पोखरा/खेलकुदको महा कुम्भ १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले कर्णाली प्रदेशमा चैतको २३ देखी ३० गतेसम्म दशौं हुुने घोषणा गरेको हो । प्रतियोगितामा कुल ३० खेल हुने भएको छ ।
राखेप अन्तरगतका सदस्यहरुको कार्यकाल सकिएको छ, यद्यपि प्रदेश खेलकुद परिषद, विभागीय क्लब, सदस्य सचिव तथा मन्त्रीसहितको दोस्रो बैठकबाट दशौं खेलकुद गर्ने गरि निर्णय भएको हो । कोरम नपुगेपछि पहिलो बैठक स्थगित हुन पुगेको थियो । दोस्रो बैठकमा ३३ प्रतिशत पुगे निर्णय गर्न मिल्ने भएपछि ३३ प्रतिशतकै आधारमा दशौंको मिति घोषणा भएको हो । राखेपले पहिलो बैठक १४ गते बोलाएको थियो । ३७ जना रहेको समितिमा १३ जनाको मात्रै उपस्थिति रहेको थियो जहाँ कोरम पुग्न १७ जनाको आवश्यकता पर्दथ्यो । दशौंका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो बिचमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पोखरा आएका थिए । सोही क्राममा पोखरा रंगशालाको निरिक्षण गरेका थिए । बैठकमा सहभागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले चैत अन्तिसाता मिति घोषणा भएको जानकारी दिए । यस अघि उनले राखेपले अन्योलमा पारेको र प्रदेशहरुको दबाबका कारण बोर्ड बैठक डाकिएको सुनाए । ‘३५ वटा खेल हुने निर्णय भएको छ । कर्णालीम सम्भव हुने सबै खेल हुनेछन बाकीँ खेल अन्त भएपनि हु्नेछ’ उनले भने, ‘यो खेलाडीको लागि राम्रो कुरा हो । अब दशौं हुने निश्चित छ हामी गण्डकीमा तयारीमा लाग्ने छौं ।’ पोखरामा २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भएको थियो । हाल गण्डकी प्रदेशले केही खेलहरुमा दशौंका लागि खेलाडी छनोटका लागि प्रदेशस्तरीय प्रतियोगिता समेत आयोजना गरेको थियो । अब गण्डकीले पुनः छनोट तथा बन्द प्रशिक्षणको तयारी गर्नेछ । नवौंमा गण्डकी समग्रमा चौथो स्थानमा रहँदा प्रदेशहरुतर्फ पहिलो हुन सफल भएको थियो । गण्डकीले पहिलो पटक बागमती भन्दा अघि रहँदै इतिहास बनाउन सफल भएको थियो । शुक्रबारको १ बजे सुरु भएको बैठक निकै लामो चल्यो । करिब पाँच घण्टा चलेको बैठकले अन्ततः मिति घोषणा गरेको हो । प्रतियोगिताको निर्देशिका संशोधनसहित मन्त्रालयमा पठाउने निर्णय गरेको शर्माले बताए । यस्तै बैठकले राष्ट्रपति रनिङशिल्डको बजेटका लागि समेत अर्थमन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।





