बागलुङ/प्रस्तावित कालीगण्डकी जलासययुक्त जलविद्युत आयोजना निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
बागलुङ र पर्वतका अधिकांस स्थान प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न विद्युत विकास विभागले विभिन्न चरणका सार्वजनिक सुनुवाई समेत आयोजना गरेको हो । तर, यो आयोजनाको प्रारम्भिक अध्ययनकै क्रममा टिप्पणी र आलोचना शुरु भएको छ ।
पहिलो चरणमा बागलुङ नगरपालिका १ बाट थालेर जैमिनी नगरपालिका ६, गुल्मीको कालीगण्डकी गाउँपालिकाहुँदै सुनुवाइ गर्ने अभियान चलाएको हो । हाल अध्ययन गरिएको आयोजना बागलुङको जैमिनी ८ र गुल्मीको कालीगण्डकी गाउँपालिका ६ को मध्यभागमा निर्माण हुनेछ । ६ सय ४० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको जलासय बनाउँदा बागलुङ र पर्वतका अधिकांस स्थान डुबानमा पर्नेछन् । विद्युत विकास विभाग र कन्सल्ट्यान्ट कम्पनी स्मेक इन्टरनेशनल प्रालि, अष्टे«लिया र जेड कन्सल्ट्यान्ट प्रालिले प्रारम्भिक सर्भेक्षण गरेर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका लागि सुनुवाई गरेको हो ।
यो सुनुवाईपछि आम नागरिकको धारणा बुझेर काम अगाडि बढाउने विभागकी सिनियर डिभिजन इन्जिनियर प्रतिभा मानन्धरले बताइन् । उनले आयोजना निर्माण गर्न भने दशक बढी समय लाग्ने बताइन् । ‘हामीले जलासययुक्त जलविद्युत आयोजना निर्माण गरेर देशको विद्युत क्षमता बढाउने गरी योजना बनाएर काम थालेका हौं’ उनले भनिन्, ‘रन अफ दि रिभरका आयोजना धेरै छन्, हिउँदको लागि नभएकोले यो अध्ययन भएको हो ।’ यो अध्ययनको प्रतिवेदन सरकारलाई बुझाएपछि मात्र कस्तो प्रकारको बन्ने भन्ने ठहर हुनेछ ।
यो आयोजना निर्माण गर्दा बागलुङको जैमिनी १, ५, ६, ७ र ८ तथा बागलुङ नगरपालिकाको १, ४, १०, १२, १३ र १४ को भूभाग डुबानमा पर्छ । त्यस्तै पर्वतको कुश्मा नगरपालिका १, २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा पनि डुबान हुनेछ । जलजला गाउँपालिकाको वडा नं. ८, कालीगण्डकी नगरपालिकाको वडा नं. ६, पर्वतकै फलेवास नगरपालिकाको वडा नं. ४, ५, ६, ७, १० र ११ तथा बिहादी गाउँपालिकाको वडा नं. १ र २ मा पनि डुबान हुनेछ ।
यो आयोजनाले जैमिनी धाम, मोदीबेणी धाम, बेलबगर, मालढुंगा र फोर्से बजार समेत डुबानमा पर्छ । हाल संचालनमा रहेको विश्वकै दोश्रो बञ्जीजम्प र जिपलाइन पनि संचालन गर्न नमिल्ने गरी डुबान हुने प्रतिवेदनमा उल्लेख छ । त्यस बाहेक हाल निर्माणाधिन कालीगण्डकी करिडोरको झण्डै २० किमी खण्ड, पोखरा बागलुङ सडकको केही खण्ड, मालढुंगास्थित मोटरेवल पुल समेत डुबानमा पर्ने भएको हो । त्यस बाहेक झोलुङ्गे र मोटरेवल गरी कालीगण्डकीमा बनेका २७ बढी अन्य पुल पनि अन्यत्र सार्नुपर्ने अवस्था हुने प्रतिवेदनमा उल्लेख छ ।
२ खर्ब २४ अर्ब ६५ करोड लागत अनुमान गरिएको आयोजनालाई कम्पनी वा अन्य मोडलमा निर्माण गर्ने भन्ने यकिन भैसकेको छैन । संभाव्यताका चरण पुरा गरेपछि कुन मोडलमा जाने, कसको सहयोग जुटाउने भन्ने सरकारले निर्धारण गर्ने छ ।
आयोजना निर्माण गर्दा १ हजार ८ सय ९० हेक्टर जमिन आवस्यक पर्ने, त्यसमा ८ सय ३ हेक्टर निजी जग्गा, १ हजार ६२ हेक्टर वन क्षेत्र र ४ सय ७३ हेक्टर जमिन राजमार्ग तथा झण्डै २ हेक्टर अन्य महत्वपूर्ण जमिन पर्ने छ । नेपाल विद्युत प्राधिकरणले हाल निर्माण गरेको दाना, खुर्कोट, कालीगण्डकी प्रसारण लाइनको समेत दुइ दर्जन बढी हाइटेन्सन पोल सार्नुपर्ने सर्भेक्षणमा देखिएको हो । यो आयोजनाबाट २ हजार ५ सय ५२ घरधुरीमध्ये ११ हजार ९ सय २९ जनसंख्या प्रत्यक्ष प्रभावित हुनेछन् । उनीहरुलाई मुआब्जा दिएर अन्यत्र सार्नुपर्ने देखिएको हो ।
आयोजनाले धेरै क्षति गर्ने हो भने जलासययुक्त बनाउन उपयोगी हुँदैन भन्ने अधिकांसको प्रतिक्रिया आएको जैमिनी ७ का बिष्णुराज पौडेलले बताए । ‘महत्वपूर्ण गन्तव्य र धाम नै पुरिने हो भने बनाउनै पर्छ भन्ने छैन’ पौडेलले भने, ‘अन्य आयोजना पुरा गरेर आवस्यकता पुरा गर्न सकिन्छ ।’ लामो समयदेखि तयारी भएको बुढी गण्डकी आयोजना निर्माण गरिसक्दा देशको आवस्यकता पुरा गरेर विद्युत निर्यात गर्न पनि सकिने उनले सुझाए । अधिकांस सहभागिले पनि लागत बढी भएकोले यो आयोजना बनाउने क्रममा ख्याल गर्नुपर्ने बताएका छन् । नेपालका अन्य आयोजना निर्माण गर्दा भन्दा यो आयोजनामा दोब्बर लागत लाग्ने अनुमान छ ।





