मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गैरसरकारी संस्था छाडेर कृषिमा रमाएका ‘रामप्रसाद’

गैरसरकारी संस्था छाडेर कृषिमा रमाएका ‘रामप्रसाद’


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

बागलुङ/कुनैबेला उनी रातीसम्म ल्यापटपमा तालिमका सामाग्री बनाउने गर्थे । सामाजिक परिचालकहरुले ल्याएको प्रतिवेदनलाई एकीकृत गर्थे र आइएनजिओमा पठाउने आर्कषक प्रतिवेदन बनाउँथे ।
लामो समय गैरसरकारी संस्थामा सक्रिय भएकोले प्रायः उनी सदरमुकामका कार्यक्रममा बाक्लै भेटिन्थे । जिल्लाका धेरै नेता, कार्यकर्ता, सामाजिक अभियान्ता, आमा समूह र पत्रकारले पनि चिनेका पात्र दशकदेखि बजारमा भेटिंदैनन् । कतिले उनको खोजी गर्छन् त कसैले बिर्सिसके । सदरमुकामदेखि ग्रामीण क्षेत्रमा हुने समूह व्यवस्थापन तालिमका उनी मुख्य प्रशिक्षक थिए । धुँवारहित चुलो बनाउने तालिम र मौरीपालन व्यवसाय र नेतृत्व विकास समेतका सबैखाले तालिमका सहजकर्ता हुन् उनी । दुई दशक गैरसरकारी क्षेत्रको दक्ष जनशक्तीको रुपमा काम गरेका अगुवा अहिले गाउँमा छन् ।
काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको सीमका रामप्रसाद शर्माको सक्रियता लोभलाग्दो छ । भीमापोखरा युवा क्लबको खानेपानी तथा सरसफाइ परियोजना र हेफर इन्टरनेशनलको साझेदारीका कार्यक्रममा उनी संयोजक भएर लामो समय काम गरे । ती परियोजना सकिएपछि अहिले गाउँमा पनि सक्रिय जीवन बिताइरहेका छन् । झट्ट हेर्दा उनी व्यवसायिक किसान जस्तै छन् । उनको बारीमा अहिले आलु लगाउने चटारो छ । गहुँ त हरियो भैसक्यो । पत्नि साबित्राले कृषि कर्ममा साथ दिएकी छिन् । बजारमा भन्दा गाउँमै बसेर कृषि कर्ममा रमाउन पाएर शर्मा दम्पत्ति खुसी छन् ।
शर्मा दम्पत्तीले ताजा तरकारीतर्फ काउली, बन्दागोभी, गोलभेडा लगायतको खेती गरेका छन् । बारीको झ्यालमा इस्कुश प्रसस्त फलेका छन् । छानाभरी फर्सी राखिएका छन् । चरेला र अन्य तरकारीको पनि कुनै समस्या छैन । बरु बेलाबेला गाडीमा राखेर छोराछोरीलाई तरकारी पठाइदिन्छन् । भैसी र बाख्रा पालेका छन् । गाउँमा पुग्ने पाहुनालाई दही र मोही खुवाउँछन् ।
यतिधेरै काम गर्दा पनि उनी खुसी छन् । भन्छन्, ‘जता काम गरिन्छ, खुसी भएर गर्ने हो ।’ छोरा बिक्रम र बिमल सदरमुकाममा छन् । बाबुले काम गरेको भीमापोखरा युवा क्लब (बिवाईसी) को सचिव भएर बिक्रमले काम थालिसकेका छन् । त्यसैले रामप्रसाद क्लबबाट पछि हटेका हुन् ।
त्यसो त रामप्रसादले गाउँ फर्केर सामाजिक काममा लाग्न छाडेका छैनन् । झण्डै ६ वर्ष त एमालेको गाउँ अध्यक्ष भएर सक्रिय भूमिका खेले । अहिले पार्टीको पद छाडेर कृषि पेशामा लागेका हुन् । कृषिमा लाग्दा उनले कसैको सहयोग भने लिएका छैनन् । बरु आफ्नो खेतबारीलाई बाँझो हुन नदिन सक्रियता देखाएका छन् । कहिले डोहोरी त कहिले सिममा काम गर्छन् ।
उनले गाउँ पुग्ने जोसुकै चिनेजानेकोलाई सुन्तला, काउली, बन्दा, मुला, साग लगायतको तरकारी र फलफूल दिएर पठाउँछन् । ‘छोराछोरीलाई पनि डेढ लाखको तरकारी र डेढ लाखको दूध पठाएँ होला’ उनले भने, ‘आएका पाहुनालाई केही दिन सकेको छु, चिया र मोही खुवाउन पाएको छु ।’ उनले काम गरेको सक्रियता देखेर समकक्षीहरु दंग छन् ।
‘हामी बजारमा झरेर काम नगर्ने भयौं, रामप्रसाद जी सक्रिय भएर गाउँमै रमाउनु भएको छ’ सामाजिक अगुवा मणीभद्र शर्माले भने, ‘गाउँमा काम गरेकोले उहाँको स्वास्थ्यले पनि साथ दिएको छ ।’ पौडेलले सडकको सुविधा राम्रो भएमा किसानले उत्पादन गरेका सामानले बजार पाउने बताए ।
‘अहिले पनि ग्रामीण सडकहरु अप्ठ्यारा छन्, सहजै कृषि उत्पादनलाई बजार पठाउन सकिएको छैन’ उनले भने, ‘गाउँका सबै किसानलाई बजारको व्यवस्थापन गर्न सकेमा उत्पादन बढ्ने थियो ।’ उत्पादन नभएर भन्दा सहज यातायात अभावले बजार झर्ने प्रवृत्ति बढेको उनले बताए ।
कृषि ज्ञान केन्द्रले पछिल्लो समय रैथाने बाली संरक्षण र रैथाने बालीमा काम गर्ने किसानलाई सम्मान गर्ने नीति बनाएको छ । तोकेको समयमा सूचिकृत हुने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने तथा बजारीकरणमा साथ दिंदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->