सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हस्तान्तरण नहुँदै साँघुरियो राजमार्ग

हस्तान्तरण नहुँदै साँघुरियो राजमार्ग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८१, बिहिबार
?

बागलुङ/पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म पुग्ने १ हजार ८ सय ८७ किमी लामो मध्यपहाडी राजमार्ग निर्माण शुरु भएको दशक नाघ्यो । तर यो आयोजनाको आफ्नै राजपत्र छैन ।
राजपत्र नभएको भन्दै सडक छेवैमा जोडेर बनेका संरचना हटाउन आयोजनाले तत्परता देखाएको छैन । सडक ऐन २०३१ ले राजमार्गको हकमा दायाँबायाँ ३१ मीटर सम्म संरचना बनाउन रोकेको छ । मध्यपहाडी राजमार्ग नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।
यो राजमार्गको बागलुङमा पर्ने १ सय ४२ किमीमध्ये १० किमी खण्ड मात्रै कालोपत्रे गर्न बाँकी छ । अरु सबै कालोपत्रे भैसकेको छ । तर कालोपत्रे गरिएको खण्डमा पनि नाली सम्मै अतिक्रमण गरेर संरचना बन्न थालेका छन् । ठूला आयोजना देखि व्यक्तिका घर समेतले राजमार्ग अतिक्रमण भैरहेको हो ।
निसीखोला गाउँपालिकामा धमाधम बनेका घरहरु अधिकांस सडक छेवैमा जोडिएका छन् । राजमार्गले ती घरटहरा हटाउन सकेको छैन । गलकोट, बडिगाड र काठेखोलामा पनि सडक नजिकै बनेका घर तथा अन्य संरचनाले सडक चौडा बनाउन समस्या भएको र आयोजनाले पनि तत्काल पहल नगरेको हो ।
पक्की भैसकेको स्थानमा राजमार्ग आयोजनाले साँढे ७ मीटर कालोपत्रे गरेको छ । छेवैमा रहेको नालीमै जोडेर धेरै संरचनाहरु बनिरहेका छन् । निर्माण शुरुभएदेखिनै मापदण्ड अनुसारको सडक बन्नै नसकेकोले बजार क्षेत्रमा त अस्तव्यस्त भैसकेको छ भने अन्य स्थानमा पनि सडक निकै साँघुरो भएको गलकोट नगरपालिका वडा नंं ७ का टंक केसीले बताए । ‘अहिले देखिनै सडक कति मीटरको हुने भन्ने यकिन नगरी संरचना बनाउन दिने हो भने भोली राजमार्गमा गाडि गुड्नै सक्दैनन्’ केसीले भने, ‘यो बेलैमा सोच्नुपर्ने भएको छ ।’ मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख शम्भु आचार्यले आफ्नै राजपत्र नभएकोले कडाइ गर्न नसकेको बताए । उनले छिटै सडक डिभिजनमा हस्तान्तरण गरेर मापदण्ड कायम गराउने बताए ।
सदरमुकाम बागलुङ बजारका केही स्थान देखि काठेखोला, गलकोट, बडिगाड र निसीखोला सम्मनै सडकको अधिकांस खण्डमा बाटो बिस्तार गर्ने ठाउँनै नराखी संरचना बनिरहेका हुन् । कालोपत्रे भैसकेको गलकोट नगरपालिकाको हटिया देखि खरवाङ तर्फको २० किमी खण्डमा त सडक बन्दैमा ७ देखि ८ मीटरमै नाली र कालोपत्रे गरेर साँघुरो पारिएको छ । बर्षातमा खसेका पहिरो समेत नहटाएपछि दोहोरो गाडि गुड्न समेत गाह्रो छ । सडकमा परेका खाल्डाले साना सवारी साधन ठोकिन्छन् । कालोपत्रे भनेपनि धुलाम्मे सडकको यात्राले यात्रीले सास्ती खेप्छन् ।
मनेवास्थित दरमखोला जलविद्युत आयोजनाले डेढ किमी सडक खनेर पाइपलाइन बिच्छ्याएपछि छेवैमा पाइपलाइन र सिमेन्टका संरचना बनेका छन् । सडक धुलैधुलो समेत छ । निसीखोला तर्फ सडकको नाली फोहोरले बुझिएको छ, सामान्य मर्मत पनि भएको छैन । ‘हाम्रो गाउँपालिका भवन कै अगाडि सडक बिग्रेको छ, नाली भरिएको छ, अस्थायी संरचनाहरु बनिरहेका छन्, सडकमा दुर्घटनाको जोखिम बनेको छ’ निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले भने, ‘दोहोरोपना हुने भएकाले लगानी गर्न पनि पाएका छैनौं ।’ अघिल्ला बर्ष केही स्थानमा खसेको पहिरो पन्छाउने र खाल्डाखुल्डी पुर्ने काममा खर्चेको रकम बेरुजु आएकोले गाउँपालिका यो पटक मर्मत गर्न पनि डराएको हो ।
बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमी खण्ड त अझै बनिसकेकै छैन । सिद्दिसाइ भारत संयुक्त निर्माण कंपनीले जिम्मा लिएको पहिलो १३ किमी खण्ड अलपत्र परेपछि कालोसूचिमा राख्ने तयारी हुँदा ९ वर्षपछि पेटी ठेकेदार मार्फत काम शुरु भएको छ । दोश्रो १२ किमी सडक खण्ड पनि ९ बर्षदेखि अलपत्र पारेपछि सूर्य कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ । २६ बर्ष अघि खुलेको ग्रामीण सडकलाई लोकमार्गमा रुपान्तरण गरिएको थियो ।
‘ग्रामीण सडक हुँदा दैनिक दुइचारवटा गाडि गुड्थे, अहिले लोकमार्गमा रुकुम, रोल्पा, जाजरकोट र दैलेख सम्मका सवारी गुड्छन्, यही अबस्थामा सडक सााघुरो भैसकेको छ’ काठेखोला गाउँपालिका वडा नंं ६ का अध्यक्ष वृहस्पति कंडेलले भने, ‘एकातर्फ धुलो, अर्कोतर्फ साँघुरो सडकले दुर्घटनाको जोखिम छ ।’ धुलोले त स्थानीयहरु बिरामी परिरहने उनले गुनासो गरे । धुलोले छोपिएकोले गाईभैसीले घाँस नखाने, सुन्तलाबारी सेताम्मे हुँदा बजार नपाउने अबस्था समेत भएको उनले गुनासो गरे ।
बर्षातमा खसेका झाक्रीस्थान र काफलठुटा नजिकैको घुम्ती मर्मत नहुँदा सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन् । बडिगाडभित्र पर्ने २९ किमी सडक मध्ये खहरे, तुरतुरे र नुवारमा भत्केको खण्ड र पहिरो समेत अझै उस्तै छ । राजमार्ग भनेपनि एकतर्फी सवारी गुड्ने भएकोले दुर्घटनाको खतरा हुने जिप चालक दिपेन्द्र क्षेत्रीले बताए । तुरतुरेमा त अझैपनि सडकको ट्रयाक मात्रै छ । सडक चौडा पार्ने काम थाल्दा अधिकांस घरटहरा भत्काउनु पर्ने बाध्यता भैसकेको पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->