बागलुङ/जैमिनी नगरपालिका १ की सुजता थापा बुटवल जानुपर्दा कुश्मीसेराबाट बस चढेर जान पाइन् । सदरमुकाम आउने समय र खर्च त तिर्नु परेन, सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाने सडक १ सय किमी छोटो र सस्तो परेको छ ।
करिडोर खुल्नुअघि त बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर्ने बाध्यता थियो । सदरमुकाम आउन ४ सय भाडा तिरेपछि बागलुङबाट बुटवल जान थप एक हजार ३ सय ५० रुपैयाँ भाडा लाग्छ । बिहान छुट्ने बसले बेलुकी ६ बजे मात्रै पु¥याउँछ । करिडोरबाट यात्रा गर्दा भाडा र समय सस्तो परेको थापाले बताइन् ।
करिडोर अझै निर्माणाधीन छ । तर नियमित बस संचालनमा आउन थालेका छन् । जैमिनीको बेलबगरदेखि त १ सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने बाध्यता अहिले हटेको छ । बरु त्यति दुरी पार गर्दा बुटवल पुग्न सकिन्छ । सहजै बुटवल पुग्न सकेपछि उनीहरुले उपचार देखि व्यवसाय पनि गर्न पाएका छन् । बुटवलको किनमेल सस्तो पर्ने गरेको जैमिनी ७ का प्रकाश ढुंगानाले बताए । साथै बसाइ सरेर गएकाहरुपनि बुटवल, भैरहवा र कपिलबस्तुमा भेटिन्छन् । करिडोरको यात्रा गर्ने अधिकांसले आफन्तको नजिक पुग्नका लागि पनि यो बाटो तय गर्न थालेका छन् ।
कालीगण्डकी करिडोरले बुटवललाइ यति छोटो दूरीमा पु¥याएपछि करिडोरको यात्रा गर्नेहरु बढेका छन् । अहिले त धेरै सजिलो भइसक्यो, बाटो सबै कालोपत्रे भयो भने बागलुङको जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बन्नेछ । सडक निर्माणाधीन भएकोले धुलो भने बढी छ । त्रिदेशीय मार्गको रुपमा कालीगण्डकी करिडोर स्थापित भैसकेकोले भारतको सीमाना पुगेर व्यपार गर्न अब छोटो बाटो तय भैसकेको जैमिनी नगरपालिका १ की पुष्पा आचार्यले बताइन् ।
करिडोरले बागलुङको जैमिनी मात्र हैन, गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी र फलेवास नगरपालिकाबासीलाई पनि सहज बनाएको छ । ‘बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन्,’ पर्वतको बिहादीका हरि न्यौपानेले भने, ‘करिडोरले सदरमुकाम र बुटवल उस्तै बनाएको छ ।’ करिडोरले ४१७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोरअन्र्तगत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । अहिले १० किमी सडकमा कालोपत्रेका लागि ठेक्का लागेको छ ।
बानपा १४ नारायणस्थानदेखि गुल्मीको हर्मीचौर ४५ किमी सडक कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । आगामी २०८२ को मंसिर मसान्त सम्म सकिनुपर्ने कामको अधिकांस खण्ड कालोपत्रे तयारी छ । कतिपय खण्ड कालोपत्रे भैसकेको छ करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले बताए । अहिलेकै गतिमा काम भए समय अघिनै सकिने उनले बताए । ३ अर्ब ३३ करोडमा लगाइएको ठेक्काको खण्डमा नाली, पर्खाल, पुल र कजवे बनेका छन् । बलेवा खण्डमा काम भएको छ भने रिडी खण्डमा कालोपत्रे भैसकेको छ ।
५ वर्ष अघिसम्म सडक संजालले जोड्नै कठिन जैदी, छिस्ती, अर्जेवा लगायतका बासिन्दा अहिले सहजै यात्रा गर्न पाएका छन् । सडक खुलेपछि सदरमुकाम र पाल्पा, बुटवल जाने सवारी पनि सहजै पाउन थालिएको जैमिनी ८ का ओमकार थापाले बताए । ‘अहिले त बाइक चढेर सदरमुकामभन्दा बुटवल पहिला पुग्छु,’ थापाले भने, ‘सहज आउजाउ भएपछि पाल्पा र बुटवल झरेर पढ्नेहरु पनि बढेका छन् ।’ समयमा बुटवल पुग्दा पूर्वपश्चिम जानुपर्ने यात्रीले पनि करिडोरको यात्रा गर्न खोजेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकाका सुमित्रा पाण्डेले त आफ्नो जीवनमा अनौठो परिवर्तन देखेको बताइन् । ‘हामीले जीवनमा गाडी चढ्न पाइएला, घरमै गाडी आउला भन्ने सोचेका थिएनौं,’ उनले भनिन्, ‘अहिले त घर छेवैमा सडक आएपछि बारीको तरकारी बिहानै बुटवल पठाउन पाएका छौं ।’ बागलुङको बुर्तिवाङ तर्फका सवारी पनि रिडीदेखि पाल्पाको अर्गली, तानसेन हुँदै बुटवल जाने गर्छन् । यसरी यात्रा गर्दा सामान खरिदका लागि बुटवल जाने र उपचारका लागि पाल्पा जानेलाई सहज भएको हो । पश्चिम बागलुङ बासीले पनि रिडीमा करिडोर भेट्छन् ।
२०४४ सालमा यो सडक ट्रयाकको परिकल्पना गरेपनि २०७१ पछि मात्रै करिडोरको ट्रयाक खोल्न शुरु भएको हो । करिडोर बनेकोले पूर्तिघाट र हर्मीचौरदेखि शान्तिपुर र बरेङतर्फ जाने सडक पनि बनेका छन् । सेनाले हर्मीचौर देखि रुद्रवेणीको बिकल्पमा स्याङजा तर्फ पनि सडक बनाइदिएको छ । ‘करिडोरको बाटो हुँदै मिर्मी पुग्न सहज रहेछ, त्यसैले व्यवसायिक भ्रमण पनि गरियो’ होटल संचालक तालबहादुर कुँवरले भने, ‘छोटो बाटो बनेकोले अब त सहज भयो ।’ करिडोरमा सेनाले दर्जन बेलीब्रिज पनि बनाएको छ । ती पुल बिस्थापित गर्न करिडोर आयोजनाले विभिन्न स्थानमा ठेक्का समेत लगाएको छ । बागलुङ बजारदेखि ८० किमी दुरीमा रिडी पुगिने भएपछि धेरैले यो सडक स्तरीय भएपछि पोखरा, स्याङजाको सडक प्रयोग गर्न छाड्नेछन् । करिडोरको देवघाट हुँदै जाने सडक ४ सय १७ किमी भएपनि पाल्पा हुँदै भारत जोड्दा ३ सय ६९ र मिर्मीहुँदै भारत जोड्दा ३ सय ४२ किमीमात्र हुन्छ । कालीगण्डकी कोरिडोर सम्पन्न हुँदा आसपासका १० लाख ३० हजार जनसंख्यालाई बसाई सराई रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।





