सदरमुकाम बागलुङमा रहेको धौलागिरी अस्पताल कुनै बेला व्यवस्थापकिय समस्याले ग्रस्त त कुनैबेला अनियन्त्रित कार्यशैलीले विछिप्त थियो । बाहिर डाक्टर र प्रविधिको अभाव, सरकारी कार्यशैली भनेर प्रचार गरिए जस्तो अहिले पटक्कै छैन । भएको छ त केवल ‘नजिकको तिर्थ हेला’ बिरामीहरु अस्पतालमा नपुगी कनै ठिक छैन भन्नू जायज नहोला नै, पहिले सेवा थिएन बिरामी थिए । अहिले सेवा राम्रो छ बिरामी छैनन् । यो सत्य हो । मानिसहरू सचेत नहुनुको परिणाम यस्तै हुन्छ । डाक्टर आउँछन् । अस्पतालले सेवासुविधा थप गर्छ तर सर्वसाधारणहरु उपचारको लागि अन्यत्र जान्छन् । घर नजिकै रहेको अस्पतालको विश्वास नगरेर खर्चिलो उपचार पद्धतिका लागि प्राइभेट अस्पताल र मेडिकलहरुको खोजी गर्नु कत्तिको जायज होला ? हस्पिटलले बिरामीको अनुपस्थितीमा डाक्टरको दीर्घकालीन सेवा कसरी प्राप्त हुन्छ ? यहाँ दर्जनौंको संख्यामा डाक्टरहरुको दरबन्दी छ । अनुभवी डाक्टर र नर्सहरुले चौबिसै घण्टा सेवासुविधा प्रदान गर्छन् भने बाह्य मेडिकल र क्लिनिकहरुको उल्लेख्य विस्तारका कारण पनि यहाँको स्वास्थ्य सेवा पारदर्शी र प्रभावकारी भईरहेको छ । ओपिडीमा विशेषज्ञको सेवा लिन दैनिक सयौंको संख्यामा बिरामीहरु पुगे पनि भर्ना हुने इच्छा कसैले देखाउदैनन् । संघियता चाहिदैन भन्दै संघियतावादीहरुलाई भोट दिँदा झैं अस्पताल राम्रो हुनुपर्छ, सेवासुविधा थपिनु पर्छ भन्ने तर आफुलाई पर्दा सबैजसोः अन्यत्र हिंड्ने प्रवृत्तिले नै अस्पतालले गति लिन नसकेको हो ।
यतिबेला म स्वयंलाई अस्पतालको आवरणभित्र करिब ४८ घण्टाको सेवा लिने अवसर मिल्यो भनौं या बाध्यता, अवसर भनौं भने छोरा (सम्भव)को उपचार खोज्दै थिए । बाध्यता भनौं भने अस्पतालको धरातल बुझ्ने सु–अवसर मिल्यो । कार्तिक २३ गते बिहान १०ः३० बजे अस्पताल परिसरमा पुगेर बालरोग विषेशज्ञको खोजीमा लागेका हाम्ले अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीलाई भेटायौ । रोगको प्रकृति अनुसार उहाँको परामर्श र निदानको उपायका बिच छोरा सम्भवलाई निमोनिया वा बाल दमको समस्या हुन सक्ने अनुमानका अगाडि हामी उहाँको नियन्त्रण या निगरानीमा रहने निक्र्याैल ग¥यौं । अस्पतालको पुरानो भवनमा निर्मित लिफ्टको सहायताबाट तेस्रो तलामा रहेको बच्चा वार्डमा पुग्यौं । त्यहाँ ओपिडीमा जस्तो भिडभाड, कोलाहल र मानिसहरूको लाइन रहेनछ । शान्त वातावरण, सफा सुग्घर कोठाहरु, भर्खरै धोएर ल्याइएका बेड कवरहरु, वेड वेडमा अक्सिजन पाइपसंगै बिरामीको प्रतिक्षामा रहेकी नर्सलाई देख्दा बढो खुशी लाग्यो । स्वास्थ्योपचारका लागि तछाडमछाड गरेका मानिसहरूको बिच ओपिडी कक्षबाट यहाँ आइपुग्दा पुर्णतः स्वस्थ भएको अनुभव छोरोले गरिरहे जस्तो लाग्थ्यो । कार्यकक्षमा बसिरहेकी नर्स पुजा आचार्यले हाम्रो स्वागत गरिन् । डाक्टरको प्रेस्कृप्सन हेरेर बेड देखाउँदै आवश्यक सामाग्री, औषधि र ल्याबको लागि रगत झिक्ने तयारी गरिहालिन् । वार्डमा एक्लै रहेपनि आफ्नो काममा निकै दक्षता प्रस्तुत गर्न सिपालु आचार्यले छोटो समयमै छोरा सम्भवसंग नाता जोडिहालिन् । दिदीभाइको नाता लगाएका उनीहरु आ–आफै रमाउन थाले । करिब ३ वर्ष उमेर नर्सको जागिरमै बिताएकी रहिछन् उनी, यसर्थ पनि काममा परिपक्वता देखिन्थ्यो । सहयोगी कर्मचारीको उपस्थिति र कार्यशैलीका बिच बच्चा वार्ड शान्त र सुव्यवस्थित देखिन्थ्यो । जसका कारण हामीले पुर्ण स्वास्थ्य लाभको कामना गरिरहेका थियौं । अत्याधुनिक प्रविधीले साथ पाएको अस्पतालमा राउन्डमा आउने डाक्टर कुर्नु नपर्ने रहेछ । कुनै रोग पहिचानका लागि गरिएका चेकजाँचका रिपोर्टहरु उनै नर्सले फोटो पठाएर डाक्टरसंग सोधपुछ गर्ने चलन रहेछ । जस्का कारण एकातर्फ डाक्टरको पर्खाइ कम हुने रहेछ भने अर्कोतर्फ उपचारलाई थप सहज हुने निश्चित रहेछ । हामी बेडमा पुगेलगत्तै आफ्नो ड्युटीमा आएकी विपना गुरुङ र त्यसपछिका विनिता केसी लगायतका अन्य नर्सहरुको कार्यशैलीहरु निक्कै भलाद्मी र बिरामी सापेक्षित रहेछन् । हुन त २०७८ सालमा अप्रेसनको माध्यमबाट बाबु जन्मिएको यहिं पृष्ठभूमि थियो । तत्कालीन समयदेखि धेरै बालरोग विशेषज्ञ डाक्टरहरुलाई अस्पतालमा भेट्यौं पटक पटकको भेटघाट र स्वास्थ्य उपचारका क्रममा डाक्टरहरुको परामर्श मननयोग्य नै लागेको छ । उहाँहरुको यहिं कार्यशैलीले हामीसंगै रहेका म्याग्दी तातोपानीबाट ३८ दिनकी छोरीको निमोनियाको उपचार गराउन आउनुभएका अभिभावकले पनि बेनी बजारमा भन्दा थप सहज उपचारका लागि यहाँ आएको बताउँदै थिए । यो सत्य हो प्रविधिको अभाव यहाँ अझै पनि छ तर डाक्टरहरुले आफ्नो पहुँच बाहिरका बिरामीलाई बाहिर रिफर गर्ने बाध्यता रहेता पनि सर्वत्र अस्पतालको उपचार सेवालाई उपेक्षा गरिनु दुःखद् महशुस गर्छन् होला नै, हामी बसेको वार्डमा हामी दुई बिरामीका अलावा ६ वटा बेड खाली थिए । हाम्रो अस्पताल बसाइमा ती बेडले बिरामी पाएनन् यो हुनुमा यस क्षेत्रका सबै बच्चाहरु निरोगी र स्वस्थ भएका होइनन् नै भएको हो त ओपिडी सेवापश्चात दोस्रो, तेस्रो बजारका अस्पतालको खोजी हो, यसरी अस्पतालमा उपयुक्त उपचार हुँदाहँुदै सर्वसाधारणको अविश्वासका कारण डाक्टरले जस पाउन सकिरहेका छैनन् । दैनिक बिरामीहरुको लाम लाग्ने यहाँ सयौंको संख्यामा बिरामीहरुले दिउँसोको समयमा भरिभराउ हुन्छ । बिहान टोकन खुलेदेखी डाक्टरसंग भेट्ने, प्रयोगशाला र भिडियो एक्सरे एवं औषधि लिनेसम्मका ठाउँमा अत्यधिक चाप हुन्छ । उनै डाक्टरको परामर्शमा स्वास्थ्य लाभ लिन विश्वास गर्ने बिरामीले अस्पतालमा भर्ना हुन आनाकानी गर्नु नजिकको तिर्थ हेला जस्तै भएको छ ।
आजभन्दा करिब डेढ वर्ष पहिले छोरा सम्भवलाई यहिं वार्डमा भर्ना गर्न आग्रह गरेकी तत्कालीन बालरोग विषेशज्ञ डा. कृति कँडेलले सम्भावना रहेसम्म उपचारको व्यवस्थापन गरिन् तर अस्पतालमा भेण्टिलेटरको अभावका बिच बाबुको स्वास्थ्य प्रतिकुलता आँकलन गरि गण्डकी अस्पताल पोखरा रिफर गरेकी थिईन । हाम्रो इच्छा प्राइभेट अस्पतालको भएपनि उनको निर्देशन अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हामी पुग्यौं । त्यहाँको वस्तुस्थिति र डाक्टरहरुको उचित निगरानीले छोटो समयमै स्वास्थ्य लाभ लिएर घर फर्किन सफल भयौं । हो तत्कालीन समयदेखि वर्तमान समयसम्म आइपुदा प्रादेशिक अस्पतालमा बालरोग बिषेशज्ञ डाक्टर भएसम्म यहीँको स्वास्थ्योपचारले हामी स्वस्थ छौं ।
अस्पतालमा बालरोग विशेषज्ञ दुई जना हुनुहुँदो रहेछ । हामी त्यहाँ पुग्दा डाक्टर सन्दीप केसी बिदामा रहेकाले डा. किरणले मात्रै चेकजाँच गर्दै हुनुहुन्थ्यो । वार्डको बसाइमा साझपख डा. केसीको आगमन भयो । उहाँ आफु बिदामा भएपनि फुर्सदको समयमा बिरामीको अवस्था बुझ्न् आएको जनाउँदै हुनुहुन्थ्यो । बाबुसंग वार्डमा बसेको मलाई सरकारी अस्पताल राम्रो हँुदैन कसैले कसैको प्रवाह गर्दैनन् भन्ने आम सर्वसाधारणको बुझाई कति गलत रहेछ भन्ने लाग्यो । भोलिपल्ट बिहानको राउन्डमा पनि डाक्टर तिवारीसंग केसी सरसंगै हुनुहुन्थ्यो, दुवै जनाले बिरामीको चेकजाँचसहित रोग निदानका लागि यथासम्भव निर्देशन दिनुभयो– बाबुको स्वास्थ्यमा उल्लेख्य सुधार भएको सुनेपछि हामी खुशी भयौं । आजलाई यतै राखौ बाबुलाई भोलि डिस्चार्ज गरौंला भन्ने डाक्टरको सल्लाहका बिच हामीले अस्पतालको बसाई एक दिन थप ग¥यौं । कार्तिक २५ गते बिहान १० बजे डाक्टर किरण तिवारीको आगमन भयो । बाबुको चेकजाँचपछि तपाईंहरुले बाबुलाई घर लग्न सक्नुहुन्छ भन्ने उहाँको भनाइ र बाबुको सक्रिय क्रियाकलाप देख्दा हामी पुर्णतः स्वस्थ्य भएको महशुस गर्दै डिस्चार्जको काम सकेर आ–आफ्नो काममा जाने निर्णय ग¥यौं ।
अस्पतालमा ओपिडी सेवा खुलेकोले बिरामीहरुको चाप उच्च थियो । डाक्टरले टिपोट गर्दिएको औषधि लिन र स्वास्थ्य बिमा बोर्डले निर्देशन गरेको १०% दस्तुर तिर्न हामीलाई निकै सकस भयो । हुनतः असहज अघिल्ला दिनहरूमा पनि भएको थियो बिमाका बिरामीलाई डाक्टरले सिफारिस गरेका धेरैजसो औषधिहरु फार्मेसीमा नपाइदो रहेछ । धेरै जसो औषधि हामीले साझा बिक्री केन्द्रबाट लिनुपरेको थियो । छोरा निको भएर डिस्चार्ज भएपछि पुरानो दुख बिर्सिएका हामीले औषधि लिएर डिस्चार्जको स्वीकृतिसहित स्वास्थ्य बिमाको मापदण्ड पुरा गर्दा करिब ३ बजेको थियो । परन्तु भीडभाडसहित बिरामीको बाक्लो उपस्थितिका बिच हामी डिस्चार्ज भएको खुशियालीमै दिन बिताएका थियौं । यहाँको स्वास्थ्य सेवा सहज नै मानेका हामीहरुले स्वास्थ्य बिमाको मापदण्डले केही असहजता महशुस गरेका थियौं । यद्यपि डाक्टर र नर्सहरुको निगरानीलाई दोषी देख्नु नादानी हुन्छ ।
जिल्ला अस्पतालको नाम लिएर २०१६ सालबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको यस क्षेत्रकै बृहत आयामको अस्पतालले २०६७ सालबाट धौलागिरी अञ्चल अस्पतालको नामबाट परिचित बन्दै वर्तमानमा आइपुग्दा तीनवटा भवन, सिटिस्क्यान, ल्याब सेवा, भिडियो एक्सरे, अक्सिजन प्लान्ट, लिफ्ट र यथोचित मात्रामा स्रोत–साधनले पूर्णता पाएको छ । पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दीका जनताले स्वास्थ्य सेवा लिंदै आएको यस अस्पताल प्रशासनले फार्मेसीको दायरा फराकिलो पार्दै टोकनसहित टिकटको बोझिलो स्थिति अनि डाक्टरको पर्खाइमा देखिएको लाइनको समस्या समाधानमा जोड दिनु आवश्यक देखिन्छ । विगतमा डाक्टरहरुको अभावसंगै विश्वसनीय स्वास्थ्योपचारको खोजीमा बिरामीहरु अन्यत्र पुग्थे, यो स्वभाविक थियो । तर, वर्तमानमा विशेषज्ञ अनुभवी डाक्टर र नर्सहरुको उपस्थितिमा रोगको परिक्षण र निदान हुँदाहँुदै पनि बिरामीहरु विश्वस्त बन्न नसक्दा अस्पताल नजिकको तिर्थ हेलाको सिकार बन्न पुगेको छ । जुन समस्या निराकरणका लागि व्यवस्थापन समितिले कर्मचारीहरुको अनियन्त्रित कार्यशैली सुधार गरि व्यवस्थित रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु अपरिहार्य देखिन्छ । यसर्थ डाक्टरहरुले बिरामीको उपयुक्त निगरानी गरिरहँदा र रोग निदानमा सकारात्मक भूमिका खेल्दाखेल्दै उत्पन्न हुने सार्वकालीन समस्या समाधानसहित बिरामीलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु आजको आवश्यकता ठहर्छ ।



