काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो । जितका लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो ।
पोखराका लागि नारयण जोशीले ३० र मार्कस क्रिच्ट्लीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखरालाई सस्तैमा समेट्न चितवनका सोहेल तान्भिर, रिजन ढकाल र लुक बेन्केसटनले तीन तीन विकेट लिँदा दीपक बोहराको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेल्दा कप्तान कुशल मल्लले ३८ रन जोडे ।
चितवनले यसअघि काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।





