पोखरा/नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई घरेलु मैदानको रुपमा लिएको एभेन्जर्सले मंगलबार डकआउट हस्तान्तरण गरेको हो ।
सोही क्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइसिसीका प्रतिनिधिलाई पोखरामा २०२७ मा हुने विश्वकपका लागि केके पूर्वाधारको आवश्यकता पर्ने हो त्यो बारेमा जानकारी दिन अनुरोध गरे । उनले नेपाल सहआयोजकको रुपमा रहने सो विश्वकपका लागि पोखराको पुर्वाधार तयार पार्ने र पोखरामा समेत खेलको आयोजना गर्न सहयोग गरिदिन आग्रह गरे ।
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले ३ वर्ष पछि एनपिएलको होम अवे अवधारणा अनुसार पोखरामा समेत पोखरा एभेन्जर्सको खेल हुने हुँदा सो खेल पर्खिरहेको बताउँदै संघले मिसन २०२७ लाई अघि बढाइरहेको सुनाए । उनले पोखरा एभेन्जर्सले डक आउट निर्माण गरी कास्की जिल्ला क्रीकेट संघलाई हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।





