बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पञ्च तत्व र स्वास्थ्य

पञ्च तत्व र स्वास्थ्य


  • शिवप्रसाद पाण्डे
  • कार्तिक १ २०८१, बिहिबार

एकै किसिमका परमाणुहरू मिलेर बनेको शुध्द वस्तुलाई तत्व भनिन्छ । पृथ्वी,जल, वायु, अग्नि र आकाश पञ्च तत्व वा पञ्चमहाभूत हुन् । हुन त दुई तत्व हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । यसै गरि अन्य तत्वहरूमा पनि धेरै तत्वहरू मिलेका हुन्छन् । तर यसलाई समष्टिमा एउटै तत्वको रूपमा राखिएको पाइन्छ । जीव र निर्जिव दुबैमा यीनै पाँच तत्वहरू रहेका हुन्छन् । हाम्रो शरीर पनि पञ्च तत्वले बनेको छ । अणुदेखि ब्रमण्डसम्म अमिवादेखि मानिससम्म सबैको मूलभूत बनावट समान हुन्छ; केबल जटिलता बढेको हुन्छ । सबै किसिमका अस्वस्थ्यताको कारण पाँच तत्वको संतुलन बिग्रनुलाई लिइन्छ । प्रत्येक तत्वहरूको आ-आफ्नै विशिष्ट गुण हुन्छ । पृथ्वीको गंध, जलको स्वाद, अग्नीको रूप, वायुको स्पर्श र आकाशको शब्द ्गुण रहेका छन् । यीनै पाँच गुणको अनुभव हामीलाई पाँच ज्ञानइन्द्रियबाट हुन्छ । यी तत्वहरू हा्म्रा चक्रहरूसँग पनि सम्बन्धित हुन्छन् । मानिसको मृत्युपछि मानव शरीरका पाँच तत्वहरू आ-आफ्नै तत्वहरूमा बिलिन हुन पुग्दछन् । पञ्च तत्वको बिषय धेरै व्यापक छ । यीनै तत्वहरूको गुणलाई उपयोग गरेर आधुनिक युगमा पनि धेरै उपचार र रोगप्रतिरोध विधिहरू प्रयोग र विकास समेत गरिएका छन् । यस लेखमा चार तत्वहरू बारे सामान्य परिचय र आकाश तत्व बारे केही बढी जानकारी दिने जमर्को गरिएको छ ।

पृथ्वी तत्व:- पृथ्वी तत्वलाई आधार तत्व मानिन्छ । पृथ्वीका ठोस वस्तु जस्तै हाम्रो शरीरमा भएका वस्तु पृथ्वी तत्व हो । हामीले खाने खाना पृथ्वीबाट प्राप्त हुन्छ । त्यसैले खाध्य विज्ञान पृथ्वी तत्वसँग सम्बन्धित छ । यो तत्वले हाम्रो मूलाधार चक्रसँग सम्बन्ध राख्दछ । हाम्रो जीवनलाई माटोसँग जोड्नु पर्छ भनिन्छ । खाली खुट्टा हिड्ने, रूखलाई अँगालो हाल्ने जस्ता कार्यले हाम्रो शरीरमा सकारात्मक उर्जा चार्ज हुने गर्दछ । प्राकृतिक चिकित्स पद्धतिमा माटोको प्रयोग धेरै हुने गर्छ । अहिले धेरै रोगहरू लाग्नुको मुख्य कारणमा प्राकृतिसँगको सोझो सम्बन्धबाट टाढिनुलाई मानिन्छ । पृथ्वी तत्व र स्वास्थ्यको कुरा गर्दा खानेवस्तु र खाने तरिका यस अन्तरगत राख्न सकिन्छ । यसको लागि छुट्टै व्याख्याको आवस्यकता देखिन्छ ।

 जल तत्व:- हाम्रो शरीरमा सबभन्दा बढी जल तत्व हुन्छ । यो तत्व हाम्रो भावनासँग सम्बन्धित हुन्छ । जल तत्व पानी, बरफ र ग्यासको रूपमा रहेझै हाम्रा भावनाहरूले पनि कहिले जमेर तनाव दिन्छन्, कहिले बगेर सहाल्नै नसक्ने हुन्छन् र कहिले उडेर निश्चित आकार लिनै पाउँदैनन् । जलको सम्बन्ध जिब्रोसँग हुन्छ । यो तत्वको सम्बन्ध हाम्रो पिंगला नाडीसँग रहन्छ जुन नाडी हाम्रो दाहिने मस्तिष्कमा क्रियाशील हुन्छ । मूर्तरूपमा भन्दा हाम्रो स्वास्थ्यको लागि पानीको महत्व यसै शिर्षक अन्तरगत राख्नु पर्ने हुन्छ । प्रथमतः पानीको शुद्धता आवश्यक पर्दछ । पानी ब्याक्टेरिया र रासायनिक गंधमुक्त हुनु पर्दछ । पानीको माध्यमबाट धेरै रोग फैलिने गर्दछन् । आजभोली पानीको शक्ति,टिडिएस र पिएच परीक्षण गर्ने परिपाटी बढ्दै गएको छ । पानि बसेर दूध उठेर पिउनु पर्ने सूझाइएको छ । बिहान सबेरै पिउने पानीलाई अमृत समान मानिएको छ । ऋग्वेदमा पानीलाई सबै रोग निवारण गर्ने औषधि मानिएको छ । हाम्रो शरीरबाट विजातीय तत्वहरू पानीको माध्यमबाट निस्कासन गर्न सकिने मानिन्छ । पानी धेरै प्रयोजनको लागि हामी दैनिक प्रयोग गरिरहेका हुन्छौ ।

 वायु तत्व:- वायु तत्व सुक्ष्म हुन्छ । वायुलाई प्राण पनि भनिन्छ । हावा नै हाम्रो शरीरमा सबभन्दा छिटो फैलिने तत्व हो । क्लोरोफर्म सुँध्ने बित्तिकै बेहोस हुने कारण पनि तिब्र फैलावटले हो । हाम्रा सम्पूर्ण नशनाडीलाई अक्सिजन आवस्यक पर्दछ । जुन कुरा अति गुणकारी हुन्छ त्यत्तिनै हानिकारक पनि हुन्छ भनिन्छ । त्यसैले हावा लिने छोड्ने योगको एउटा क्रिया प्राणायम ठीक तरिकाले गर्नुपर्ने हुन्छ । हावाको शुध्दतामा अधिक महत्व दिने गरिन्छ । हावाबाटै धेरै महामारीहरू फैलिने गर्दछन् । यज्ञमा विभिन्न वस्तुहरू जलाएर निस्कने ग्यासको बैज्ञानिक महत्वको पनि परीक्षणहरू हुँदै आएका छन् । फ्रान्सका बैज्ञानिक लिटवर्टले शख्खर जलाउदा निस्कने ग्यासले हैजा जस्ता रोगका किटाणु नाश गरेको परीक्षणबाट शिद्ध गरेका थिए । श्वास ढीलो,गहिरो र लामो लिने गर्दा आयु बढ्ने मानिन्छ ।

कोभिड महामारीको समयमा विकसित देशका एक कोभिड लागेका धनाढ्य बृद्ध ब्यक्तिले देखाएको व्यवहारबाट हावाको महत्व कति हुदोरहेछ सजिलै बुझ्न सकिन्छ । ती व्यक्तिलाई अस्पतालले एक दिन अक्सिजन ग्यास जोडेको बिल करोडौं तिर्न भनिएछ । ती व्यक्ति धुरुधुरु रुन थालेछन् । ती व्यक्ति चर्को बिल तिर्न परेकाले रोएका होलान् भन्ने ठानिएछ । ती व्यक्तिले भनेछन्, “ म बिल तिर्न परेर रोएको होइन । एकदिनको स्वास यति दामी हुदोरहेछ । मैले नब्बे वर्षसम्म यस्तो अमूल्य हावा निशुल्क लिइरहेको रहेछु । तर मैले यो प्रकृतिलाई केही दिन सकिन ।”

अग्नि तत्व:– हाम्रो शरीरको तातोपन अग्नी तत्व हो । सूर्य तापको स्रोत हो । चिन्ता, शोक, राग आदि अग्नीबोधक हुन्छन् । अग्नी जीवनदाता तथा जीवन भक्षक तत्व हो । हाम्रो शरीरभित्र धेरै प्रकारका अग्नि जल्ने गर्दछन् । खाना पचाउने अग्नि जठार अग्नि हो । बुद्धिको अग्नीलाई चिताग्नी भनिन्छ । चिताग्नी ठीक तरिकाले प्रज्वलीत नहुदा बुद्धि कमजोर र प्रभावहीन बन्न जान्छ । भूताग्नी सर्वाग्नीको पनि आ-आफ्नै महत्व रहेको हुन्छ । जहाँ चैतन्य हुन्छ त्यहाँ गर्मी अवश्य हुनु पर्छ । शरीरमा गर्मीको अन्तसँगै जीवनको अन्त हुन्छ । घाम तापेर शरीर पटपटी फुटाउनको लागि मात्र पनि ठण्डी देशहरूबाट गर्मी देशहरूमा पर्यटक भित्रिने गर्दछन् । बिहानको घाम ताप्नु अग्नि तत्व परिपूर्तिको लागि सर्वोत्तम मानिन्छ । स्वर विज्ञानमा चन्द्र वा सूर्य नाडी सक्रिय पारी शरीरमा तापक्रम घटाउन वा बढाउन सकिने विधिहरू रहेका छन् ।

आकाश तत्व:- पञ्च तत्वमध्ये आकाश तत्व अमूर्त जस्तो प्रतीत हुन्छ । प्रत्येक अणु परमाणुमा रहेको रिक्तता आकाश तत्व हो । हाम्रो शरीरमा पनि रिक्तता हुन्छ । ध्वनी आकाश तत्वको गुण हो । टिभि, रेडियो, फोन आदिको आवाज आकाश तत्वको माध्यमबाट प्रसारण हुन्छ । त्यसैले रेडियोलाई आकाशवाणी पनि भनिन्छ । आकाशमा इथर भन्ने तत्व हुन्छ । त्यसैको माध्यमबाट ध्वनीले गति लिन्छ । ध्वनी/ मन्त्रको उच्चारणबाट आकाश तत्व बढाउन सकिन्छ । व्यक्तिको आवाजबाट उसको व्यक्तित्व निर्धारण हुन्छ ।

विचार, इच्छा आकाश तत्वबाट आउँछ । आफ्नो जस्तो मन हुन्छ त्यस्तै विचार आफुतिर आकर्षण हुन्छ । धेरै रेडियो तरङ्ग हाम्रो वरिपरि प्रवाह भैरहेका हुन्छन् । रेडियोको मिटर मिलाउदा मात्र अपेक्षित तरङ्ग टिपाउन सकिन्छ । यसैगरी हाम्रो मन जुन कुरामा केन्द्रित हुन्छ, त्यही सुनिन्छ; त्यही विकसित हुन्छ । प्रेरणा आकश तत्वबाट प्राप्त हुन्छ । सबैका विचार आकशमा विचलन गरिरहेका हुन्छन् । जसले नकरात्मक सोचाइ राख्दछ त्यसलाई नकारात्मकता नै आकाश तत्वबाट प्राप्त हुन्छ । सकरात्मक सोचाइ लिनेलाई सकरात्मकता नै प्राप्त हुन्छ । मानिसले जे सोच्दछ त्यस्तै काम गर्दछ । त्यसैले राम्रो सोच्नु पर्छ भनिन्छ । सकरात्मक सोचाइले स्वस्थ्यमा राम्रो प्रभाव पार्दछ । हामीबाट निस्कने विचार-उर्जा आकाश उर्जासँग जोडिन जान्छ । सद्भावसाथ उच्चारण गरिएको ओमकार ध्वनिले वातावरणलाई राम्रो प्रभाव पार्ने ठानिन्छ । सूर्यले सदैव ओमकार ध्वनिसँग मिल्दो ध्वनि प्रवाह गरिरहेको कुरा नासाले गरेको अनुसन्धानबाट पत्ता लागेको छ । ध्वनिबाट उपचार गर्ने विभिन्न विधिहरू पनि विकास गरिएका छन् ।

पाचन, पोषण र निस्कासन हाम्रो शरीरमा नियमित हुने कार्यहरू हुन् । आकाश तत्व असन्तुलन हुन जादा यी तीन कुरा बिग्रन जान्छन् । भारीपन र कम श्रवण क्षमता पनि आकाश तत्वको कमीले हुन्छ भनिन्छ । आकाश तत्वको कमीले मानसिक असन्तुलन अनावश्यक सोचाइ बढाउने ठानिन्छ । हामीमा भाव बिचार पैदा आकाश तत्वबाट हुन्छ । आकाश तत्व र वायु तत्बको मिश्रणबाट कामना, आकाश र अग्निबाट क्रोध, आकाश र जलबाट मोह साथै आकाश र पृथ्वीबाट भय उत्पन्न हुन्छ भनिन्छ । ध्यानबाट आकाश तत्व प्राप्त गर्न सकिने हुदा यदि ध्यानमा अत्यधिक भावना बढेको खण्डमा ध्यान रोक्नु पर्ने सुझाव दिइन्छ । आकाश तत्वलाई यदि हामीहरूले अन्तरमूखी बनाउन सकिएन भने हाम्रो मन पनि अनन्त आकाश जस्तै असन्तुष्टिको चक्रमा फसिरहने छ रे ।

आध्यात्मिक पक्ष आकाश तत्वसँग जोडिएको छ । यस बारे एउटा प्रतिकारात्मक कथा बनाइएको छ । इन्द्र देवता समुन्द्र पातल हिमाल अन्तरिक्ष आदि जहाँ पुग्दा पनि मानिसले उनलाई पछ्याएर आ-आफ्नो गुनासो राख्दै हैरान पारेछन् । अन्तमा सूर्यको सूझाव मानेर इन्द्र मानिसको हृदयमा बस्न थालेछन् । त्यसदिनदेखि मानिस इश्वरको खोजिमा मन्दिर, मस्तिज,चर्ज, आकाश, धर्ती, पातल जताततै भौतारि हरेको छ । तर आफैभित्र रहेको इश्वर चिन्न सकेको छैन ।

हामीहरूले मूर्त र अमूर्त, देखिने र नदेखिने धेरै खानेकुरा र नखाने कुरा जानेर वा नजानेर खाइरहेका हुन्छौ । आफुलाई आफुले भन्दा बढी कसैले चिनेको हुदैन । आरूलाई बदल्न खोज्नुअघि आफै बदलिनु पर्ने रहेछ । मानिसको एक जीवनभित्र धेरै जीवनहरू हुन्छन् । पञ्च तत्वको सन्तुलनबाट सबै जीवन सन्तुलित हुने रहेछन् । सबै बलहरूभन्दा आत्मबल ठूलो हुन्छ । आफ्ना कमी कमजोरीहरूको बलि दिन सकौ । आफ्नो अन्तरचेतको दियो बाल्न सकौ ! शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->