पोखरा/बुधबार युनाइटेड अरब इमिरेट्स(युएई) मा यु १९ विश्वकपका लागि छनोट खेलको अन्तिम खेल थियो । अन्तिम खेलमा घरेलु टोली युएईको प्रतिद्वन्द्वी थियो–नेपाल यु १९ महिला टोली । डबल राउन्डरोविनको आधारमा खेलाइएको खेलमा कुल चार राष्ट्र सहभागी थिए । युुएईले यसअघि नै विश्वकप खेलिसकेको थियो । तीबाहेक नेपाल, थाइल्याण्ड र कुवेत थिए । नेपालले अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपको यात्रा तय गर्न सफल भएको हो । छनोट खेलको पहिलो चरणमा युएईसँग १३ रनको हार व्यहोरेको नेपालले अन्य राष्ट्रमाथि भने जीत निकाल्यो । पहिलो चरणको खेलमा यूएईले १ सय २२ रन बनाएको थियो, १ सय २३ रनको लक्ष्य पाएको नेपाल १ सय ९ रनमै स्तब्ध भयो । दोस्रो चरणमा यूएई र नेपालले समान दुई÷दुई खेल जितेपछि खेलको निर्णय अन्तिम खेल अर्थात युएई र नेपाल बिचको खेलबाट हुने स्थिति बन्यो । जुन खेल युएईको अजमानमा बुधबार भएको थियो । ८४ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गरे विश्वकपमा पुग्ने समीकरण बनेको थियो । उच्च मनोबलका साथमा खेलेको नेपालले अन्ततः १४.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । लक्ष्य पूरा गर्दा नेपालले विश्वकप मात्र खेल्ने भएन त्यो भन्दाअघि एसिया कपसमेत खेल्न पाउने भयो । विश्वकपमा छनोट भएकै कारण त्यो अवसर प्राप्त भएको थियो । महिला क्रिकेट विकास भएको करिब दुई दशकमा पहिलो पटक नेपाली महिला टोलीले उमेर समुह नै किन नहोस् विश्वकप खेल्ने सपना पूरा गरेको छ । पुरुषको यु १९ टिमले विश्वकपमा सुपर सिक्ससम्म पुग्न सफल भइसकेको छ । उमेर समूहमा नेपाल उत्कृष्ट देखिन थालेको छ । महिला क्रिकेटमा एउटा इतिहास बनाउँदै गर्दा गण्डकीबाट चारजना खेलाडी राष्ट्रिय टिममा समावेश रहे । विश्वकपमा इतिहास बनाउँदा चार गण्डकीका चार खेलाडी साक्षी रहे । ति खेलाडीहरु हुन्ः सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सनिका मरासिनी । यी चार खेलाडी टिममा मात्रै परेनन्, उनीहरुले अन्तर्राष्ट्रिय खेलसमेत खेले ।
वास्तवमै गण्डकीबाट राष्ट्रिय टिममा पर्नु पनि सामान्य कुरा होइन । गण्डकीमा महिला क्रिकेटको विकास अझै हुन सकिरहेको छैन । यसको स्पष्ट प्रमाण हो, ११ जिल्ला भएको गण्डकीमा चार जिल्लामात्रै हुनु । पुरुषतर्फ ६ जिल्लाले क्रिकेट संघबाट मान्यता पाएको छ । जसमध्ये चार जिल्लामा महिला टिम रहेको छ । महिला खेलाडी विकासमा निकै चुनौती रहेको गण्डकीबाट टिममा पर्नु नै ठूलो कुरा थियो । उनीहरु टिममा मात्र परेनन् हरेक खेलमा आफ्नो क्षमता समेत प्रदर्शन गरिरहे । अफ स्पिनर सिमाना केसीले कुल ६ खेल नै खेलिन् । उनले कुल ८ विकेट लिदाँ २६ रन समेत बनाउन सफल रहिन । उनले थाइल्याण्ड विरुद्ध पहिलो चरणमा १९ रनमा नटआउट रहँदा दोस्रो चरणमा २ विकेट लिइन् । । यस्तै कुवेतविरुद्ध दुई खेलमा दुई मेडनसहित ४ विकेट लिइन् । युएईविरुद्ध दुई खेलमा २ विकेट लिँदा ७ रन बनाइन् । पेश बलर कुशुम गोदारले थाइल्याण्डविरुद्ध ४ मेडन राख्दै ३ विकेट लिँदा उनी प्लेयर अफ दी म्याच समेत घोषित भइन् । यस्तै कुवेत विरुद्ध १५ रन बनाइन् । ज्योत्सनिका मरासिनिले कुल चार खेल खेल्दा ५० रन बनाइन् भने रचना चौधरीले कुल ६ खेल खेल्दा ११ विकेट लिइन भने ५ रन जोडिन् । शनिबार पोखरा आएका उनीहरुलाई प्रदेश क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्ले विमानस्थलदेखि पोखरा रंगशालासम्म ¥यालीसहित सम्मान गरेको थियो । उनीहरुलाई प्रादेशिक क्रिकेट संघले नगदसहित सम्मान गर्ने भएको छ । विश्वकपमा छनोट भए पनि चारै जनाले आफूहरुका लागि इतिहास भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवसँगै अबको यात्रा निकै चुनौतीपूर्ण रहेको बताएका थिए । कुशुम गोदारले सुवातमा आफूलाई घर परिवारको साथ नभएपनि खेलमा अघि बढ्दै जाँदा भने सहयोग मिलेको सुनाइन् । उनले महिलालाई अझै पनि खेल्ने वातावरण नभएको र महिलाले पनि अवसर पाएमा सक्छन् भन्ने कुरा सावित गरेको सुनाइन् । यस्तै सिमाना केसीले महिलाका लागि पनि पुरुषका जस्तै धेरै क्रिकेट प्रतियोगिता हुनुपर्नेमा जोड दिइन् । गण्डकी प्रदेशले अब महिला क्रिकेटलाई अघि बढाएमा आगामी दिनमा अmभ प्रभावशाली खेलाडीहरुको विकास हुने उनी सुनाउँछिन् । विश्वकपका प्रवेश गर्दाको खुसी शब्दमा बयान गर्नै नसकिने उनीहरुले सुनाए । प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल क्रिकेटको विकासमा लागि परेको र आगामी २०२७ को यु १९ महिला विश्वकपका केहि खेल पोखरामा ल्याउने योजनामा रहेपनि राज्यको साथ र सहयोगको अपेक्षा गरिरहेको सुनाए । गण्डकीको क्रिकेट विकासका लागि एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको आवश्यकता रहेको र त्यो पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा सम्भव रहेको समेत सुनाए । मंसिर ३० देखि पुस ७ गते सम्म मलेसियामा आयोजना हुने यु १९ एसिया कपमा नेपाल सहित ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा भारत र पाकिस्तानसँग छ । समूह ‘ए’ श्रीलंका, बंगलादेश र आयोजक मलेसिया छन् । विश्वकप भने २०२५ जनवरी १८ देखि फेब्रुवरी २ सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग रहेको छ । विश्व कपमा नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध खेल्नेछ ।





