन् । तर तालिम प्राप्त रुचाल मात्रै हुन् । प्रसुतीपछि आइपर्ने महिलाका समस्याबारे पनि उनी जानकार छिन् । त्यसैले उनले नियमिति रुपमा भेटेर सुत्केरीका समस्या समाधान गर्न पनि लागिपरेकी छिन् ।
एउटा स्वास्थ्य संस्थामा उपकरण भएर मात्र पुग्दैन भन्ने कुरा रुचालले लिएको तालिम पछि बढेको विश्वासले देखाउँछन् । दक्ष प्रसुतीकर्मी भएपछि मात्र स्वास्थ्य संस्थामा बिरामीहरु उपचार गराउन आउने गरेको स्थानीय बताउँछन् । स्वास्थ्य चौकी इन्चार्ज प्रकाश चालिसे रुचालले पाएको तालिमपछि स्वास्थ्य चौकीप्रति बढेको विश्वासले नागरिकको स्वास्थ्य सुधारमा पनि सहयोग पुगेको बताए । पहिला सामान्य समस्या भएपनि हुग्दीशिर र शान्तिपुरसम्म रिफर हुने गरेकोमा अहिले ढुक्कका साथ डेलीभरी सेवा प्रदान भएकोमा उनले खुसी व्यक्त गरे । रुचालले त आफ्नो कामप्रति गर्व गर्दै तालिमले दिएको आत्मविश्वासबाट सफलता पाएको बताइन् ।





