बागलुङ/निसीखोला गाउँपालिका वडा नंं २ कान्लेचौरस्थित नियमित आमा समूहमा आजकल ३० वर्षदेखि ३५ वर्ष भित्रका आमाहरुको बाहुल्यता छ । उनीहरुले गाउँमा बालविवाह हुन नदिने एजेण्डामा नियमित छलफल गर्छन् ।
पुरानो पुस्ताको तुलनामा उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्न थालेका छन् । यो समूहमा बस्नेहरु धेरैजसोले १६ देखि १८ वर्षमा बिबाह गरेका थिए । दशक अघिसम्म यो समस्या भए पनि पछिल्लो समय स्वास्थ्यबारे ख्याल गर्न थालेपछि उमेर पुगेर मात्र विवाह गर्नुपर्ने चेतना फैलिएको छ ।
नियमित आमा समूहको मासिक बैठकमा हरेक महिना गाउँमा कसैको उमेर नपुगी विवाह भयो कि भन्ने छलफल हुने गरेको अध्यक्ष शोभा कुँवरले बताइन् । ‘हाम्रो गाउँमा आमा स्वास्थ्यको अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु भेटिन्थे, त्यसैले आजकल बैठकमा बढी संवेदनशील बन्ने गरेका छौँ,’ कुँवरले भनिन्, ‘संभावितहरुलाई पनि सुझाव दिने,विवाह भइसकेकाहरु भेटिए पनि २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौं ।’ कुनै समस्या भएमा धेरै खर्च गर्नुपर्ने, ज्यानै जोखिमा पर्ने र उपचारको खर्च जुटाउन पनि नसक्ने भएपछि समयमा सचेतना फैलाउन लागिएको उनले जानकारी दिइन् ।
त्यसोत यो समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकता दिएको छ । साथै पूर्ण खोपयुक्त वडा बनाउन पनि पहल गरेको छ । तर खोप क्लिनिक निसीखोला पारी भएकोले नजिकमा पुल नहुँदा सास्ती खेपेको गुनासो गरे । ‘क्लिनिक वडाभित्रै राखिनुपर्ने हो तर अहिलेसम्म छैन,’ अर्की सदस्य भीमकुमारी खत्रीले भनिन्, ‘टाढा भएको बाहनामा कतिपय खोप लागउन छुटेका छन् ।’ नियमित गर्भ परीक्षण नगर्ने लापरवाही पनि त्यही कारणले भएको छ ।’ वडा नंं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ ।
५ बर्ष अघि भीमापोखरा युवा क्लब र गाउँपालिकाको सहयोगमा खोला छेवैमा खोप क्लिनिक बनाइएको हो । उक्त क्लिनिकले हिउँदका दिनमा त धेरैनै सहयोग भएको स्थानीयले बताए । बर्षात्को समयमा भने खोला तर्ने सास्तीले कतिपय आमाहरु गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । त्यस बाहेक खोला छेवैमा र नजिकै अर्को पहिरोसमेत भएकोले बालबालिका लैजान पनि अभिभावक डराउने गरेका हुन् ।
कतिपयले खाडु जाने जोखिम मोल्न नसकेर गाडी चढेर झिवाखोला पुग्ने गरेको बताए । नजिकमा अप्ठ्यारो भएपछि टाढा जान बाध्य भएको उनीहरुले सुनाए । खोप क्लिनिलाई कान्लेचौरमा पनि संचालन गर्नुपर्ने उनीहरुको माग छ । त्यसबाहेक आमा समूहको बैठकलाई आवस्यक पर्ने सुझाव र सहयोगका लागि समेत वडा र गाउँपालिकामा माग गरेको समूहकी सचिव रंजना कुँवरले बताइन् । ‘पहिला–पहिलाको बैठकमा पैसा संकलन गर्ने र कसैलाई ऋण दिने भए दिएपछि फर्कने गथ्र्यौ, अहिले छलफल हुने गरेको छ,’ कुँवरले भनिन्, ‘तर अब सल्लाह दिने दक्ष जनशक्तीको अभाव छ ।’ यहाँ संचालित ग्रामीण स्वास्थ्य परियोजना सकिएको छ । परियोजनाका सामाजिक परिचालकले नियमित बैठकमा आएर सुझाव दिने गर्थे । कतिपय समस्या बारे माथिल्लो तहमा जानकारी दिंदा उपचारमा पठाउन पनि सहज भएकोमा आजकल अन्यौल भएको उनले बताइन् ।
गाउँपालिकाले निर्माण गरिरहेको नगर अस्पताल पनि बजेट अभावमा पुरा भएको छैन । भवन नबनेकोले आवश्यक जनशक्ती बढाउन नसकेको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । वडाहरु छरिएको, भौगोलिक रुपमा कठिनाइ भएकोले कतिपय स्थानका समूहले गरेको माग जायज भएर पनि सेवा दिन नसकेको उनले बताए । ‘खोपलाई नियमित बनाउने तथा होम डेलीभरी हटाउने काममा हाम्रा स्वास्थ्यकर्मीहरुलाई पनि बढी सजग बनाएका छौं,’ घर्तीले भने, ‘तर सामाजिक रुपमा नियमित सूचना दिने कोही न कोही चाहिने रहेछ ।’ केही समयदेखि आमा र शिशुको स्वास्थ्यमा सुधार भए पनि हुनुपर्ने सुधार नभएको उनले बताए ।





