हामीमध्ये कतिपयलाई कुकुरदेखि स्वाभाविक रूपमा डर लाग्छ, किनकि कुकुर प्रायः टोक्ने स्वभावका हुन्छन् भन्ने सोच रहेको छ । तर कुकुर यस्तो प्राणी हो जुन आफ्नो समूहमा मिलेर बस्न सक्दैन र मानिससँगै नजिक रहेको हुन्छ र मायालु पनि हुन्छ । कुकुर मन पराउने व्यक्तिले कुकुरको स्वभाव पहिचान गर्नसक्छन् र उसको आनीबानी तुरुन्तै पत्ता लगाउन सक्छन् तर कुकुरदेखि डराउनेहरूले कुकुरको नजिक पर्न चाहँदैनन् चाहे जतिसुकै मायालु होस् । कुकुर मानिससँगै घरमै बस्ने गर्छ र मानिसले दिएको खानेकुरा खाएर सन्तोष मान्छ । तर कतिपय यत्तिकै छाडा छाडेका कुकुरहरू (भुस्याहा) जथाभावी हिँड्ने, जे पायो त्यही चोरेर पनि खाने, फोहरी स्वभावका हुने र मानिसको नजिक पर्न नचाहने बरु अवसर पाए आक्रमण गर्ने स्वभावका हुन्छन् । यस्ता कुकुरहरू जथाभावी खानेकुराको खोजीमा हिँड्ने हुँदा वन जंगलमा समेत पुग्छन् र जंगली जनावरले खाने गरेको सिनो समेत खान पुग्छन् । जसले गर्दा कुकुरमा जंगली जनावरका कतिपय रोगहरू सरेर बिरामी पर्छन् र घरका कुकुरसँग सम्पर्कमा आएमा रोग सार्न सक्छन् । यसरी जनावरमा सर्ने रोगहरूमध्ये रेबिज रोग पनि यसरी नै सर्दछ र कुुकुरलाई रेबिज रोग लाग्न सक्छ जुन रोगले कुकुरलाई मात्र असर नगरी मानव समुदायमा समेत असर पर्छ । त्यसकारण यस आलेखमा प्राणघातक रेबिज रोगका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
रेबिज एक प्रकारको भाइरस (Rhabdo virus or Lyssa virus) द्वारा हुने र रोग लागेमा केन्द्रीय स्नायु प्रणालीमा वा मस्तिष्कमा नै असर पारी मृत्यु गराउने शतप्रतिशत मृत्यु सुनिश्चित भएको प्राणघातक रोग हो । यो समस्या विश्वव्यापी समस्या हो र विश्वमा प्रतिवर्ष यो रोग लागेर ५५ हजार मानिसको मृत्यु हुनेगर्छ भने नेपालमा ३५ जना मानिसको मृत्यु हुनेगरेको तथ्यांक छ (Pantha, S. et. al., 2020, review of rabies in Nepal) । यो रोग लागेमा सुरुवातमा प्रायः पानीदेखि तर्सिने लक्षण देखापर्ने हुँदा यो रोगलाई पानीदेखि डराउने रोग (Hydrophobia) वा बहुला कुकुरले टोकेर हुने रोग रेबिज (Rabies) पनि भनिन्छ ।
यो रोग जंगली जनावर वा जसको शरीरमा रेबिजको किटाणु छ त्यस्ता जनावरको टोकाइद्वारा र ती मध्ये पनि ९९ प्रतिशत जति बहुला कुकुरको टोकाइबाट मानिसमा लाग्ने गरेको पाइन्छ । कुनैपनि रेबिज रोगका किटाणु बोकेका जनावरको टोकाइसँगै घाउमार्फत ¥यालमा भएका किटाणुहरू व्यक्तिको शरीरभित्र पस्छन् र ¥याल ग्रन्थि, फोक्सो, मृगौला, प्याङ्क्रियाज आदिमा बसेर वृद्धि विकास भएपछि ती किटाणुहरूले केन्द्रीय स्नायुप्रणाली र सुषुम्ना (Spinal cord) मा असर गर्न थाल्छन् । फलस्वरूप फोक्सो लगायत शरीरका विभिन्न अंगहरूको प्यारालाइसिस भई व्यक्तिको छिटै मृत्यु हुन्छ । यस्तो शतप्रतिशत मृत्यु सुनिश्चित भएको रोगका बारेमा बेलैमा कुरा बुझेर रोगबाट सावधानी अपनाउनुपर्ने भएकाले यहाँ रोगका बारेमा प्रष्ट पार्ने प्रयास गरिएको छ ।
जनावरले टोकेको कति समयपछि रेबिज रोग लाग्छ भन्ने जिज्ञासा धेरैमा भएको पाइन्छ । रेबिज रोग लाग्नका लागि यति नै समय भन्ने ठोकुवा छैन तापनि सामान्यतया टोकेको १ देखि ३ महिनासम्म रेबिज रोग लाग्न सक्छ । तर यसमा जनावरले टोकेको ठाउँ, गहिराई, छाडेको किटाणुको मात्रा, जनावरको प्रकार आदिको आधारमा फरक फरक हुन सक्छ । यदि टाउकोको भागमा टोकेको भए छिटै लक्षण देखिन सक्छ तर खुट्टाको भागतिर टोकेको, धेरै गहिरो घाउ नभएको अवस्थामा रेबिज रोगको लक्षण देखिन कहिलेकाहीँ ३–८ हप्ता र कहिलेकाहीँ ४ दिनदेखि १ बर्ष सम्म पनि हुनसक्छ भने रेबिज रोग देखापर्ने अवधि कुनैपनि कुकुरमा संक्रमण भएको ३ देखि ६ हप्ता र कम्तिमा पनि १० दिनको हुन्छ ।
यसैगरी रेबिज रोग केवल बहुला कुकुरले टोकेर मात्र हुने हो त ? यो एकदेखि अर्को व्यक्तिमा सर्न सक्छ वा सक्दैन जस्ता जिज्ञासा उठ्न सक्छन् । वास्तवमा रेबिज रोग बहुला कुकुरले टोकेर मात्र हुने होइन । यो रोग अन्य रेबिजयुक्त जनावरको टोकाइबाट पनि हुनसक्छ । कुनैपनि जंगली जनावरको शरीरमा रेबिज रोगका भाइरसहरू हुनसक्छन् तर ती जनावरमा रोग देखा परेको हुँदैन बरु अरुलाई सार्न सक्छन् । ती जनावरले सिकार खाँदा ¥याल मार्फत भाइरसहरू सिकारमा पुग्छन् र त्यो जुठो सिनो कुकुर लगायत अरु जनावरले खाँदा भाइरस पनि सर्न सक्छन् र ती जनावर रेबिजको जोखिममा रहने भए । घरपालुवा कुकुर वा अन्य जनावरमा रेबिज भाइरसले असर गरी रोग देखापर्दा बहुलाएका हुन् तर जंगली जनावरमा किटाणु भएतापनि रोगका लक्षण नदेखिने हुँदा यस्तो भएको हो । त्यसो हुनाले जंगली जनावरले टोक्नु वा चिथर्नु र बहुला कुकुरले टोक्नु उस्तै अवस्था मान्नुपर्छ । रेबिज रोग सर्नसक्ने सम्भावित कारणहरू यसप्रकार हुनसक्छन्–
̵ रेबिज भाइरसयुक्त जनावर वा बहुला कुकुरको टोकाइबाट ।
̵ घाउ खटिरामा रोगी जनावरको ¥याल परेमा वा जनावरले चाटेमा ।
̵ रोगी व्यक्तिसँगको व्यक्तिगत सम्पर्कबाट आदि ।
रेबिज रोग लाग्दा देखापर्ने चिन्ह र लक्षणहरू
रेबिज रोग लागेमा देखापर्ने चिन्ह र लक्षण कुकुर र मान्छेमा फरक हुन्छन् । रेबिज रोग लागेमा कुकुरमा देखापर्ने चिन्ह र लक्षणहरू पनि निम्न २ किसिमका हुन्छन्–
क) आक्रामक अवस्था
̵ यस्तो अवस्थलाई कुकुर बहुलाएको (mad dog) भनिन्छ ।
̵ यस्तो अवस्थामा कुकुर आक्रामक प्रकारको हुन्छ ।
̵ जथाभावी दौडने, प्रशस्त ¥याल निकाल्ने, खाना नखाने, पानीदेखि तर्सिने र आवाज परिवर्तन हुन्छ ।
̵ अनौठो व्यवहार देखाउने र अनौठो रूपले भुक्ने, दौडने गर्छ ।
̵ पुच्छर खुट्टामुनि लुकाएर हिंड्ने र यस्तो हिंडाइ जथाभावी हुन्छ ।
̵ मुखमा फिंज बढी निकाल्ने र जिब्रो बाहिर लत्रिरहने ।
̵ पानीबाट डराउने ।
̵ बढी आक्रामक भई जे पायो त्यही वा जसलाई पायो उसैलाई टोक्दै हिंड्ने ।
̵ सास फेर्न नसकि १० दिनभित्रमा मर्छ ।
ख) रोगी वा अल्छी अवस्था
यस्तो रेबिज भएको कुकुर झोक्राएर बस्छ, सुतिरहन्छ, ज्वरो आउँछ, डिस्टर्व मान्छ, खाना खाँदैन, अल्छी प्रकारको हुन्छ र ३ दिनभित्रमा मर्छ ।
रेबिज रोग लागेमा मानिसमा देखापर्ने चिन्ह र लक्षणहरू निम्न किसिमका हुन्छन्–
– कुकुरले टोकेको कुरा भन्ने ।
– टोकेको ठाउँ दुख्ने, सुन्निने, रगत आउने, तातो हुने आदि ।
– रेबिज रोगका लक्षण देखापरेमा : टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, खाना निल्न नसक्ने, पानीदखि डराउने, हावा देखि तर्सने, ¥याल आउने, मांसपेशी खुम्चने, कम्पन आउने, पक्षाघात (Paralysis) हुने, बहुला कुकुरको जस्तो आवाज हुने, बेहोस हुने आदि ।
– अन्तिम अवस्थामा मांसपेशी बाउँडिने समस्या निकै बढी मात्रामा हुन थाल्छ, पानी पिउन र कुनैपनि वस्तु निल्न सक्दैन, पछिपछि पानी देख्दा र पानीको आवाजबाट पनि डराउन थाल्छ, मस्तिष्कले काम गर्न सक्दैन, कम्पन छुट्छ, बेहोश हुन्छ र यस्ता लक्षण देखिएको ३–४ दिनभित्र श्वासप्रश्वास प्रक्रियामा पक्षाघात हुँदा श्वासप्रश्वास बन्द भई विरामीको मृत्यु हुन्छ ।
रेबिज रोग लाग्नबाट बच्न अपनाउनुपर्ने सावधानीहरू
कुकुरले टोक्नु एउटा दुर्घटना हो र कहिलेकाहीँ यस्तो टोकाइले व्यक्तिको ज्यानै जाने प्राणघातक रेबिज रोग लाग्नसक्छ । त्यसकारण कस्तो कुकुरले टोकेको हो पहिचान गरी त्यसको प्राथमिक उपचार गर्ने, घाइतेको विशेष निगरानी राख्ने र अस्पतालमा जानुपर्छ । प्रायः कुकुर, स्याल, फ्याउरो, ब्वाँसो, बिरालो, न्याउरी मुसा आदिको टोकाइबाट पनि रेबिज रोग लाग्न सक्छ । यो रोग लागेपछि व्यक्तिको मृत्यु निश्चित छ । त्यसकारण यो रोगबाट बच्न त्यस्ता जनावरको टोकाइबाट र सम्पर्कबाट बच्नु पर्छ । धेरै जसो यो र।ेग घर, समुदायमा कुकुरले टोकेर सार्ने हुँदा विशेष गरी रेबिज रोगलाई बहुला कुकुरले टोकेर लाग्ने रोग नै भनेर बुझिन्छ । यो रोग लागेपछि मर्नु शिवाय अन्य कुनैपनि उपचार सम्भव नभएकोले रोग नै लाग्न नदिन रोकथामका उपायहरू वा सावधानी यसप्रकार अपनाउनु पर्दछ–
̵ कुकुर वा कुनैपनि जंगली जनावरले चाट्ने वा टोक्नेबित्तिकै घाउलाई राम्ररी साबुन पानी वा किटाणुनासक झोल जस्तै डिटोल, बेटाडिन जे छ त्यसले सफा गर्ने र घाइतेलाई उचित सान्त्वना दिने ।
̵ यदि घाउबाट रगत बगिरहेको अवस्था छ भने रक्तश्राव नियन्त्रण गर्ने उपाय अपनाउँदै यथाशक्य छिटो अस्पतालमा गइ परामर्श लिने व्यवस्था मिलाउने ।
̵ घरपालुवा कुकुरलाई राम्रोसँग पाल्ने हो भने आफ्नो निगरानीमा राख्ने, छाडा नछाड्ने र समय समयमा रेबिज विरुद्धको खोप लगाइदिने । भुस्याहा कुकुरहरूलाई नियन्त्रण गर्ने वा उचित व्यवस्थापन गर्ने ।
̵ रोगीसँग सम्पर्कमा जाने सबैले रेबिज विरुद्धको खोप लगाइ सुरक्षित हुने ।
̵ यदि रेबिज रोग भएको शंका लागेको मात्र भएपनि त्यस्ता जनावरको मासु, दुध केही नखाने र मरेमा गाड्ने वा जलाउने ।
अन्तमा, रेबिज जस्तो प्राणघातक रोग कसैलाई लाग्न नदिन सकभर जनावरहरूको सम्पर्कमा जानुहुँदैन, मरेका वा रोग लागेका जनावरको मासु दुध खानुहुँदैन, घरपालुवा जनावर पाल्दा पनि निगरानीका साथ पाल्नुपर्छ, रोग लागेमा उचित तरिकाले जचाउने र उपचार गर्नुपर्छ, खासगरी कुकुर पाल्दा होसियारीपूर्वक पाल्ने र समय समयमा खोप लगाउनुपर्छ, कुनैपनि अपरिचित कुकुर वा जनावरको टोकाइ भएमा, ¥यालसँग सम्पर्क भएमा वा चाटेमा पनि सावधानीका उपाय अपनाउने, पशुपालन गर्ने वा भेटेनरीमा काम गर्नेले सुरक्षित उपायका साथ काम गर्ने र रेबिज रोग लाग्न नपाओस् भनेर पहिल्यै रेबिज विरुद्धको सुई खोप लगाउने काम गर्नुपर्छ । यदि कुकुर बहुलाएको भए एकै समयमा धेरैजना व्यक्ति र घरपालुवा जनावरलाई टोक्न सक्ने हुँदा विशेष सुरक्षाका उपाय अपनाउँदै त्यस्तो कुकुरलाई मारेर जलाउने वा गहिरो खाडलमा पुर्नुपर्छ । यदि यस्ता उपाय अपनाउन सक्ने हो भने रेबिज रोगबाट समेत बच्न सकिनेछ ।



